Everest Face
नेपाली काँग्रेस बेनिघाट रोराङ–१ को वडा अधिवेशन सम्पन्न, सभापतिमा फुलमान तामाङ चयन

नेपाली काँग्रेस बेनिघाट रोराङ गाउँपालिका–१ को १५औँ वडा अधिवेशन आज २०८३ साल असोज ५ गते सम्पन्न भएको छ।

सिमटारस्थित सिमटार गुम्बामा सम्पन्न अधिवेशनले फुलमान गोम्बा तामाङलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको छ।

अधिवेशनले फुलमान गोम्बा तामाङको नेतृत्वमा नयाँ वडा कार्यसमितिसमेत चयन गरेको छ। नयाँ कार्यसमितिको उपसभापतिमा रोशन तामाङ, महिला उपसभापतिमा सुनमाया तामाङ, सचिवमा चन्द्रमान पाख्रिन र सहसचिवमा प्रमीला तामाङ चयन भएका छन्।

सदस्यहरूमा राजु चेपाङ, जितबहादुर तामाङ, जगतबहादुर तामाङ, वीरबहादुर मोक्तान, राममाया तामाङ, सानुमाया तामाङ तथा ३५ वर्षमुनिको युवा समूहबाट हिमाल तामाङ चयन भएका छन्।

Nepali_Congress_Benighat_1-1789995716.jpg
निवर्तमान सभापति लाल कुमार तामाङबाट बधाइ ग्रहण गर्दै नवनिर्वाचित सभापति फुलमान गाेम्बा तामाङ । 

अधिवेशन निवर्तमान वडा सभापति लालकुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। अधिवेशनले नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरूसमेत चयन गरेको छ।

नवनिर्वाचित वडा सभापति फुलमान गोम्बा तामाङले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउँदै बेनिघाट रोराङ–१ को विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई पुनः वडा तहमा विजयी गराउने लक्ष्यसहित सङ्गठनलाई अघि बढाउने बताएका छन्।

“नेपाली काँग्रेसलाई आगामी स्थानीय तहको निर्वाचनमा बेनिघाट रोराङ गाउँपालिका–१ मा फेरि जित सुनिश्चित हुने गरी पार्टीलाई अगाडि बढाउनेछु। वडाको समग्र विकासका लागि नेपाली काँग्रेसको तर्फबाट गर्नुपर्ने सबै किसिमका प्रयास गर्नेछु।” उनले भने । 

Phulman_Tamang--1789997275.jpg
नवनिर्वाचित सभापति फुलमान गाेम्बा तामाङ, नेपाली काँग्रेस, बेनीघाट राेराङ-१, धादिङ ।

नवनिर्वाचित सभापति तामाङले स्थानीय तहदेखि केन्द्रसम्म आवश्यक समन्वय गरेर विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउने बताएका छन्।

उनले भने, “स्थानीय तहदेखि केन्द्रसम्म समन्वय गरेर वडाको विकासका लागि आवश्यक पहल गर्नेछु। पार्टीलाई पनि थप सशक्त र व्यवस्थित ढङ्गले अगाडि बढाउने मेरो प्राथमिकता हुनेछ।”

उनले लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिँदै अन्य राजनीतिक दलहरूसँग पनि सहमति र सहकार्यका आधारमा अघि बढ्ने बताएका छन्।

“लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिँदै अन्य राजनीतिक दलहरूसँग पनि सहमति र सहकार्य गरेर अघि बढ्नेछौँ। राजनीतिक प्रतिस्पर्धासँगै वडाको विकासका सवालमा सबैसँग सहकार्य आवश्यक छ।”, सभापति तामाङले भने । 

बेनिघाट रोराङ गाउँपालिका–१ लाई नमुना वडा बनाउन नेपाली काँग्रेसले फेरि एकपटक वडा जित्न आवश्यक रहेको उनले जिकिर गरे । यसअघि पनि काँग्रेसले यहाँ विजय हासिल गरेको थियो । अब आगामी निर्वाचनमा पनि काँग्रेसको जित सुनिश्चित गर्न सङ्गठनलाई सक्रिय र मजबुत बनाउँदै अघि बढ्ने उनले बताए ।

Copy-of-Nepali_Congress_Benighat_1-1789995716.jpg
नेपाली काँग्रेस बेनीघाट राेराङ-१, वडा अधिवेशन । 

क्षेत्रीय प्रतिनिधि पनि चयन

अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिहरू पनि चयन भएका छन्। खुलातर्फ सुनबहादुर तामाङ, लालकुमार तामाङ र जीवनसिंह तामाङ चयन भएका छन्। पेसागततर्फ चन्द्र तामाङ, ३५ वर्षमुनिको युवातर्फ बाबुलाल तामाङ र इन्द्रमान तामाङ तथा श्रमिकतर्फ हरिबहादुर तामाङ चयन भएका छन्।

त्यसैगरी समानुपातिकतर्फ राजकुमार तामाङ, बुद्धिमान तामाङ, सुरज तामाङ, चन्द्रबहादुर तामाङ र अविरल तामाङ चयन भएका छन्। त्यस्तै, महिलातर्फ कौशिला तामाङ, कान्छीमाया तामाङ र कान्तिमाया तामाङ तथा खुलातर्फ श्याम चेपाङ र लक्ष्मण तामाङ क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्।

नयाँ नेतृत्व चयनसँगै नेपाली काँग्रेस बेनिघाट रोराङ–१ ले आगामी दिनमा सङ्गठन विस्तार, स्थानीय विकासका मुद्दा र निर्वाचन तयारीलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update