राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशनबाट राजन अर्याल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। शनिबार सुरु भएको अधिवेशनमा नेतृत्व चयनका लागि सर्वसम्मति जुट्न नसकेपछि मध्यरातमा निर्वाचन प्रक्रिया सम्पन्न गरिएको थियो।
सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले १४३ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी तथा निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठकले ९२ मत प्राप्त गरे भने अर्का उम्मेदवार रामकुमार थपलियाले ६३ मत प्राप्त गरेका थिए। ज्वालामुखी गाउँपालिकाका स्थायी बासिन्दा अर्याल रास्वपा बागमती प्रदेश कमिटीका सदस्यसमेत हुन्।
उपसभापति पदमा श्रवण त्रिपाठी २१६ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी लिला श्रेष्ठले ७७ मत प्राप्त गरेका थिए।
सचिव पदमा राम भण्डारी १६२ मतसहित विजयी भए। सचिव पदका अन्य उम्मेदवार कल्पना श्रेष्ठले ८० र विदुर अधिकारीले ५८ मत प्राप्त गरेका थिए।
त्यसैगरी, सहसचिव पदमा श्रीराम आचार्य १६० मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी राजेन्द्र कँडेलले १२७ मत प्राप्त गरेका थिए।
अधिवेशनले उषा कार्की, रामकृष्ण परियार, सुन्दर अधिकारी र मदन भण्डारीलगायतलाई जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित गरेको छ।
यसैगरी, क्षेत्र नम्बर १ को संयोजकमा रामजीप्रसाद पाठक, सह–संयोजकमा अमृता केसी तथा सचिवमा प्रवेश धरेल निर्वाचित भएका छन्। क्षेत्र नम्बर २ को संयोजकमा राजेन्द्र अधिकारी, सह–संयोजकमा ओमप्रसाद काराखेती र सचिवमा माधवराज अधिकारी निर्वाचित भएका छन्।
प्रथम जिल्ला अधिवेशनमार्फत रास्वपा धादिङले नयाँ नेतृत्व चयन गर्दै आगामी संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





