बाढीबाट प्रभावित परिवारका लागि विभिन्न होटल, व्यवसायी तथा सङ्घसंस्थाले राहत सामग्री सहयोग गरेका छन्।
बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्न ९ सिलिन्डर ग्यास, १५ बोरा चामल, २ पोका तेल, १० पोका चाउचाउ, १ बोरा भुजा, १५ प्याकेट नुन, ३५ जोर कपडा र ९ पोका तरकारी सहयोग गरिएको छ।
राहत सामग्री सङ्कलन तथा सहयोगमा कैलालीका सत्कार होटलका धन चोकाल, बुटवल न्यू श्रेष्ठ होटलका देवी श्रेष्ठ, काठमाडौँका टिकटक होटलका कृष्ण कार्की तथा नेपाली होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष गणेश ढकाललगायतको सहयोग रहेको जनाइएको छ।
यस्तै, तनहुँको आँबुखैरेनी बजारका राम श्रेष्ठको नेतृत्वमा बाढीपीडितका लागि कपडालगायत राहत सामग्री पठाइएको छ। श्रेष्ठको नेतृत्वमा सङ्कलन गरिएको सामग्री बाढी प्रभावित परिवारसम्म पुर्याउने व्यवस्था गरिएको हो।
राहत सामग्री सङ्कलन तथा व्यवस्थापनमा सहयोग गर्दै आएका वसन्त थापाले बाढीपीडितका लागि थप आवश्यक सामग्री लिएर आउने प्रतिबद्धता जनाएका छन्।
जिल्ला होटल सङ्घ धादिङका सल्लाहकार तथा बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटका होटल व्यवसायी सन्तोष थापाले बाढीपीडितको आवश्यकतालाई ध्यानमा राख्दै होटल व्यवसायीहरू थप सहयोगका लागि तयार रहेको बताएका छन्।
उनले विपद्को अवस्थामा पीडित परिवारलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्रीका लागि जिल्ला होटल सङ्घले सम्बन्धित पक्षसँग सहकार्य गर्न तयार रहेको बताए।
“बाढीपीडितलाई आवश्यक परेको अवस्थामा जिल्ला होटल सङ्घ सहकार्य र सहयोग गर्न तयार छ,” थापाले भने।
बाढीबाट विस्थापित परिवारहरू विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका बेला खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्रीको सहयोगले उनीहरूको तत्कालीन आवश्यकता पूरा गर्न केही सहज हुने अपेक्षा गरिएको छ।
सहयोग स्वरूप प्राप्त राहत सामग्री आवश्यकता पहिचान गरी बाढी प्रभावित परिवारलाई वितरण गरिने जनाइएको छ।





