Everest Face

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा अवस्थित सुन्दर गाउँ, तकसेरा । शताब्दियौँ पुरानो यो बस्ती खाम मगर भाषा र संस्कृतिको उद्गमस्थल हो । मगर समुदायको एक आदिम थलो तकसेरा, इतिहास, संस्कृति र प्रकृतिको त्रिवेणी हो । 

यो गाउँ नेपालको भौगोलिक र सांस्कृतिक नक्सामा  एउटा अद्भुत सौन्दर्य र इतिहास बोकेर बसेको छ । यो गाउँ खाम मगर भाषा र संस्कृतिको खुल्ला सङ्ग्रहालय हो । मगर सभ्यताको अध्ययन गर्न चाहनेहरूका लागि एउटा खुला विश्वविद्यालय हो, तकसेरा ।

Takasera_Village_Everest_Face_Photos-(6)-1763706789.jpg
तक गाउँ ।

तकसेरा एउटै गाउँको नाम भने होइन । तक, तल्लो सेरा, उपल्लो सेरा र बाच्छी गरी चार वटा गाउँहरूको संयुक्त परिचय हो, तकसेरा । तकबाट अलिक पर बसेको छ, रमणीय बस्ती — बाछीगाउँ ।  तक र सेराको बीचबाट कलकल बग्छ उत्तरगंगा नदी । 

यही नदीले वारी–पारी छुट्याए पनि, यहाँका मानिसहरूको मन भने जोडिएको छ । जसरी गाउँहरूको नाम जोडेर एउटै नाम तकसेरा बनेको छ, मानिसहरूलाई पनि भाषा, संस्कृतिको डोरीले जोडिदिएको छ । सबै गाउँबासीहरुको रहनसहन, जीवनशैली, विश्वास, परम्परा, सामाजिक मूल्य अनि मान्यताहरू समान । यही हो, तकसेराको पहिचान ।

Takasera-1763706775.jpg
उपल्लाे सेरा ।

तकसेराको सुन्दर बस्ती, घर माथि जोडिएको अर्को घर । तल्लो घरको छानो माथिल्लो घरको आँगन । जोडिएका  घरहरूसँगै आपसमा गाँसिएका मनहरू । यस्तो लाग्छ, यो गाउँ एउटा ठुलो घर हो, र यहाँका बासिन्दाहरू आत्मीयता बोकेको एउटा संयुक्त परिवार हो ।

मगर समुदायको बाहुल्यता रहेको तकसेरामा, गुरुङ र दलित समुदायको पनि बसोबास छ । फरक फरक समुदाय भए पनि आपसी सहयोग, सद्भाव, सहिष्णुता र सह-अस्तित्वको भावनासहित मिलेर बसेका छन् ।  आफ्नै भाषा, कला, संस्कृतिमा रमाउने, र आफ्नो परम्परा र पहिचानमा गर्व गर्ने जनजीवन यहाँको असली सुन्दरता हो ।

Takasera_Village_Everest_Face_Photos-(1)-1763706819.jpg
घरकाे छतमा विस्कुन सुकाउँदै एक महिला ।

यहाँको जीवनशैली अर्ग्यानिक र आत्मनिर्भर छ । सहरको झिलिमिलीभन्दा टाढा बसेको यस गाउँको सादगीमै सुन्दरता छ । यहाँका मानिसहरूको मुस्कान मै सम्पूर्ण सौन्दर्य पोखिन्छ ।

एक हजार वर्षभन्दा पुरानो यो ऐतिहासिक बस्ती पहाडको फेदमा गुमनाम थियो । सन् १९५० मा स्विस भूगर्भविद् टोनी हेगन पहिलो पटक नेपाल आएका थिए ।  हेगनले त्यस बेला नेपालको धेरै भूगोलको यात्रा गरेका थिए । उनी ढोरपाटन हुँदै उत्तरगंगा नदीको किनारको यात्रा गर्दा तकसेरा गाउँ पुगेका थिए । तकसेराको सौन्दर्यबाट मोहित बनेका हेगनले तस्बिर खिचे । उनको तस्बिरले नै तकसेरालाई पहिलो पटक दुनियाँसामु चिनाएको थियो ।

Takasera-(4)-1763706761.jpg
बाच्छी गाउँ ।

रोचक कुरा के छ भने हेगनले खिचेको तस्बिर देखेपछि २०४० माघ १३ गते तत्कालीन राजा वीरेन्द्रले तकसेरा गाउँमा राजकीय भ्रमण गरेका थिए । राजारानी केही वर्षपछि अरू दुई पटक अनौपचारिक भ्रमण स्वरूप तकसेरामा पुगेका थिए । राजारानी तकसेरा गाउँ भ्रमण गरेको त्यस बेलाको तस्बिर आज पनि हनुमानढोका सङ्ग्रहालयको वीरेन्द्र स्मृति कक्षामा सजाएर राखिएको छ ।

Takasera_Village_Everest_Face_Photos-(9)-1763706776.jpg
तल्लाे सेरा । 

तकसेराका घरहरू पूर्णतः ढुङ्गा, माटो र काठले बनेका छन् । एक अर्कासँग टाँसिएका घरहरू, साना—साना गल्लीहरू, गाउँ घुम्दै गर्दा हराउँला कि जस्तो लाग्ने । घरका बार्दलीहरूमा बुढा बा—आमाहरू गफिइरहेका भेटिन्छन् । गाउँमा नयाँ मानिसहरू देखेपछि भलाकुसारी गर्न उत्साहित हुन्छन् । यहाँको प्रकृतिमैत्री गाउँ र गाउँले जीवन हेर्दा यस्तो लाग्छ, यी गाउँ र गाउँलेसँग प्रकृति पनि खुशीले दङ्ग पर्दा हुन् ।

Takasera-(1)-1763706774.jpg
तक गाउँ ।

तकसेराका बासिन्दाहरू आफूलाई निकै व्यस्त राख्न मन पराउँछन् । खेतीपाती र पशुपालन उनीहरूको मुख्य पेसा हो । खेतीपातीमा अर्मपर्म अपनाउनु उनीहरूको सामाजिक परम्परा हो । सामूहिकता उनीहरूको विश्वास हो । 

अन्नबाली उत्पादनमा उनीहरू विशेष दक्खल राख्छन् । अनाज भण्डारणको शैली उदाहरणीय छ । घरको छतमा भकारी सजाएर राख्न निकै मन पराउँछन् । भकारीमा उनीहरू बर्खे बाली मकै, कोदो, फापर, आलु, तोरी राख्छन् । कसैकसैले स्याउ र फर्सी पनि राखेका हुन्छन् । शरद यामका बेला कम्तीमा पनि प्रत्येक घरमा एक बाली एक भकारी हुनु सामान्य हो । हालसम्म पनि हुने–खाने र खानदानको मापन भकारीको सङ्ख्यामा निर्धारण हुने गरेको छ ।

Takasera_Village_Everest_Face_Photos-(2)-1763706810.jpg
भकारीमा राखिएकाे अन्न ।

तकसेरालाई चिनाउन राडीपाखी (काम्लो) को उल्लेख्य भूमिका छ ।  २०६१ साल फागुनमा तत्कालीन राजा ज्ञानेन्द्र रुकुम सदरमुकाम मुसिकोट पुग्दा यहीँकै राडीको गुन्टा उपहार दिइएको थियो । तकसेरामा परम्परागत घरेलु विधिबाट राडी बुनिन्छ । यहाँ अझै पनि परम्परागत हाते कलाबाट ऊनीका राडीपाखी, फेरुवा, घुम, हार्दुला आदि बुन्ने गरिन्छ ।

Takasera_Village_Everest_Face_Photos-(3)-1763706805.jpg
ढुङ्गा, माटाे र काठले बनेकाे घर ।

तकसेराका बासिन्दाहरू खुला हृदय र मिजासिला स्वभावका छन् । फरक भूगोल, सम्प्रदायका व्यक्तिसँग नजिकिन हिचकिचाउँदैनन् । अपरिचित वा कुनै बिरानोलाई गाँस–बास दिनु धर्म ठान्छन् । पाहुना पाल्ने संस्कृति उनीहरूको विशिष्ट छ । पाहुनालाई गरिने आदर, सत्कार र सम्मान बडो घतलाग्दो छ । अतिथि देवो भव उनीहरूको मन्त्र हो ।

Takasera_Village_Everest_Face_Photos-1763706823.jpg
खाना पकाउँदै बाच्छी गाउँका बासिन्दा ।

झाँक्री प्रथा तकसेराको अर्को विशेषता हो । आधुनिक चिकित्सा प्रणालीलाई चुनौती दिने गरी अझै पनि धामी झाँक्रीबाट ओखती मुलो गर्छन् । धामी झाँक्रीले ठम्याउने जडीबुटीमा विश्वास गर्छन् । यहाँ प्रत्येक वर्ष झाँक्री मेला लाग्ने गरेको छ । झाँक्री मेला यहाँको अनौठो र रहस्यमयी संस्कार हो ।

Takasera_Village_Everest_Face_Photos-(5)-1763706789.jpg
बाच्छी गाउँकाे एक टाेल ।

यहाँ प्रायः घरमूली महिला हुन्छन् । घरपरिवार महिलाको अधीनमा रहन्छन् । महिलाहरूको नेतृत्व, व्यवस्थापन, विशाल हृदय र अपार प्रेमले ओतप्रोत तकसेरा साँच्चै सुन्दर छ । एक पटक सबैले घुम्नुपर्ने गाउँ हो, तकसेरा ।

तस्बिरः चन्द्र तामाङ  

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update