नेपालको उत्तरी धादिङ—जहाँ प्रकृति, संस्कृति र अध्यात्मको बेजोड सम्मिश्रण पाइन्छ । यिनै हिमाली सभ्यता बोकेर बसेको एक अनुपम र पवित्र धार्मिक स्थल हो—सिङ्ल्हा माने । जहाँ प्रकृति बोल्छ, संस्कृति गुन्जिन्छ, र अध्यात्मले सुस्केरा हालिरहन्छ ।
समुन्द्री सतहबाट करिब चार हजार मिटरको उचाइमा अवस्थित सिङ्ल्हा माने धादिङ, नुवाकोट र रसुवा जिल्लाको सङ्गमस्थल हो । यद्यपि, यस क्षेत्रको अधिकांश भूभाग धादिङको रुबीभ्याली गाउँपालिकामा पर्दछ ।
तामाङ समुदायको गहिरो धार्मिक आस्था र ऐतिहासिक गाथा बोकेको यस स्थललाई ‘हिमालय क्षेत्रको लुम्बिनी’ पनि भनिन्छ । यो केवल एक तीर्थस्थल होइन –बौद्ध धर्म, बोन परम्परा र तामाङ पहिचानको जीवन्त प्रतीक पनि हो ।
बौद्ध धर्मको वज्रयान परम्परा अन्तरगतको तान्त्रिक एवम् महासिद्धि गुरु पद्मसम्भवले तपश्या गर्नुभएको पवित्र तपोभूमि हो, सिङ्ल्हा माने । गुरु पद्मसम्भव यही बाटो हुँदै तिब्बत जानु भएको थियो । पछि फर्किने क्रममा उहाँले यस स्थानमा तपश्या गर्नुभएको थियो ।
रोचक किंवदन्ती के छ भने, गुरु पद्मसम्भव यस सिङ्ल्हा मानेमा एक हजार भन्दा बढी अनुयायीहरूलाई धर्मदेशना दिएर विलीन हुनुभएको थियो । सिङ्ल्हा माने केवल एक बौद्ध तीर्थस्थल होइन । यसको बोन परम्परासँग पनि गहिरो सम्बन्ध छ । बौद्ध धर्म र बोन परम्पराको दोभान हो, सिङ्ल्हा माने ।