धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित बेनी शिक्षा सदनमा कक्षा १ मा अध्ययनरत छात्रा मालश्री श्रेष्ठ बागमती प्रदेशस्तरीय ‘कलरिङ एन्ड ड्रइङ च्याम्प्स–२०८३’ चित्रकला प्रतियोगितामा प्रथम भएकी छिन्।
कसमस एजुकेसनल ट्रेनिङ एन्ड रिसर्च सेन्टर, नेपालको आयोजनामा सम्पन्न प्रतियोगितामा बागमती प्रदेशका विभिन्न विद्यालयबाट विद्यार्थीहरू सहभागी भएका थिए। विद्यार्थीहरूमा रहेको सिर्जनात्मक प्रतिभा प्रस्फुटन गराउने तथा उनीहरूको बौद्धिक विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
विभिन्न चरणमा सञ्चालन गरिएको प्रतियोगिताको अन्तिम चरणमा उत्कृष्ट प्रदर्शन गर्दै मालश्रीले प्रथम स्थान हासिल गरेकी हुन्।
प्रतियोगितामा प्रथम भएसँगै मालश्रीले नगद १६ हजार ५ सय रुपैयाँसहित आकर्षक मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गरेकी छिन्। आयोजक संस्थाका अनुसार प्रतियोगिताका उत्कृष्ट विजेताहरूलाई एक समारोहबीच पुरस्कार, मेडल तथा प्रमाण–पत्र वितरण गरिएको थियो।
मालश्रीको सफलताप्रति खुसी व्यक्त गर्दै बेनी शिक्षा सदनका प्रधानाध्यापक डिपी सापकोटाले सानै उमेरमा प्रदेशस्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेर छात्राले विद्यालयको नाम उच्च राखेको बताउनुभयो।
विद्यालयले बालबालिकाको सिर्जनात्मक तथा बौद्धिक क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलापलाई सधैँ प्राथमिकता दिँदै आएको उल्लेख गर्दै प्रधानाध्यापक सापकोटाले मालश्रीको सफलताले सम्पूर्ण विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताउनुभयो। उहाँले यो सफलता अन्य विद्यार्थीहरूका लागि समेत प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो।





