Everest Face
हिमनदीको जोखिमबारे भुटानले यसरी गर्छ निगरानी

जलवायु परिवर्तनका कारण तीव्र गतिमा पग्लिरहेका हिमनदी र विस्तार भइरहेका हिमनदी तालबाट आउन सक्ने बाढीको जोखिम घटाउन भुटानले चौबीसै घण्टा निगरानी र पूर्वसूचना प्रणाली सञ्चालन गरिरहेको छ।

राजधानी थिम्पूबाट केही घण्टाको दूरीमा रहेको कन्ट्रोल रुममा खटिएको टोलीले हिमनदी ताल तथा नदीको पानीको सतहमा हुने परिवर्तन निरन्तर निगरानी गर्छ।

भुटानको उत्तरी हिमाली क्षेत्रमा ६०० भन्दा बढी हिमनदी छन्। हिमनदी पग्लिँदा कमजोर भग्नावशेष बाँधले थामेका ताल विस्तार हुने र बाँध भत्किए ठूलो बाढी आउन सक्ने जोखिम छ। सन् १९९४ मा यस्तै हिमनदी ताल विस्फोटजन्य बाढी (जीएलओएफ) मा पुनात्सङछु नदी किनारमा २१ जनाको मृत्यु भएको थियो।

वाङ्गडु फोद्राङ क्षेत्रको जीएलओएफ आपत्कालीन चेतावनी केन्द्रकी कनिष्ठ इन्जिनियर डेचेन पेल्डनका अनुसार जलवायु परिवर्तनका कारण थोर्थोर्मी हिमनदी पूर्ण रूपमा हिमनदी तालमा परिणत भएको छ। “अब हामी अझ बढी सतर्क र बढी चिन्तित हुनुपर्छ”, उनले भने।

सन् २०११ देखि सञ्चालनमा रहेको चेतावनी केन्द्रले सेन्सरमार्फत हिमनदी ताल र तल्लो क्षेत्रका नदीको पानीको सतह निगरानी गर्छ। असामान्य परिवर्तन देखिए साइरन स्वतः बज्ने र आवश्यक परे नियन्त्रण कक्षबाट तल्लो क्षेत्रका साइरनसमेत सञ्चालन गर्ने व्यवस्था छ।

भुटानमा रहेका ६०० भन्दा बढी हिमनदी तालमध्ये १७ वटा सम्भावित खतरनाक मानिएका छन्। पुनात्सङछु नदीको मुहानतर्फ रहेका चारवटा तालमध्ये दुईवटा कमजोर भग्नावशेष बाँधले छुट्याएका छन्। ती बाँध भत्किए सबैभन्दा खराब अवस्थामा करिब पाँच करोड ३० लाख घनमिटर पानी तलतिर बग्नसक्ने अनुमान छ।

जोखिम न्यूनीकरणका लागि भुटानले थोर्थोर्मी हिमनदी तालको पानीको सतह घटाउने काम पनि गर्दै आएको छ। सन् २००८ मा सुरु गरिएको परियोजनाले नहर निर्माण तथा विस्तार गरी तालको सतह करिब पाँच मिटर घटाएको थियो। तर हिमनदी निरन्तर पग्लिँदा ताल पुनः भरिएको छ र पानी बाहिर निकाल्ने प्रयास भइरहेको छ।

भुटानका प्रमुख हिमनदीविद् कर्माका अनुसार देशका ठूला हिमनदी हरेक वर्ष ३० देखि ३५ मिटर र साना हिमनदी १२ देखि १६ मिटरसम्म पछाडि हटिरहेका छन्। उनले विगतमा हिमनदीमा सहजै चढ्न सकिने भए पनि अहिले अवस्था निकै बदलिएको बताए।

भुटानले उत्सर्जन गर्नेभन्दा धेरै कार्बन अवशोषण गरे पनि जलवायु परिवर्तनको असर तीव्र रूपमा भोगिरहेको भन्दै कर्माले विश्व समुदायलाई जिम्मेवारी लिन आग्रह गरे। “भुटानका समुदायमा आइपरेको डर र जोखिम हाम्रो गल्ती होइन”, उनले भने।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update