उत्तरी धादिङको धार्मिक तथा पर्यटकीय स्थल सिङ्लामा दोस्रो धार्मिक तथा पर्यटन महोत्सव आगामी २०८३ साल वैशाख १६ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ ।
२५६७औँ बुद्ध जयन्तीको अवसरमा आयोजना गरिने उक्त महोत्सवमा स्थानीय संस्कृति, परम्परा तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
सिङ्ला पर्यटन विकास समाजद्वारा आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन् । महोत्सव अवधिभर झाँक्री नाच, लामा नाच, मेन्दोमाया, मानेदोरा, साइकोले, बुम्साङ तथा वरवर जस्ता परम्परागत प्रस्तुति देखाइने कार्यक्रम रहेको छ ।
त्यसैगरी, सिङ्लासँग सम्बन्धित विषयमा वादविवाद, वक्तृत्वकला र निबन्ध प्रतियोगिता समेत आयोजना गरिनेछ । खेलकुदतर्फ म्याराथन प्रतियोगिता पनि महोत्सवको आकर्षणका रूपमा समावेश गरिएको आयोजकले जानकारी दिएको छ ।
आयोजक संस्थाका अनुसार महोत्सवले स्थानीय कला, संस्कृति तथा धार्मिक महत्त्वलाई संरक्षण र प्रवर्द्धन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । साथै, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।
महोत्सवसम्बन्धी थप जानकारीका लागि आयोजक समितिका मङ्ग बहादुर तामाङ, दिनेश कुमार तामाङ र इमान तामाङसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।





