Everest Face
दिपक मनाङ्गेकाे सहयाेगमा तरुण गजुरीले १६० बाढीपीडित परिवारलाई  वितरण गर्याे राहत

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित धादिङको गजुरी गाउँपालिकाका १६० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ।

नेपाल तरुण दल गजुरीका अध्यक्ष सुकरराज चेपाङको समन्वयमा तथा पूर्वमन्त्री दिपक मनाङे अर्थात् राजीव गुरुङको सहयोगमा बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरिएको हो।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण गजुरी गाउँपालिकाका विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका थिए। बाढीका कारण घर तथा भौतिक संरचनामा क्षति पुगेका र दैनिक जीवन प्रभावित भएका परिवारलाई लक्षित गरी राहत वितरण गरिएको बताइएको छ।

राहतस्वरूप १६० घरपरिवारलाई खाद्यान्न सामग्री, लत्ताकपडालगायत आवश्यक राहत सामग्री उपलब्ध गराइएको थियो। विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराएर केही हदसम्म दैनिक जीवन सहज बनाउने उद्देश्यले राहत वितरण गरिएको आयोजकले जनाएको छ।

राहत सामग्री पाएपछि बाढीबाट प्रभावित परिवारले विपद्को समयमा गरिएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले बाढीबाट घर, खेतीपाती तथा अन्य सम्पत्तिमा क्षति पुगेपछि दैनिक गुजारा चलाउनसमेत कठिन भइरहेको अवस्थामा प्राप्त राहतले केही राहत पुगेको बताएका छन्।

नेपाल तरुण दल गजुरीका अध्यक्ष सुकरराज चेपाङले बाढीका कारण प्रभावित भएका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत वितरणको समन्वय गरिएको बताए। विपद्का बेला पीडित परिवारको आवश्यकताअनुसार थप सहयोगका लागि समेत पहल गरिने उनको भनाइ छ।

भोटेकोशी–त्रिशूली बाढीपछि धादिङका विभिन्न नदी तथा खोला आसपासका बस्तीमा अझै पनि बाढीको असर देखिएको छ। बाढीबाट विस्थापित तथा प्रभावित परिवारको पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र जोखिममा रहेका बस्तीको संरक्षण अहिले पनि चुनौतीका रूपमा रहेको छ।

यसैबीच, स्थानीयस्तरमा विभिन्न संघसंस्था, राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरूले बाढी प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने क्रम जारी राखेका छन्। गजुरीमा गरिएको यो राहत वितरणले तत्कालीन आवश्यकतामा रहेका १६० परिवारलाई खाद्यान्न तथा कपडालगायत सामग्रीमार्फत सहयोग पुगेको छ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update