-1755688228.jpg)
धादिङको रूबीभ्याली गाउँपालिकाका अध्यक्ष राम सिं तामाङले नेपाल दूरसञ्चार प्राधिकरण धादिङका कार्यालय प्रमुख विकास महर्जनलाई लिखित ध्यानाकर्षण गराएका छन् ।
विगत केही महिनादेखि गाउँपालिकाभित्र सञ्चालित नेपाल टेलिकमको टावरमा प्राविधिक समस्या देखिँदा स्थानीयहरू निरन्तर दूरसञ्चार सेवाबाट वञ्चित हुँदै आएका छन् । सञ्चार प्रवाह अवरुद्ध हुँदा गाउँपालिकाभित्रको शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा र दैनिकीमै समेत गम्भीर असर परेको भन्दै अध्यक्ष तामाङले तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष तामाङले भने, “रूबीभ्यालीका नागरिकहरू निरन्तर सञ्चार सेवाको अभावमा परेका छन् । टेलिकम टावर लामो समयदेखि बिग्रँदा विद्यार्थीहरूलाई अध्ययनमा, बिरामीलाई आपतकालीन अवस्थामा तथा गाउँपालिकाभित्रका सर्वसाधारणलाई दैनिकीमै ठुलो समस्या भइरहेको छ ।"
छिटोभन्दा छिटो प्राविधिक मर्मत गरेर सेवा नियमित गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरिएको अध्यक्ष तामाङले बताए ।
उनले गाउँपालिकाले यसअघि पनि पटक–पटक सरोकारवाला निकायलाई जानकारी गराए पनि ठोस समाधान नआएको भन्दै यस पटक गम्भीरतापूर्वक चासो देखाउन आग्रह गरेका छन् ।
यसै विषयमा नेपाल दूरसञ्चार प्राधिकरण धादिङका प्रमुख विकास महर्जनले भने, “रूबीभ्यालीलगायत दुर्गम क्षेत्रका टेलिकम टावरमा देखिएका समस्या समाधानका लागि प्राधिकरण गम्भीर छ । आवश्यक प्राविधिक टोली पठाउने तयारी भइरहेको छ । केही भौगोलिक चुनौतीका कारण ढिलाइ भए पनि सेवामा सुधार ल्याउन हामी प्रतिबद्ध छौँ ।”