नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा 'क्यान्भासमा मेलुङ' कला प्रदर्शनी जारी रहेको छ ।
प्रतिष्ठानको सहकार्य तथा दोलखाको मेलुङ गाउँपालिकाको आयोजनामा ‘क्यानभासमा मेलुङ’ कार्यशालामा सिर्जना गरिएका कलाकृतिहरूको प्रदर्शनी हिजो असार १५ गते सुरु भएको हो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले प्रदर्शनीको उद्घाटन गर्नुभएकाे थियो ।
कार्यक्रम कलाकार विक्रम तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति नारदमणि हार्तम्छाली, निवर्तमान सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, निवर्तमान प्राज्ञ परिषद् सदस्यहरू सञ्जय वान्तवा र अरुणा हिङमाङ, मेलुङ गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्य, कलाकार, पत्रकार तथा कलाप्रेमीहरूको सहभागिता रहेको थियो ।
प्रदर्शनीमा मेलुङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य, संस्कृति, जीवनशैली तथा स्थानीय परिवेशलाई कलाकारहरूले क्यानभासमार्फत प्रस्तुत गरेका कलाकृतिहरू राखिएका छन् ।
‘क्यानभासमा मेलुङ’ प्रदर्शनी असार १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रदर्शनीले स्थानीय कला, संस्कृति र पहिचानलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।





