उत्तरी धादिङकाे रुवीभ्याली गाउँपालिकामा डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यले सबै वडामा निःशुल्क वाइफाइ सेवा जडान गर्ने तयारी गरिएको छ ।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङले सूचना प्रविधिमा पहुँच विस्तार अहिलेको आवश्यकता भएको उल्लेख गर्दै गाउँका सबै नागरिकलाई इन्टरनेट सेवामा जोड्ने लक्ष्य लिइएको बताएका छन् ।
उनका अनुसार दुर्गम भौगोलिक अवस्थाका कारण सञ्चार पहुँचमा समस्या भोग्दै आएका स्थानीयलाई लक्षित गर्दै यो योजना अघि सारिएको हो । “गाउँपालिकालाई प्रविधिमैत्री बनाउने र शिक्षा, स्वास्थ्य तथा प्रशासनिक सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले फ्री वाइफाइ जडान गर्ने योजना बनाएका छौँ,” अध्यक्ष तामाङले भने ।
गाउँपालिकाले चरणबद्ध रूपमा सबै वडामा वाइफाइ विस्तार गर्ने र सार्वजनिक स्थान, विद्यालय तथा वडा कार्यालयहरूलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
यस योजनाले विद्यार्थी, शिक्षक तथा सर्वसाधारणलाई डिजिटल सेवा उपयोगमा सहजता पुग्ने विश्वास गरिएको छ। साथै, ई–गभर्नेन्स र अनलाइन सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाल यो योजना कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको र आवश्यक बजेट तथा प्राविधिक व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।





