
मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ५३ करोड ८६ लाख २० हजार १ सय रुपैयाँको बजेट ल्याएको छ ।
आज (मङ्गलवार) कालिकाटारस्थित गाउँपालिकाको कार्यालयमा भएको १६औँ गाउँसभाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो । a
कुल बजेटमध्ये चालुतर्फ ३२ करोड ८२ लाख ३ हजार १ सय रुपैयाँ अर्थात् कुल बजेटको ६०.९ प्रतिशत र पुँजीगततर्फ २१ करोड ४ लाख १७ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३९.१ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
आर्थिक विकास तर्फ २ करोड ७७ लाख ६४ हजार रुपैयाँ, सामाजिक विकासतर्फ चालु र पुँजीगत दुवै गरी २३ करोड ४९ लाख ६४ हजार, पूर्वाधार विकास तर्फ पुँजीगत खर्च १६ करोड ४४ लाख बजेट विनियोजन भएको छ ।
यस्तै, वातावरण तथा विपद्तर्फ ४३ लाख पुँजीगत बजेट, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ चालु र पुँजीगत दुवै गरी ९२ लाख ९२ हजार १ सय रुपैयाँ र गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ९ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
गाउँपालिकाले शिक्षा, पूर्वाधार, कृषि, स्वास्थ्य, युवा तथा खेलकुद, पर्यटन लगायत क्षेत्रहरूलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छ । महिला, बालबालिका, अपाङ्गता, सीमान्तकृत समुदायको उत्थानका कार्यक्रमहरूलाई पनि प्राथमिकताका साथ समावेश गरिएको छ ।