Everest Face
बालेन शाह आज नेपालको प्रधानमन्त्री बन्दै, दिउँसो शपथको तयारी 

देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो बालेन्द्र शाह लाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।

शपथअघि नेता शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी दिइनेछ। नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न शपथ ग्रहण कार्यक्रम सञ्चालन हुनेछ, जसमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोग, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ।

प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरिएको छ। गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जितेको बताइएको छ। सोही दलले बिहीबार नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो।

झापा क्षेत्र नं. ५ बाट प्रतिस्पर्धा गरेका शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए। यसअघि बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update