नेपाली कांग्रेसका नेता तथा बेनीघाट रोराङ गाउँपालिका–१ का वडा अध्यक्ष जीवनसिंह तामाङ नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको अधिवेशन प्रक्रियामा तामाङ धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको हो।
तामाङ विगत २५ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ। पार्टी संगठनमा लामो समयदेखि सक्रिय उहाँ हाल बेनीघाट रोराङ गाउँपालिका–१ को वडा अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ।
वडा अध्यक्षका रूपमा तामाङको कार्यकालमा वडामा सडक, विद्युत्, इन्टरनेट र खानेपानी लगायतका आधारभूत पूर्वाधार विस्तारका काम अघि बढाइएको छ।
ग्रामीण बस्तीलाई सडक सञ्जालसँग जोड्ने, विद्युत् तथा सञ्चार सेवाको पहुँच विस्तार गर्ने र खानेपानीको सुविधा सुधार गर्ने विषयलाई वडाको विकास योजनामा प्राथमिकता दिइएको उहाँले बताउनुभएको छ।
स्थानीय तहको नेतृत्वसँगै पार्टी राजनीतिमा सक्रिय तामाङ अब आफ्नो क्षेत्रको प्रतिनिधिका रूपमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुनुहुनेछ। स्थानीय तहमा जनप्रतिनिधिका रूपमा प्राप्त अनुभवलाई पार्टीको महाधिवेशनमा क्षेत्रको प्रतिनिधित्वसँग जोड्ने अवसर उहाँका लागि आएको छ।





