हिमपहिराेमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जना आरोही सम्पर्कविहीन भएका छन्।
पाकिस्तानको कराकोरम पर्वतशृंखलास्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) आरोहणका क्रममा उनीहरू बेपत्ता भएका हुन् ।
पाकिस्तानी सञ्चारमाध्यम तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी र सिएनएन का अनुसार बिहीबार दिउँसो आएको हिमपहिरोपछि पुर्जाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय आरोही टोलीसँग सम्पर्क टुटेको हो।
अल्पाइन क्लब अफ पाकिस्तान का अनुसार टोलीमा नेपाल, पाकिस्तान, अमेरिका, चीन र ओमानका पर्वतारोही सहभागी थिए। प्रारम्भिक विवरणअनुसार टोलीमा पाँच नेपाली, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी तथा अन्य सदस्य रहेका छन्।
हिमपहिरोपछि सम्पूर्ण टोलीसँग सम्पर्क विच्छेद भएको क्लबले जनाएको छ। खोज तथा उद्धार अभियानका लागि सरकारी निकायसँग निरन्तर समन्वय भइरहेको र मौसम अनुकूल हुनेबित्तिकै हेलिकोप्टरसहित उद्धार टोली परिचालन गर्ने तयारी भइरहेको बताइएको छ।
अल्पाइन क्लब अफ पाकिस्तानका उपाध्यक्ष करार हैद्री ले मौसमले साथ दिए शुक्रवार बिहान हेलिकोप्टरमार्फत उद्धार अभियान सञ्चालन गर्ने प्रयास भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई बताएका छन्। क्लबले सम्पर्कविहीन सबै आरोहीको सकुशल उद्धारको कामना गर्दै उनीहरूका परिवारप्रति ऐक्यबद्धता पनि जनाएको छ।
ब्रोड पिक कठिन आरोहणका लागि परिचित हिमालमध्ये एक हो। ४२ वर्षीय नेपाली मूलका पर्वतारोही निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनले सन् २००३ मा बेलायती सेनामा प्रवेश गरेका थिए भने सन् २००९ मा रोयल मरिनमा आबद्ध भएका थिए। सन् २०१२ मा सगरमाथा आरोहणसँगै उनको पर्वतारोहण यात्रा अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेको थियो।





