यात्रा केवल घुम्न र दृश्यावलोकनका लागि मात्रै होइन । प्रकृतिको शाश्वत स्वरूप लाई नजिकबाट आलिङ्गन गर्न र प्रकृतिको अन्तरभावलाई नियाल्न, श्रवण गर्न र बुझ्न पनि हो । जुन हावा, छहरा, चराहरूको चिरबिर र नजिकैबाट बगिरहेका स्वच्छ सङ्लो खोलानालाको सुस्केराहरूबाट थाहा पाउन सकिन्छ । प्रकृतिको भाव बुझ्न कठिन छ । तर, जो प्रकृतिमा पागल बन्छ, उसैले बुझ्दछ प्रकृतिलाई र उसैले भोग गर्छन् स्वर्गीय आनन्दलाई । प्रकृतिको रसास्वादनमा पल्केपछि संसारको सबै चिज फिक्का लाग्दो रहेछ । त्यसैले म आफूलाई सधैँ प्रकृतिमा समर्पित गर्ने प्रयासहरू गरिरहेका हुन्छु ।
नेपाल घुम्ने उत्कट चाहना र नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्ने सानै देखिको रहर पुरा गर्ने क्रममा यस पटक डोल्पा जिल्लाको सुन्दर शे- फोक्सुन्डोलाई गन्तव्यको रूपमा छनौट गरेँ । मिति २०८२ असोज १८ गते यात्रा सुरु गर्ने योजना रहे पनि अविरल बर्षातको कारण यात्रा प्रारम्भ २० गते लाई सर्यो । असोज १९ को रात साह्रै लामो झैँ लाग्यो बल्ल बल्ल पूर्व फाटेर उषामय बिहानीले लामपुछ्रे ताराहरू विलीन भएर घडीले बिहानको ४:३० को सङ्केत दियो । ५ बजे सबै जना जम्मा भएर निस्किने योजना थियो । रामलाल स्याङतान जी, राज कुमार मोक्तान जी र घनश्याम घिसिङ अनि म जम्मा भएर निस्क्यौँ । कर्णालीको सुन्दर शे-फोक्सुन्डो तालको यात्रामा ।
पुरै उज्यालो नभइसकेकोले लाइट बालेरै धादिङको वालसिङ पुग्यौँ । चालिसे हुँदै मलेखुमा पुगेर पेट्रोल हाल्यौँ । यात्रा लामो भएकोले हामी धेरै नअल्मलिकन मलेखुबाट बिहान ७ बजे हिँड्यौ । हाल मुग्लिन-पोखरा सडक अत्यन्तै राम्रो रहेकोले आँबु खैरेनी, डुम्रे, दमौली हुँदै निर्धारित समय भन्दा करिब ४५ मिनेट अगाडि नै हामी पोखरा पुग्यौँ । पोखरामा खाना खाएर केही आवश्यक सामान किनेर त्यहाँबाट ११:३० मा हामी बागलुङतर्फ हानियौँ । कास्की जिल्लाको सुन्दर गाउँ लुम्ले, ढिकुरपोखरी, नयाँपुल र पर्वत जिल्लाको कुस्मा हुँदै बागलुङ, म्याग्दी र पर्वतको सङ्गम स्थान मालढुङ्गा हुँदै बागलुङ कालिकालाई बाटैबाट दर्शन गर्दै सुन्दर बागलुङ बजार पुग्यौँ । यस क्षेत्र पहिल्यै घुमिसकेकोले हामी सोझै बुर्तिबाङ जाने तर्फ सोझियौँ । मध्यपहाडी लोकमार्ग को प्रारम्भसँगै त्यस बिन्दुदेखि अगाडिको यात्रा बिलकुल नयाँ थियो । सयपत्री मखमली फुल्न ठिक्क परेको देखिन्थ्यो । सडकको दायाँ बायाँ पहेंलपुर लहलह धान झुलिरहेको दृश्यले मनलाई मोहित पार्दै थियो । कतै पिच बाटो त कतै निर्माणाधीन अवस्थामा रहेको खाल्डाखुल्डी सडकको यात्राले शरीर बिस्तारै थाक्दै र गल्दै थियो । तर, मनमा भने त्यही सुन्दर गन्तव्य झलझली आइरहन्थ्यो ।
दिउँसो ३ बजे बुर्तिबाङ पुग्यौँ । खाजा खाएर यात्रालाई अगाडि बढायौँ । केही समय उकालो यात्रापछि बागलुङ जिल्ला छाड्दै पूर्वी रुकुम जिल्ला प्रवेश गर्यौँ । सामाजिक सञ्जालमा भाइरल चुँरीबुकि डाँडा छुट्टिने पातीहाल्ने डाँडा पुग्यौँ । त्यहाँ पुग्दा पानी पर्न सुरु भयो । करिब ३५०० मिटर उचाइमा रहेको उक्त डाँडामा पानी सङ्गैको चिसोले निकै सतायो । त्यहीबाट तल झर्नुपर्ने रहेछ । बाटोको वरिपरि भेडिगोठ घुर्माईलो साँझमा पाखा नै सेताम्मे देखिनेगरि गोठ फर्किँदै गरेको भेडाको बथान देख्दा सडक छोडेर बेलाबेला आँखा उतै पुगिरहेको थियो । रात पर्यो नयाँ बाटो, यात्रा निकै कठिन भैराथ्यो । त्यो दिनको बसाई तकशेरा गाउँ थियो । ६:३० मा लुगुम गाउँ पुग्यौँ । त्यहाँ तकशेरा जाने बाटो सोधेर थोरै तल काँक्री बजारबाट तकशेरा तर्फ लाग्यौँ ।
मध्यपहाडी लोकमार्ग छोडेर कच्ची सडक हुँदै करिब २० कि.मि. को यात्रापछि पहिलाे दिनकाे यात्रामा करिब ४०० कि.मि. काे यात्रा गर्दै राती ८ बजे पूर्वी रुकुमको ऐतिहासिक गाउँ तकशेरा पुग्यौँ । हामी दुई दिन अगाडि देखिनै त्यहाँको होमस्टेमा सम्पर्क गरेर गएको हुनाले हामी पुग्ने बित्तिकै हामीलाई लिन आइपुग्नुभयो । आर्गानिक खाना, पारिवारिक वातावरणसहितको बसाई एकदमै सजिलो भयो ।
यात्राको दोस्रो दिन बिहानै तकशेरा गाउँ घुम्न निस्क्यौँ । ठुला ठुला पहाडहरूको भिरालो क्षेत्रमा झुरुप्प एउटै आँगन भएका करिब ५०० घरहरूको सुन्दर गाउँलाई धेरै बेर हेरिरहेँ । ९५% मगर जाती बसोबास रहेको तकशेरा गाउँ खासगरि तक अनि शेरा दुई वटा गाउँ मिलेर तकशेरा नामकरण गरेको रहेछ । खाम मगर भाषा, मौलिक भेषभुषा, अत्यन्तै ईमान्दार मानिसहरू, साँच्चै कसरी मिलेर बसेका होलान् त्यत्रो गाउँमा । तल उत्तर गङ्गा नदी बग्दै थियो । पारीबाट हेर्दा एकै पटक सबै घरको धुरीबाट चुल्हो बलेको धुवाँ देख्दा दृश्य झन् रोचक देखिन्थ्यो । केही क्षण त्यहाँको रहनसहन, जीवनशैली, ऐतिहासिकता र मूल्य मान्यताहरूका बारेमा जानकारी लियौँ । त्यसपछि त्यहाँको आर्गानिक खाजा खाँदै तकशेरालाई छोड्यौँ ।
फेरि काँक्री बजार झरेर मध्यपहाडी लोकमार्गको यात्रा गर्यौँ । केही छिनपछि पूर्वी रुकुम जिल्लाको सदरमुकाम रुकुमकोट पुग्यौँ । त्यहाँको सुन्दर कमल दहको अवलोकनपछि खाना खाएर यात्रा अगाडी बढायौँ । रुकुमकोटबाट दुई वटा बाटो रहेकोमा हामीले छोटो बाटो जाने निर्णय गर्यौँ । तर सडक भने कच्ची थियो । पानी परेकोले सडक हिलाम्मे थियो । रुकुमकोटबाट सिधै तल झरेर सानो भेरी नदी पुल तरेर पश्चिम रुकुम जिल्ला प्रवेश गर्यौँ । बाटैमा मौलिक संस्कृति मयुर नाच हेर्ने अवसर पायौँ । केहिबेरको यात्रापछि छिनखेत हुँदै पुनः मध्यपहाडी लोकमार्गको यात्रामा जोडियो । झोलुङ्गे पुलबाट बाइक तार्दै अपह्रान्ह ४ बजे सानो भेरी र ठुलो भेरी नदिको सङ्गमस्थल जाजरकोटको रिम्ना बजार पुग्यौँ । त्यहाँ पेट्रोल हालेर अगाडि बढ्यौँ ।
जाजरकोटको सदरमुकाम नालगाड र पश्चिम रुकुम आठबिसकोट नगरपालिका हुँदै तल्लुबगर पुग्दा झमक्कै साँझ परिसकेको थियो । यात्रा छोट्याउन अगाडि बढ्यौँ । ठाउँ ठाउँको झोलुङ्गे पुल हिलाम्मे सडक अनि दिनभरिको यात्राको थकानले आराम मागिरहेको थियो । तर, यात्रा लामो भएकोले हामीलाई फुर्सदले बस्ने छुट थिएन । राती ८:१५ मा त्रिवेणी बजार पुग्यौँ । त्यही बास बस्ने निधो भयो, पश्चिम कर्णालीको नबुझ्ने भाषा साह्रै कम बोल्ने प्रवृत्तिले संवादमा समस्या पर्थ्यो । खाना खाएर दोस्रो दिनको यात्रा त्यही बिसायौँ ।
तेस्रो दिन त्रिवेणी बाट सबेरै ५ बजे निस्क्यौँ । थुप्रै झोलुङ्गे पुल अफ्ठेरा बाटाहरू पार गर्दै हामी डोल्पा जिल्लाको सुलिगढ पोस्ट पुग्यौँ । प्रायले त्यहीँ बाइक छोडेर पैदल यात्रा सुरु गर्दा रहेछन् । तर, हामीले चाहिँ राष्ट्रिय निकुञ्ज भित्रसम्म जाने निधो गरेर त्यसको लागि सदरमुकाम दुनै बजार घुम्नु पर्थ्यो । दुनै बजारमा खाजा खाएर राष्ट्रिय निकुञ्जमा बाइक राखेर टिकट लिँदै पैदल यात्रा सुरु भयो । मनमा उत्सुकता शरीरमा थकान थियो ।
कर्णाली यात्रा दोस्रो पटक थियो । पहिलो पटक रारा तालको यात्रामा त्यस भेगको बारेमा धेरै जानकारी लिएको थिएँ । यस पटक नेपालकै ठुलो जिल्ला डोल्पा र समग्र कर्णालीको जनजीवन, रहनसहन, संस्कृति, प्रकृति, मूल्य मान्यता र भौगोलिक अवस्थितिको बारेमा जान्न बुझ्न व्यग्र इच्छा थियो । भेरी नदिको तिरैतिर अगाडि बढ्यौँ । माथि हेर्दा हिमालका चुचुराहरू टल्किरहेका देखिन्थे । छेउमा भेरी नदी आफ्नै सुरमा सुसाउँदै गन्तव्य भेट्टाउन हामफालिँदै बगिरहेको थियो ।
हाम्रो यात्रा अगाडि बढिरह्यो । करिब ३ घण्टाको हिँडाइपछि कागेनि भन्ने ठाउँमा पुग्यौँ । त्यही खाना खाएर अगाडि बढ्यौँ । त्यहाँबाट मोबाइलमा नेटवर्क नदिने रहेछ । ठाउँ ठाउँमा झोलुङ्गे पुल त ठाउँठाउमा काठे साँघु तर्दै यात्रा अघि बढाइरह्यौँ । अपह्रान्हपख पानी पर्न सुरु भयो । एकछिन ओत लाग्यौँ । तर, पानी नरोकिने छाँटकाँट देखेपछि हामी रेनकोट ओढेर यात्रा अघि बढायौँ ।
साँझ ५:३० मा छेप्का भन्ने ठाउँमा पुगियो । एउटा होटेलमा बास खोज्यौँ । मिठो खाना र न्यानो सत्कारको आभाससहित तेस्रो दिनको यात्रा त्यही विसर्जन गर्यौँ । चौथो दिनको बिहान ५ बजे उठेर खाजा खाएर यात्रा सुरु भयो । शरीर झनझन शिथिल हुँदै थियो । थकान मेटाउन अगाडि हिँड्नुको विकल्प थिएन । करिब ४ घण्टाको यात्रापछि रेचि भन्ने स्थान पुग्यौँ । त्यही खाना खायौँ । यात्रा अगाडि बढ्यो । त्यहाँभन्दा अगाडि यात्रा असहज र ठाडो उकालो थियो । २६०० मिटर बाट ३७०० मिटर उचाइमा सिधा माथि चढ्नु पर्ने थियो । साहस बटुल्दै अगाडि बढ्यौँ । साथीहरूलाई अलि गारो भयो । तर, मलाई खासै गाह्रो भएन । किनकि त्यो भन्दा अग्ला स्थानहरूको यात्रा गरिसकेको थिएँ ।
२:३० घण्टाको ठाडो उकालो पछि शे-फोक्सुन्डो झर्ना देखापर्यो । सारा थकान गायव भयो । सुन्दर झरनाको अवलोकनपछि ४५ मिनेट तेर्सो बाटो हिँडाइपछि रिङ्मो गाउँ पुग्यौँ । एकछिन त्यहाँको रहनसहन र जीवनशैलीको बारेमा बुझ्यौँ । हाम्रो भन्दा बिलकुलै फरक भाषा, खेतीपाती, हावापानी, भेषभुषा र घरहरू साह्रै आनन्द आयो । रिङ्मो गाउँ घुम्दै घुम्दै साँझ ५:३० मा विश्वकै गहिरो ताल सुन्दर शे-फोक्सुन्डो ताल पुग्यौ । ताल नजिकै होटेलमा बास बस्यौँ । धेरै थाकेको हुनाले त्यो दिन खाना खाएर सुत्यौँ । चौथो दिनको बिहान ५ बजे उठेर हामी ४ जना दुई टिममा विभाजन गरियौँ । भ्यु पाेइन्ट दुई तिर रहेको र २/२ जना को टिमले दुईतिरकै फोटो भिडियो सङ्कलन गरेर शेयर गर्ने निधो भयो । रामलाल जी र राज कुमार जी देब्रेपट्टिको पोइन्टमा घनश्याम र म माथिल्लो भ्यु पाइन्ट तर्फ लाग्यौँ । हामी जाने पाेइन्ट अलि अफ्ठेरो थियो ।
सूर्यको लाली किरण बिस्तारै तालमा पर्दै थियो । कहिले माथि पुग्ला र पुरै तालको दृष्यवलोकन गर्न पाउला भन्ने हतार थियो । १:३० घण्टाको ठाडो उकालो हिँडाइपछि ४६०० मिटरको उचाइमा रहेको तेस्रो भ्यू पाेइन्ट पुग्यौँ । फोक्सुन्डो ताल तल देखिन्थ्यो । साँच्चै मैले सोचेको भन्दा सुन्दर रहेछ । एकछिन दङ्ग परेर हेरेँ । यति सुन्दर यति मनमोहक बयान गर्ने कुनै शब्द नै थिएन । जब सूर्यको किरण पुरै ताल मा पर्यो तब लाग्यो कुनै नामुद चित्रकारले कोरेको काल्पनिक चित्र हो कि ? निलो आकाश, वरिपरि सेता हिमाली भिरहरू, फिक्का निलो फोक्सुन्डो ताल आहा......! तर, जब मेरो काल्पनिक संसार भङ्ग भयो । म त यथार्थताको स्वर्गमा रहेछु......!
निकै बेर मनमनै त्यो अलौकिक ताल अनि प्रकृतिसँगै अन्तरसंवाद गरेँ । आनन्द लिएँ । यात्रा जति नै कठिन भएता पनि गन्तव्यको सुन्दरताले सबै मेटाइदिँदो रहेछ । फर्किने समय आयो । त्यो आँखा अगाडीको स्वर्गलाई छोडेर फर्किने मन थिएन । तर, फर्किनै पर्थ्यो । बिस्तारै तल झर्यौँ । उताको टिमसँग मिलाप भयो । तालको किनारामा एकछिन रमाइलो गर्दै खाना खायौँ र फर्किने निधो गर्यौँ ।
शे-फोक्सुन्डोबाट ठिक १२ बजे फर्कियौँ । ओरालो बाटो थकित शरीर निकै कठिन हुँदै थियो । बिस्तारै ओर्लिँदै पुनः छेप्का भन्ने स्थानमा बास बस्यौ । पाँचौँ दिन बिहान ५ बजे उठेर यात्रा सुरु गर्यौँ । त्यहाँबाट ३ घण्टाको हिँडाइपछि बाइक राखेको स्थान सुलिगढ शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज पुग्यौँ । थकाइको सीमा थिएन । बाइक लिएर खाना खानको लागि दुनै बजारतर्फ लाग्यौँ । तर, बजारभरि खोज्दा पनि खाना भेट्टिएन । सामान्य खाजा खाएर त्यहाँबाट हिँड्यौ ।
दुनै बजारबाट हिँडेर बेलुका ८ बजे रुकुमकोट पुग्यौँ । त्यही बास बस्यौँ । छैटौँ दिन बिहान ५ बजे रुकुमकोट छोड्यौँ । काँक्री बजार आएर पेट्रोल हाल्यौँ । चिया खायौँ । बिहान ११ बजे बाग्लुङ बजार पुग्यौँ । त्यही खाना खायौँ । त्यहीँ पुग्दा परिवारमा अप्रिय घटना घटेको समाचार आयो । सबै जना स्तब्ध भयो । छिटो भन्दा छिटो घर पुग्नेगरि दौड्यौँ । राती ९ बजे घर पुग्यौँ र २०८२/०७/२६ गते शे-फोक्सुन्डो यात्रा त्यही समापन भयो ।
सारांश
# कैलाश-२ वैकुण्ठ मकवानपुर देखि शे-फोक्सुन्डो ताल डोल्पा सम्म जम्मा ६४१ किलोमिटर रहेको ।
# शे-फोक्सुन्डो ताल ३६३९ मि उचाइमा रहेको ।
# २ दिन जान र २ दिन आउन पैदल यात्रा गर्नुपर्ने ।
# पैदलमार्ग सहज रहेको ।
# अरू ट्रेकिङ रुटमा भन्दा यो रुटमा खाना बस्न सस्तो रहेको ।
# शे-फोक्सुन्डो ताल अत्यन्तै सुन्दर रहेको ।
सुझाव
# काठे साँघुहरू पुरानो भई जोखिम अवस्थामा रहेकोले मर्मत गर्नुपर्ने ।
# पैदल मार्गमा एउटा होटेलबाट अर्को होटेलको दुरी धेरै फरक रहेकोले थप होटलहरु व्यवस्था हुनुपर्ने ।
# पैदल यात्रामा ३ दिन सम्म मोबाइल नेटवर्क नदिने जसले गर्दा पर्यटकहरू सम्पर्क विच्छेद हुने हुँदा नेटवर्क टावर व्यवस्था हुनुपर्ने ।
यात्री
राजेन्द्र घिसिङ
कैलाश-२, मकवानपुर
तस्बिरहरूः



तस्बिरः राजेन्द्र घिसिङ तामाङ





