नेकपा एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ पठाइने उम्मेदवारहरूको नाम टुङ्गो लगाएसँगै धादिङ जिल्लाबाट दुई जना नेता सङ्घीय संसद् सदस्य बन्न सफल भएका छन् ।
अध्यक्ष ओलीको निवास गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकले समानुपातिक प्रणालीबाट संसद्मा पठाइने उम्मेदवारहरूको अन्तिम सूची तयार पारेको हो । सो निर्णयअनुसार धादिङबाट डा. पुष्पराज कँडेल र गङ्गादेवी श्रेष्ठ प्रतिनिधि सभा सदस्य बन्ने निश्चित भएको एमाले स्रोतले जनाएको छ ।
पार्टीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्राप्त गरेको सिट सङ्ख्यालाई आधार मानेर विभिन्न समुदाय, क्षेत्र र समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै नाम टुङ्गो लगाएको बताइएको छ । यस प्रक्रियामा धादिङबाट प्रतिनिधित्व गर्दै कँडेल र श्रेष्ठलाई संसद् पठाउने निर्णय गरिएको हो ।
यसैबीच, धादिङकै चर्चित शिक्षक नेता लक्ष्मण शर्मा पनि एमालेको समानुपातिक बन्दसूचीमा परेका थिए । तर, अन्तिम छनोटमा भने उनी सांसद बन्न सकेनन् । एमालेभित्र शिक्षा क्षेत्रबाट लामो समय नेतृत्व गरेका शर्मा यसपटक संसद् प्रवेशको अवसरबाट वञ्चित भएका हुन् ।
हालै सम्पन्न निर्वाचनमा एमालेले प्रतिनिधि सभाको समानुपातिकतर्फ १६ सिट प्राप्त गरेको छ । सोही सिट सङ्ख्याअनुसार पार्टीले अन्तिम नामावली तयार पारेर छिट्टै निर्वाचन आयोगमा पठाउने तयारी गरिरहेको जनाएको छ ।
धादिङबाट दुई जना सांसद चयन भएपछि जिल्लामा एमाले कार्यकर्ताहरूमा उत्साह बढेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यसले धादिङको विकास, नीति निर्माण र सङ्घीय संसद्मा जिल्लाको प्रतिनिधित्वलाई थप सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अरू काेकाे परे ?
आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरूष) र कुलभक्त शाक्य (पुरूष) छन् । त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरूप्रसाद बराल (पुरूष), पुष्पराज कँडेल (पुरूष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन् । थारूतर्फ कृपाराम राणा छन् भने दलिततर्फ विष्णुमाया विक र नीता घतानी छन्। त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरूष) छन् । मुस्लिमतर्फ साजिदा सिद्धिकी रहेकाे एमालेले जनाएकाे छ ।





