Everest Face
आश्वासनको भुमरीमा रुमलिएको गाउँबस्ती

धादिङको सबैभन्दा दक्षिणी भेगमा महाभारत लेकको काखमा अवस्थित बेनीघाट रोराङ–१ का जनताले विकास र समृद्धिको स्वाद भाषण सुनेर मुख मिठ्याउनु बाहेक बाँकी अनुभव गर्न पाएका छैनन् ।

“यो सिमटार गाउँ र जरुङ गाउँलाई झोलुङ्गे पुलले जोड्नुपर्छ । यदि मलाई जिताइदिनुभयो भने घट्टेखोलामा पुल हालिदिन्छु । अनि तपाईँहरू पाँच–दश मिनेटमै जरुङ–सिमटार आउजाउ गर्न पाउनुहुन्छ”, उनी यत्तिमै रोकेनन्, आफ्नो कोट र टोपी देखाउँदै भने, “यी मैले लगाएको जस्तो कोट र टोपी तपाईँहरू सबैले लाउन पाउनुपर्छ र लाउन सक्ने बनाइदिने जिम्मा मेरो भयो ।”

२०४८ सालको आम निर्वाचनको बेला तत्कालीन धादिङ क्षेत्र नम्बर–३ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले (तत्कालीन महादेवस्थान गाविस–६) हाल बेनीघाट रोराङ–१ को सिमटार गाउँमा अवस्थित श्री सिमटार आविको प्राङ्गणमा उभिएर गरेको भाषणको अंश हो यो । उनले बेनीघाट रोराङ–१ का जरुङ, सिमटार र लवाङ गाउँलाई झोलुङ्गे पुलले जोडिदिने, प्रत्येक गाउँमा एक माध्यमिक विद्यालय स्थापना गरिदिने, गाउँमा सडक पुर्‍याइदिने, खानेपानी ल्याइदिने लगायत थुप्रै आश्वासनहरू बाँडेका थिए ।

Rajendra_Pandey-1748249120.jpg
राजेन्द्र प्रसाद पाण्डे, सांसद, धादिङ-१, (पूर्व मुख्यमन्त्री, बागमती प्रदेश)

उनको आश्वासन त्यत्तिमै सीमित थिएन । नेता पाण्डेले स्वास्नी नभएकालाई विवाह गराइदिने, घरघरमा दुहुना भैँसीको व्यवस्था गरिदिने, सकेसम्म गाउँमै रोजगारी दिने नभए विदेश पठाइदिने, गाउँमा सिँचाइको व्यवस्था गरिदिने, गाउँमा उत्पादित कृषिजन्य उत्पादनलाई विक्री वितरण गर्न बजारको व्यवस्थापन गरिदिने लगायत थुप्रै सपनाहरू बाँडेका थिए । 

२०४६/०४७ मा बहुदलीय व्यवस्थाको पुनर्बहाली भएदेखि हालसम्म करिब ३५ वर्षदेखि धादिङको दक्षिणी भेगको नेतृत्व गरिरहेका सांसद राजेन्द्र पाण्डेले उसबेला आज भन्दा साढे तीन दशकअघि गरेको भाषणलाई जस्ताको तस्तै उद्धृत गर्ने बुढापाकाहरू थुप्रै भेटिन्छन् ।

२०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन महादेवस्थान गाविस वडा नम्बर ९ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लुङ्गु लामाले त्यसताका आफ्ना नेता पाण्डेले गरेको भाषण सम्झिए । 

Lungu_Lama-1748249119.jpg
लुङ्गु लामा, स्थानीय जानकार, बेनीघाट राेराङ-१ ।

“उहाँले जरुङ र सिमटारबीचको घट्टेखोलामा पुल बनाइदिने, स्कुल खोल्ने, घरघरमा पानीको धारा ल्याइदिने, गाउँमा रोड ल्याइदिने भनेर भाषण गर्नुभएको मेरो दिमागमा ताजै छ”, लामाले स्मृतिका पानाहरू पल्टाउँदै सुनाए, “मेरो घर नजिकै रिक्सुल डाँडामा गुम्बा बनाइदिन्छु पनि भन्नुभएको थियो । तर, अझैसम्म बनेको छैन । अहिले त उहाँ एमाले पनि छोडेर जानुभयो रे भन्ने सुन्छु । म बुढो चाहिँ एमालेमै छु ।”

२०५४ सालको उक्त निर्वाचनमा महादेवस्थान–९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका काले बहादुर पाख्रिन वडाध्यक्ष निर्वाचित भएका थिए । २०४८ सालको आम निर्वाचन, २०५१ सालको मध्यावधि निर्वाचन र २०५४ सालको स्थानीय तहको निर्वाचनताका तत्कालीन नेकपा एमाले नेता राजेन्द्र पाण्डे, काँग्रेसका नेता हरि अधिकारी, चीज कुमार श्रेष्ठ, राप्रपाका नेता ठाकुर शर्मा लगायतले गाउँमा पुगेर गरेको भाषण तत्कालीन वडाध्यक्ष पाख्रिनको स्मृतिमा ताजै छ । 

Kale_Bahadur_Pakhrin-1748249119.jpg
काले बहादुर पाख्रिन, पूर्व जनप्रतिनिधि एवम् स्थानीय जानकार, बेनीघाट राेराङ-१ ।

“नेताहरूले धेरै आश्वासन दिएका थिए । तर, कसैले पुरा गरेनन्”, राजेन्द्र पाण्डेसँग गुनासो पोख्दै उनी भन्छन्, “अरू पार्टीका नेताहरू पराजित भए, उनीहरूलाई भन्ने ठाउँ छैन । तर, राजेन्द्र पाण्डेलाई त जिताएको हो नि, एक पटक होइन, पटक पटक । उनले काम गरेन । आश्वासन बाँडे, सपना बाँडे । हामीलाई उल्लु बनाएर राखे ।”

बेनीघाट रोराङ–१ का समाजसेवी, काँग्रेसका स्थानीय अगुवा सुन बहादुर तामाङले पनि विगत साढे तीन दशकअघि उक्त क्षेत्रको विकास गर्ने भनेर नेताहरूले गरेको भाषण स्मरण गरे ।

Sun_Bahadur_Tamang-1748249117.jpg
सुन बहादुर तामाङ, स्थानीय जानकार, समाजसेवी ।

“त्यत्तिबेला २०५१ मा काँग्रेसका उम्मेदवार चीज कुमार श्रेष्ठले ‘सिँचाइको लागि डाँडा डाँडामा कुलो बगाउने, खोला सुकाउने’ भनेर भाषण गरेको मलाई सम्झना छ । अरू पनि थुप्रै आश्वासन बाँडेका थिए”, विगत तीन दशकदेखि सामाजिक, राजनीतिक एवम् विकास निर्माणको क्षेत्रका सक्रिय रहेका तामाङले हाँस्दै भने, “राजेन्द्र पाण्डेले स्वास्नी नभएकालाई स्वास्नी नै ल्याइदिन्छु भन्थे, घरघरमा दुहुन भैँसी ल्याइदिन्छु पनि भन्थे । उनलाई जिताइयो, जनताले न स्वास्नी पाए, न लाइनो भैँसी !”

उनको भाषणलाई त्यहाँका सोझा-सिधा तामाङ र चेपाङ समुदायले पत्याए, भोट दिए अनि जिताइदिए । प्रतिनिधिसभा सदस्यमा उनको जितको लागि तत्कालीन महादेवस्थान गाविसका दुईचार वटा वडाहरू मात्रै त पर्याप्त थिएन यद्यपि योगदान चाहिँ अवश्य थियो । बहुदलीय प्रजातन्त्रको पुनर्बहालीपछि भएको पहिलो आम निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । त्यसपछि २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको निर्वाचनमा पनि उनी निर्वाचित भए ।

पाण्डेले स्थानीय विकास मन्त्रीको जिम्मेवारी समेत सम्हाले । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका शालिकराम जम्मकट्टेलसँग पराजित भएका पाण्डे २०७० दोस्रो संविधानसभा निर्वाचनमा पुनः निर्वाचित भए । २०७४ को निर्वाचनमा धादिङ १ को ‘क’ बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भए । त्यसबीचमा नेकपा एमाले र नेकपा माओवादी बीच पार्टी एकता भयो र पछि विभाजन भयो ।

माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो । पाण्डे पनि एमाले छोडेर नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर लागे । अहिले उनी नेकपा एसको उपाध्यक्ष छन् । नेकपा एसबाटै बागमती प्रदेशको मुख्यमन्त्री समेत बने । २०७९ को पछिल्लो निर्वाचनबाट काँग्रेस माओवादी सहित सहयोगमा उनी पुनः धादिङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । अहिले प्रतिनिधिसभा सदस्य छन् ।

यसरी सरसरती हेर्दा राजेन्द्र प्रसाद पाण्डेले धादिङको दक्षिणी भेगको नेतृत्व गरेको करिब ३५ वर्ष भयो । तर, नेता पाण्डेले यसबीचमा धादिङ–१ ले त्रिशूली नदिमाथि केही पुल, पृथ्वी राजमार्गले छोएर विकास भएको बजार क्षेत्रमा केही विद्यालयबाहेक खासै विकासको लहर भने ल्याउन सकेका छैनन् । 

तत्कालीन महादेवस्थान गाविसका वडा नम्बर ६,७,८, र ९ हाल बेनीघाट रोराङ–१ का जरुङ, सिमटार र लवाङ गाउँलाई झोलुङ्गे पुलले जोड्ने पाण्डेको वचन ३५ वर्ष बितिसक्दा पनि पुरा भएको छैन । तर, उनको त्यो भाषण, त्यो मिठो आश्वासन त्यहाँका जनताले बिर्सेका छैनन् । 

धादिङको सबैभन्दा दक्षिणी भेगमा महाभारत लेकको काखमा अवस्थित बेनीघाट रोराङ–१ का जनताले विकास र समृद्धिको स्वाद भाषण सुनेर मुख मिठ्याउनु बाहेक बाँकी अनुभव गर्न पाएका छैनन् । पृथ्वी राजमार्गबाट २५ किलोमिटरको दुरीमा रहेको यस वडामा नेताहरू निर्वाचनको बेला भाषण गर्न मात्र पुग्छन् । निर्वाचित भएपछि फर्केर हेर्दैनन्, हेर्न जानु परको कुरा भयो । झोलुङ्गे पुल त कल्पनाको कुरा हो । खोलामा एउटा फड्के समेत बनाइदिएको छैन । एकछिन पानी पर्‍यो भने वारिको वारि नै अनि पारिको पारि नै ।

गजुरीको चालिसे बजारबाट बेलभञ्ज्याङ, हटिया, वाल्सिङ हुँदै यस वडामा पुग्ने मोटरबाटो बर्खा लागेपछि दुई तीन महिना अहिले पनि बन्द हुन्छ । बाटो बन्द भएपछि भर्खरै व्यावसायिक कृषिमा वामे सर्दै गरेका किसानका उत्पादन बारीमै कुहिन्छ, बारीमै जोतिनुपर्ने बाध्यता छ । 

बेनीघाट रोराङ–१ का वडाध्यक्ष जीवन सिं तामाङ त्यस क्षेत्रबाट निर्वाचित सांसदहरूले ग्रामीण भेगलाई बेवास्ता गरेर बजार क्षेत्रलाई मात्रै फोकस गरेर काम गरेको बताउँछन् ।

Jeevan_tamang-1748249117.jpg
जीवन सिं तामाङ, वडाध्यक्ष, बेनीघाट राेराङ-१, धादिङ ।

“हाम्रो यस क्षेत्रबाट प्रदेश र केन्द्रमा निर्वाचित भएर गएका नेताहरूले तल बजार क्षेत्रलाई मात्रै ध्यानमा राखेर काम गर्दै आएका छन् । माथिल्लो भेग, ग्रामीण क्षेत्र उनीहरूको प्राथमिकतामा पर्दैनन्”, वडाध्यक्ष तामाङ भन्छन्, “अहिले वडाको नेतृत्व गरिरहँदा हामीले यहाँको विकासको लागि प्रत्येक आर्थिक वर्षमा विभिन्न योजनाहरू लैजान्छौँ, तर, सुनुवाइ हुँदैन ।” 

धादिङको दक्षिणी भेगको नेतृत्व गर्ने नेताहरू सबै बजार क्षेत्रका भएकाले आफ्नो वरपर मात्रै प्राथमिकतामा राख्ने गरेको र दुर-दराजका गाउँबस्तीलाई नदेखे झैँ गरिरहेको उनी बताउँछन् । 

यसै वडाका पूर्व वडाध्यक्ष नन्द प्रसाद तामाङ यस वडाको विकास हुन नसक्नुमा स्थानीय समुदाय र राजनीतिक कार्यकर्ताको पनि कमजोरी रहेको ठान्छन् । 

Nanda_Prasad_tamang-1748249544.jpg
नन्द प्रसाद तामाङ, पूर्व वडाध्यक्ष, बेनीघाट राेराङ-१, धादिङ (दायाँ) ।

“बीचमा एक कार्यकाल बाहेक राजेन्द्र पाण्डे ३५ वर्षदेखि यस भेगको नेतृत्वमा छन् र अहिले पनि सांसद नै छन् । अरू पराजितहरूको के कुरा गर्नु, उहाँले चाहिँ यो ठाउँको लागि नगरेकै हो”, पूर्व वडाध्यक्ष तामाङ भन्छन्, “राजेन्द्र पाण्डेले यस ठाउँको लागि काम नगर्नुमा उहाँको मात्रै दोष छैन । यस ठाउँको एमाले कार्यकर्ताहरूको पनि दोष छ । आफ्नो पार्टीको नेता पटक पटक निर्वाचित भएर नेतृत्वमा पुग्दा पनि गाउँ ठाउँको लागि विकास माग्न सकेनन् ।”

बेनीघाट रोराङ–१ ले खोजेको विकास के हो ?

सडक

वडालाई बजार र राजमार्गसँग जोड्ने सडकको स्तरोन्नति यस वडाका बासिन्दाहरूको पहिलो माग हो । राजमार्गसँग जोड्ने जम्मा २५–३० किलोमिटरको बाटोलाई बाह्रै महिना आवतजावत गर्नसक्ने बनाइदिए यस वडाका बासिन्दाहरूले उत्पादित कृषिजन्य उत्पादनहरू बजार पुर्‍याउन सक्छन् । समयमा अस्पताल पुग्न पाए स्वास्थ्योपचार पाउँछन् । अकालमा ज्यान गुमाउनु पर्दैन । बजारसँगको अविच्छिन्न सम्बन्धले आर्थिक गतिविधिलाई पनि चलायमान बनाउँछ । यो वडा पर्यटनको अथाह सम्भावना बोकेको वडा हो । सडक बाटोको स्तरोन्नतिविना पर्यटनको विकास सम्भव हुँदैन । पर्यटक आउन सडक बाटो राम्रो चाहिन्छ । त्यसैले सडकको स्तरोन्नति पहिलो आवश्यकता हो । 

कृषि 

यस वडाका झन्डै शतप्रतिशत बासिन्दाहरूको मुख्य पेशा कृषि नै हो । कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजार व्यवस्थापन विना वडाका बासिन्दाहरूको आर्थिक समृद्धि सम्भव छैन । वडाका जरुङ, सिमटार, लवाङ लगायत ठुला गाउँहरू सिँचाइको पर्खाइमा छ । वडाको उच्च भाग खैलिङ डाँडा क्षेत्रबाट उत्पत्ति भएका खोलाहरूमा पानी अविरल बगिरहन्छ । खोलामा खेर बगिरहेको पानीलाई गाउँमा लगेर माटोलाई सिञ्चित गर्न पाए वडाका कृषकहरूको उत्पादन र उत्पादकत्व पनि वृद्धि हुनेछ । यसतर्फ सबै तहका सरकारको ध्यान जान जरुरी छ । 

पर्यटन 

महाभारत पर्वत शृङ्खलाको काखमा अवस्थित यो वडा पर्यटनको प्रचुर सम्भावना बोकेर बसेको छ । प्राकृतिक सुन्दरताका सबै रङ्गहरूले सजिएको यो वडालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न सके स्थानीय समुदायको समृद्धिको सपना साकार बन्न सक्छ । यस वडामा प्राकृतिक, धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटनको समेत सम्भावना छ । 

पछिल्लो समय स्थानीय समुदाय र गाउँपालिकाको पहलमा वडालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने प्रयास गरिए पनि पर्याप्त हुन सकेको छैन । वडाका विभिन्न गाउँबस्तीहरु जोड्ने सडक मार्ग, पदमार्गहरूको स्तरोन्नति हुन सकेको छैन । 

ब्रोम्दिङ, थामभञ्ज्याङ लगायत पर्यटकीय क्षेत्रहरूमा अत्यावश्यक पर्यटकीय पूर्वाधारहरू समेत बन्न सकेको छैन । पर्यटनको विकासको लागि पर्यटकीय पूर्वाधारहरूको निर्माण गर्न जरुरी छ । पर्यटकीय क्षेत्रहरूमा खानेपानी, शौचालय सहितका पार्कहरू, पर्यटकहरूका लागि विश्रामस्थलहरू बनाउन जरुरी छ । त्यहाँसम्म पुग्नको लागि पदमार्गहरू निर्माण गर्न आवश्यक छ । 

बौद्ध धर्मावलम्बी तामाङ समुदायको बाहुल्यता रहेको यस वडाको ब्रोम्दिङ डाँडामा बुद्ध पार्क निर्माण गर्ने भनिएको छ । यसका लागि पनि बजेट व्यवस्थापन गर्न सकिएको छैन । बेनीघाट रोराङ गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रुपैयाँको लागत हाल सिँढी बाटो निर्माणको काम भइरहेको छ । स्थानीय समुदायको विश्वास र आस्थासँग पनि जोडिएको बुद्ध पार्कको निर्माण गर्न सके पर्यटनको विकासमा पनि टेवा पुग्ने देखिन्छ । 

पर्यटकहरूलाई गाँसबासको सुविधाको लागि होमस्टेको विकास गर्न जरुरी छ । होमस्टे सञ्चालनको लागि आवश्यक तालिम, पूर्वाधार निर्माण, पर्यटन संस्कृतिको विकासका लागि पहल गर्न जरुरी छ । 

झोलुङ्गे पुल 

वडाको ठुलो गाउँ जरुङ र केन्द्रीय गाउँ सिमटारलाई झोलुङ्गे पुलमार्फत जोड्ने सपना कथामै सीमित भइरहेको छ । 

वडाका तीन ठुला गाउँहरू जरुङ, सिमटार र लवाङको बीचमा ठुलो गहिरो खोँच छ । एक गाउँबाट अर्को गाउँमा पुग्न घन्टौँ लाग्छ । वर्खायाममा पानी परेपछि खोलामा बाढी आउँछ । वल्लो गाउँ र पल्लो गाउँ एक अर्कासँग सम्पर्कविहीन हुन्छ । बालबालिकाहरू विद्यालय आवाज जावत गर्न सक्दैनन् । यी गाउँहरूलाई झोलुङ्गे पुलमार्फत जोड्न सके एउटै उपत्यका बन्ने छ । स्थानीय समुदायले सहज ढङ्गले आवतजावत गर्न पाउने नै छ । साथै पर्यटनको विकासमा पनि टेवा पुग्ने छ । 

पुल हाल्ने आश्वासन दिएर थुप्रै पटक निर्वाचित भए । स्थानीय समुदायले विश्वास गरेर मतदान पनि गरे । तर, अहिलेसम्म पुरा हुने सकेको छैन । 

बेनीघाट रोराङ–१ र समग्र यस क्षेत्रको विकासको लागि उल्लेखित कार्यक्रमहरूलाई प्राथमिकता दिएर योजना तथा कार्यक्रमहरू निर्माण गर्न आवश्यक छ । यसतर्फ तीनै तहका सरकार र नेतृत्वको ध्यान आकृष्ट गर्न चाहन्छु । 

अनि अन्त्यमा, 

माननीय राजेन्द्र प्रसाद पाण्डे ज्यू, तपाईँले ३५ वर्षअघि सिमटार आविको प्राङ्गणमा उभिएर गर्नुभएको भाषण बिर्सनु भयो कि सम्झिरहनु भएको छ ? भाषणमा समेटिएका कार्यक्रमहरू कति पुरा भए ? 

अनुरोध, 

'माननीय ज्यू, कृपया एक पटक घोत्लिनुहोला । अझै पनि समय छ । तपाईँसँग सामर्थ्य र पहुँच पनि छ ।' 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update