बुद्धपार्क स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने माध्यम मात्र नभई सामाजिक परिवर्तन, आर्थिक समृद्धि र दीर्घकालीन पर्यटन विकासको आधार बन्न सक्छ । त्यसैले ब्रोम्दिङ डाँडामा बुद्धपार्क निर्माण आजको आवश्यकता मात्र होइन, भविष्यको सम्भावनाको ढोका पनि हो ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ मा अवस्थित ब्रोम्दिङ डाँडा महाभारत पर्वत श्रृङ्खलाको काखमा रहेको एक अद्भुत प्राकृतिक गन्तव्य हो । समुद्री सतहबाट करिब एक हजार आठ सयदेखि दुई हजार एक सय मिटरको उचाइसम्म फैलिएको ब्रोम्दिङ डाँडा प्राकृतिक सुन्दरता, धार्मिक–सांस्कृतिक महत्त्व र पर्यटन सम्भावनाले भरिएको क्षेत्र हो । चारैतिर हरियाली वन, शान्त वातावरण, स्वच्छ हावा, मनोरम दृश्य र जैविक विविधताले सजिएको यो ठाउँ प्रकृतिले दिएको अनुपम उपहार जस्तै छ ।
लामो समयसम्म प्रचारप्रसारको अभावमा ओझेलमा परेको ब्रोम्दिङ डाँडा पछिल्लो समय स्थानीय सरकारको पहल र पर्यटन प्रवर्द्धनका कार्यक्रमका कारण पर्यटकको रोजाइमा पर्न थालेको छ । बेनीघाट रोराङ गाउँपालिकाले वि.सं. २०८० कार्तिक १५ र १६ गते आयोजना गरेको ब्रोम्दिङ पर्यटन महोत्सवपछि यस क्षेत्रको चर्चा बढेको हो । अहिले आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटकको सम्भावित गन्तव्यका रूपमा पनि ब्रोम्दिङ डाँडालाई हेर्न थालिएको छ ।
प्रकृति र अध्यात्मको सङ्गम ब्रोम्दिङ
ब्रोम्दिङ डाँडा केवल प्राकृतिक सौन्दर्यको स्थल मात्र होइन, प्रकृति र अध्यात्मको संगमस्थल बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो । यहाँबाट उत्तरतर्फ हेर्दा हिमालका दर्जनौँ चुचुराहरू दन्ते लहर जस्तै देखिन्छन् । बिहानको घाममा हिमालका सेता चुचुराहरू चाँदीझैँ टल्किँदा देखिने दृश्यले जो कोहीलाई मोहित बनाउँछ ।
दक्षिणतर्फ हेर्दा तराईका समथर भूभाग, बागमती प्रदेशको राजधानी हेटौँडा, वीरगन्ज क्षेत्र तथा सीमावर्ती भूभागसम्मको दृश्यावलोकन गर्न सकिन्छ । एउटै स्थानबाट हिमाल, पहाड र तराईको भूगोललाई नियाल्न सकिने विशेषता ब्रोम्दिङको प्रमुख आकर्षण हो ।
न्यानो समशीतोष्ण हावापानीका कारण यहाँ गर्मीमा शीतलता र जाडोमा तुलनात्मक रूपमा सहज वातावरण पाइन्छ । यही कारण ब्रोम्दिङ बाह्रै महिना घुम्न, आराम गर्न, ध्यान गर्न र प्रकृतिसँग रमाउन उपयुक्त गन्तव्य बन्न सक्छ ।
बुद्धपार्क नै किन ?
ब्रोम्दिङ डाँडामा पुग्ने अधिकांश पर्यटकहरू यहाँको शान्त वातावरण, प्राकृतिक सौन्दर्य र आध्यात्मिक अनुभूतिले आकर्षित हुन्छन् । प्रकृतिको काखमा केही समय मौन बस्ने, ध्यान गर्ने र मानसिक शान्ति खोज्ने पर्यटकहरूको सङ्ख्या बढ्दै गएको छ ।
यस्तो प्राकृतिक वातावरणमा शान्तिका प्रतीक भगवान बुद्धको प्रतिमा र बुद्धपार्क निर्माण गर्नु केवल एउटा संरचना निर्माण गर्नु मात्र होइन, ब्रोम्दिङको पहिचानलाई अझ गहिरो बनाउने कार्य हुनेछ ।
बुद्ध दर्शनले शान्ति, करुणा, अहिंसा, सहअस्तित्व र मानव कल्याणको सन्देश दिन्छ । प्राकृतिक शान्त वातावरणमा बुद्धको उपस्थितिले ब्रोम्दिङलाई धार्मिक पर्यटनसँगै आध्यात्मिक पर्यटनको केन्द्र बनाउन सहयोग गर्नेछ ।
बुद्धपार्क निर्माण भएपछि यहाँ आउने पर्यटकहरूले प्रकृतिको आनन्दसँगै ध्यान, चिन्तन र आत्मिक शान्तिको अनुभव गर्न सक्नेछन् । प्रकृतिका सबै रङ्गले सजिएको ब्रोम्दिङका लागि बुद्धपार्क एउटा सांस्कृतिक गहना बन्न सक्छ, जसले यस क्षेत्रको सौन्दर्यमा थप आकर्षण थप्नेछ ।
बौद्ध शिक्षा र संस्कृतिको संरक्षण
ब्रोम्दिङ डाँडा बेनीघाट रोराङ गाउँपालिका, मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकाको सङ्गम क्षेत्रमा पर्दछ । यस क्षेत्रमा बौद्ध धर्मावलम्बी तामाङ समुदायको उल्लेख्य बसोबास रहेको छ । तामाङ समुदायको जीवनशैली, भाषा, संस्कृति, परम्परा र धार्मिक विश्वासमा बौद्ध दर्शनको गहिरो प्रभाव देखिन्छ ।
बुद्धपार्क निर्माणले स्थानीय समुदायको धार्मिक पहिचानलाई सम्मान गर्नेछ । यहाँ बुद्ध दर्शन, बौद्ध संस्कार, ध्यान अभ्यास र नैतिक शिक्षासम्बन्धी गतिविधिहरू सञ्चालन गर्न सकिनेछ ।
बुद्धका उपदेशहरू — करुणा, मैत्री, सहिष्णुता, सत्य र अहिंसाका मूल्यहरू नयाँ पुस्तासम्म पुर्याउन बुद्धपार्क महत्त्वपूर्ण माध्यम बन्न सक्छ । यसले धार्मिक आस्था मात्र नभई शान्ति र मानवताको शिक्षा दिने खुला पाठशालाको भूमिका खेल्न सक्छ ।
धार्मिक पर्यटनको नयाँ गन्तव्य
नेपाल धार्मिक र सांस्कृतिक विविधताले भरिएको देश हो । यहाँ हिन्दु, बौद्धलगायत विभिन्न धर्म र संस्कृतिका महत्त्वपूर्ण स्थलहरू छन् । पछिल्लो समय विश्वभर आध्यात्मिक पर्यटन र ध्यान पर्यटनको आकर्षण बढिरहेको छ ।
ब्रोम्दिङ डाँडामा बुद्धपार्क निर्माण भएमा यो क्षेत्र धार्मिक तथा आध्यात्मिक पर्यटनको नयाँ केन्द्र बन्न सक्छ । यहाँ नेपालका विभिन्न स्थानबाट मात्र नभई अन्तर्राष्ट्रिय पर्यटकसमेत आकर्षित गर्न सकिने सम्भावना छ ।
शान्त वातावरणमा ध्यान, योग, बौद्ध दर्शन अध्ययन तथा प्रकृतिसँग जोडिने अनुभव लिन चाहने पर्यटकका लागि ब्रोम्दिङ उपयुक्त गन्तव्य बन्न सक्छ ।
सामाजिक र सांस्कृतिक रूपान्तरण
पर्यटन केवल आर्थिक गतिविधि मात्र होइन, सामाजिक र सांस्कृतिक परिवर्तनको माध्यम पनि हो ।
बुद्धपार्क जस्ता संरचनाले स्थानीय समुदायमा आफ्नो संस्कृति र पहिचानप्रति गौरवको भावना विकास गर्नेछ । बाहिरी पर्यटकसँगको सम्पर्कले स्थानीय समुदायको ज्ञान, अनुभव र क्षमता विस्तार हुनेछ ।
स्थानीय परम्परा, भाषा, कला, भेषभूषा र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा आफ्नो मौलिक सम्पदाप्रति आकर्षण बढ्नेछ ।
बुद्धपार्क निर्माणका लागि पहल
बेनीघाट रोराङ गाउँपालिकाले ब्रोम्दिङ डाँडामा बुद्धपार्क निर्माणको योजना अघि सारेको छ । डाँडासम्म पुग्ने सिँढी निर्माण, विश्रामस्थल तथा बुद्ध प्रतिमा राख्ने आधार तयार गर्ने कामसमेत भएको छ ।
तर, ठूलो महत्त्व बोकेको यस परियोजनाका लागि पर्याप्त बजेट आवश्यक छ । बुद्धको प्रतिमा स्थापना र पार्क निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने देखिन्छ । प्रदेश र सङ्घ सरकारबाट समेत पर्याप्त सहयोग आवश्यक छ ।
ब्रोम्दिङ जस्तो सम्भावनायुक्त क्षेत्रमा गरिएको लगानी केवल एउटा पार्क निर्माणमा सीमित हुँदैन । यसले भविष्यमा पर्यटन उद्योगको विकास, स्थानीय रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक विकासको आधार तयार गर्नेछ ।
होमस्टे र पर्यटन पूर्वाधारको आवश्यकता
बुद्धपार्कसँगै पर्यटकको बसाइँ लम्ब्याउन आवश्यक पूर्वाधार विकास गर्नुपर्छ । होटल र ठूला संरचनाभन्दा स्थानीय संस्कृति झल्किने होमस्टे सञ्चालन ब्रोम्दिङका लागि उपयुक्त विकल्प हुन सक्छ ।
ब्रोम्दिङ, जरुङ, सुन्दरनागी, लवाङ, सिमटार लगायत गाउँहरूमा होमस्टे सञ्चालन गर्न सके पर्यटकले स्थानीय जीवनशैली, संस्कृति र खानपानको अनुभव लिन पाउनेछन् ।
यसका लागि गाउँपालिकाले स्थानीय समुदायलाई तालिम, अनुदान र आवश्यक सहयोग उपलब्ध गराउनुपर्छ ।
पर्यटन विकासको सबैभन्दा ठूलो लाभ स्थानीय समुदायले पाउनुपर्छ । बुद्धपार्क र पर्यटन पूर्वाधारको विकाससँगै स्थानीय समुदायका लागि रोजगारी र आम्दानीका अवसर सिर्जना हुनेछन् ।
पर्यटकको आगमन बढेपछि स्थानीय उत्पादन, कृषि उपज, हस्तकला, परम्परागत कला र संस्कृतिको बजार विस्तार हुनेछ । स्थानीय युवाहरूले गाइड, पर्यटन व्यवसाय, होमस्टे सञ्चालन, यातायात, आतिथ्य सेवा लगायत क्षेत्रमा अवसर पाउनेछन् ।
विशेषगरी स्थानीय महिलाहरूले होमस्टे, स्थानीय खाना, हस्तकलाका सामग्री तथा सांस्कृतिक कार्यक्रममार्फत प्रत्यक्ष आर्थिक लाभ लिन सक्नेछन् ।
यसले गाउँबाट शहरतर्फ हुने बसाइँसराइ घटाउन, स्थानीय अर्थतन्त्र बलियो बनाउन र समुदायको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउनेछ ।
ब्रोम्दिङ डाँडा केवल एउटा पर्यटकीय स्थल होइन, यो प्रकृति, संस्कृति, धर्म र समुदायको साझा सम्पदा हो । यहाँ निर्माण हुने बुद्धपार्कले धार्मिक आस्था, बौद्ध शिक्षा, सांस्कृतिक पहिचान र पर्यटन विकासलाई एकसाथ जोड्नेछ ।
शान्तिका प्रतीक बुद्धको दर्शनलाई प्रकृतिको अनुपम सौन्दर्यसँग जोडेर ब्रोम्दिङलाई ध्यान, शान्ति र पर्यटनको केन्द्र बनाउन सकिन्छ ।
बुद्धपार्क स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण गर्ने माध्यम मात्र नभई सामाजिक परिवर्तन, आर्थिक समृद्धि र दीर्घकालीन पर्यटन विकासको आधार बन्न सक्छ । त्यसैले ब्रोम्दिङ डाँडामा बुद्धपार्क निर्माण आजको आवश्यकता मात्र होइन, भविष्यको सम्भावनाको ढोका पनि हो ।





