Everest Face
गजुरी गाउँपालिकाको बजेट ६७ करोड २२ लाख, प्राथमिकतामा कुन-कुन क्षेत्र परे ? 

धादिङको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आज मङ्गलवार बसेको पालिकाको १६औँ गाउँसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो । 

कुल बजेटमध्ये चालुतर्फ ४३ करोड ३३ लाख ४२ हजार रुपैयाँ अर्थात् ६४.५ प्रतिशत र पुँजीगत तर्फ २३ करोड ८९ लाख ५० हजार रुपैयाँ अर्थात् ३५.५ प्रतिशत खर्च हुने प्रक्षेपण गरिएको छ । 

Gajuri_Gau_Sabha-(13)-1750763253.jpg
गाउँसभा सदस्यहरू ।

खर्चको स्रोतहरूमा सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय सामानीकरणतर्फ बाट १३ करोड ८१ लाख रुपैयाँ, सशर्त अनुदान तर्फबाट २० करोड ६ लाख रुपैयाँ र सङ्घीय राजश्व बाँडफाँटबाट ९ करोड ५८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय सामानीकरणतर्फ बाट एक करोड ४७ लाख २६ हजार रुपैयाँ, सशर्त अनुदान स्वरूप दुई करोड दुई लाख ४२ हजार रुपैयाँ र राजश्व बाँडफाँट तथा सवारी साधन कर बापत तीन करोड ६१ लाख ३५ हजार चार सय ९० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

साथै सङ्घीय विशेष अनुदान बापत ६९ लाख रुपैयाँ र प्रदेश सरकार विशेष अनुदान बापत ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

Gajuri_Gau_Sabha-(12)-1750763252.jpg
गाउँसभा सदस्यहरू ।

त्यसैगरी सङ्घीय समपूरक अनुदान स्वरूप ८९ लाख रुपैयाँ र प्रदेश समपूरक अनुदान बापत दुई करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । 

नयाँ बजेटमा शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

Gajuri_Gau_Sabha-(9)-1750763257.jpg
गणेशलाल श्रेष्ठ, अध्यक्ष, गजुरी गाउँपालिका । 

गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले नयाँ नीति तथा कार्यक्रमको कार्यान्वयनबाट “समृद्ध गजुरी, सुखी गजुरीवासी” को गन्तव्यमा पुर्‍याउने र “समृद्ध नेपाल र सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पुरा गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

Gajuri_Gau_Sabha-(3)-1750763266.jpg
शर्मिला विसुराल, उपाध्यक्ष, गजुरी गाउँपालिका ।

त्यसैगरी गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला विसुरालले सङ्घीयताको कार्यान्वयन अवसर र चुनौती दुवै भएको बताउँदै चुनौतीहरूलाई अवसरमा बदल्ने कोसिस गर्दै अघि बढिरहेको बताइन् । 

वडा नम्बर ४ वडाध्यक्ष सुरेन्द्र प्रजाले गाउँपालिका सरकारले त्रिशूली नदी किनारा, राजमार्ग क्षेत्रदेखि महाभारत लेकसम्मका जनतालाई समान ढङ्गले सेवा, सुविधा तथा अवसरहरू प्रदान गर्ने कार्यक्रमहरू बजेटमा समावेश हुनुपर्ने बताए । 

Gajuri_Gau_Sabha-(11)-1750763255.jpg
सुरेन्द्र प्रजा, वडाध्यक्ष, गजुरी ४ ।

“बजेट बनाउँदा राजमार्ग क्षेत्रका जनतालाई मात्रै नहेर्नुहोला, माथि महाभारत लेकमा बस्ने जनतासम्म नजर पुर्‍याउनुहोला”, वडाध्यक्ष प्रजाले भने, “सम्पूर्ण पालिकाको समान विकासबाट मात्रै ‘समृद्ध गजुरी र सुखी गजुरीवासीको’ सपना साकार हुनसक्छ ।”

अन्य गाउँसभा सदस्यहरूले पनि समग्र पालिकाको समृद्धिको लागि सबैलाई समान अवसर, सेवा तथा सुविधाहरू उपलब्ध गराउनुपर्ने र नीति तथा कार्यक्रम पनि सोही अनुरूप बन्नुपर्नेमा जोड दिए । 

तस्बिरहरूः

Gajuri_Gau_Sabha-(2)-1750763267.jpg

Gajuri_Gau_Sabha-(1)-1750763268.jpg

Gajuri_Gau_Sabha-(4)-1750763263.jpg

Gajuri_Gau_Sabha-(6)-1750763260.jpg

Gajuri_Gau_Sabha-(7)-1750763260.jpg

Gajuri_Gau_Sabha-(5)-1750763263.jpg

Gajuri_Gau_Sabha-(10)-1750763255.jpg

Gajuri_Gau_Sabha-(8)-1750763258.jpg

तस्बिरः चन्द्र तामाङ

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update