Everest Face
स्विट्जरल्यान्डको क्राँस मोन्टानामा भीषण आगलागी: ४० जनाको मृत्यु, ११५ घाइते
याे तस्बिर AI बाट बनाइएकाे हाे ।

स्विट्जरल्यान्डको प्रसिद्ध पर्यटकीय सहर क्राँस मोन्टानामा नयाँ वर्षको उत्सवका क्रममा भएको भीषण आगलागीमा मृत्यु हुनेको सङ्ख्या ४० पुगेको छ भने ११५ जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।

स्विस अल्प्सको मुटुमा रहेको क्राँस मोन्टानाको लोकप्रिय ‘ले कन्स्टेलेसन बार’मा स्थानीय समयअनुसार राति करिब १:३० बजे आगलागी भएको हो । नयाँ वर्षको पूर्वसन्ध्यामा ठुलो सङ्ख्यामा मानिस भेला भएको समयमा आगो फैलिँदा घटनास्थलमा अफरातफरी मच्चिएको थियो ।

विदेशी पर्यटकसमेत मृत्यु

आगलागीमा मृत्यु हुनेमध्ये विदेशी पर्यटकहरू पनि रहेको पुष्टि भए तापनि सबै मृतक र घाइतेको विवरण भने सार्वजनिक गरिएको छैन । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा उत्सव चलिरहेको बारमा भीषण आगलागी भएको देखिन्छ ।

उद्धार कार्य तीव्र

घटनापछि प्रहरी, दमकल तथा एम्बुलेन्स टोली तुरुन्तै घटनास्थल पुगेका थिए । वालेस क्यान्टन प्रहरीका प्रवक्ता गाएतान लाथियोंले घटनाबाट ठुलो मानवीय क्षति भएको जानकारी दिएका छन् । हालसम्म आगलागीको वास्तविक कारण खुल्न नसकेको बताइएको छ ।

आक्रमण होइन, दुर्घटना

स्विस अधिकारीहरूले प्रारम्भिक अनुसन्धानका आधारमा यस घटनालाई कुनै आतङ्कवादी आक्रमण नभई दुर्घटना भएको बताएका छन् । आगलागीको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको छ ।

लोकप्रिय स्की गन्तव्यमा शोक

स्विट्जरल्यान्डको राजधानी बर्नबाट करिब दुई घण्टाको दूरीमा रहेको क्राँस मोन्टाना विशेषगरी बेलायती पर्यटकहरूका बीच लोकप्रिय मानिन्छ । करिब ८७ माइल लामो स्की मार्ग रहेको यो सहर विश्वकै महँगो र विलासी स्की रिसोर्टमध्ये एक हो ।

जनवरीको अन्त्यतिर यहाँ प्रतिष्ठित ‘एफआईएस वर्ल्ड कप’ स्कीइङ प्रतियोगिता आयोजना हुने तयारी भइरहेका बेला नयाँ वर्षकै बेला भएको यस घटनाले स्थानीय बासिन्दा र पर्यटक समुदायलाई स्तब्ध बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update