धादिङको गल्छी गाउँपालिका–२ स्थित बेलिनीटार भुतियाका स्थानीय बासिन्दाले त्रिशूली नदीको निरन्तर कटान रोक्दै बस्ती संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि नदीले निरन्तर कटान गरिरहेको भन्दै स्थानीयले तत्काल तटबन्ध तथा जोखिम न्यूनीकरणका काम अघि बढाउन माग गरेका हुन्। करिब दुई सय घरपरिवारको बसोबास रहेको बेलिनीटारमा हालसम्म ३० रोपनीभन्दा बढी जमिन नदीले कटान गरिसकेको स्थानीयको भनाइ छ। कटानका कारण करिब आधा दर्जन घर उच्च जोखिममा परेका छन्।
नदी कटान बढ्दै जाँदा बेलिनीटारलाई आदमघाटसँग जोड्ने झोलुङ्गे पुलसमेत जोखिममा परेको छ। पुल आसपासको जमिन कटान भइरहेकाले आवतजावतमा समेत जोखिम बढेको स्थानीय बताउँछन्। त्यसैगरी नजिकै रहेको सामुदायिक भवन पनि नदी कटानको जोखिममा परेको छ।
बस्ती नै जोखिममा परेपछि स्थानीय युवा तथा बासिन्दाले नदी कटान रोक्न तत्काल संरक्षणका काम अघि बढाउन सरकारसँग माग गरेका छन्। उनीहरूले तटबन्ध निर्माण, नदीको धार व्यवस्थापन तथा जोखिममा रहेका संरचनाको संरक्षणका लागि सम्बन्धित निकायको तत्काल ध्यान जानुपर्ने बताएका छन्।
यसैबीच, सोमबार भदौ २२ गते प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र धादिङ क्षेत्र नम्बर २ का सांसद बोधनारायण श्रेष्ठले धादिङका विभिन्न बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
अवलोकनका क्रममा बेलिनीटार भुतिया पुगेका सभामुख अर्याल र सांसद श्रेष्ठले स्थानीयसँग छलफल गर्दै बस्ती संरक्षणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
त्रिशूली नदीको कटान तत्काल नियन्त्रण गर्न नसके बेलिनीटारमा थप जमिन तथा घरहरू जोखिममा पर्न सक्ने भन्दै स्थानीयले सरकारले ढिलाइ नगरी संरक्षणको काम अघि बढाउनुपर्ने माग गरेका छन्।





