Everest Face
कवि महान त्यागीकाे कविता ‘छाउगोठकी कामाख्या’  अन्तर्राष्ट्रिय पतियाेगितामा प्रथम (कवितासहित)

धादिङकाे बेनीघाट राेराङ निवासी कवि महान त्यागीकाे कविता 'छाउगोठकी कामाख्या' अन्तर्राष्ट्रिय कविता प्रतियाेगितामा प्रथम हुन सफल भएकाे छ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डेनमार्क च्याप्टरले आयोजना गरेको कविता प्रतियोगिता २०२५ मा प्राप्त ४६ कविताहरू मध्ये बेनीघाट रोराङ गाउँपालिका धादिङका महान त्यागीको कविता "छाउगोठकी कामाख्या" प्रथम हुन सफल भएको छ । 

उक्त प्रतियोगितामा कैलालीको  धनगढीका कवि प्रेमप्रकाश सापकोटाको कविता "प्रेरणा"ले द्वितीय स्थान हासिल गरेको छ भने सिक्किमको  गान्तोकका कवि गोपाल निशोधीको "बोनसाई मेरा रहरहरू" कविताले तृतीय स्थान प्राप्त गरेको छ । 

नेपाली भाषा, साहित्य र काव्यमा विज्ञ कवि प्रतीक ढकाल, वरिष्ठ साहित्यकार प्रभा भट्टराई र वरिष्ठ साहित्यकार लालगोपाल सुवेदी सम्मिलित निर्णायकमण्डलद्वारा मूल्याङ्कन गरिएको कविता प्रतियोगिताको नतिजा आज प्रकाशन गरिएको च्याप्टर अध्यक्ष पूर्ण बस्नेतले जानकारी दिए । 

विजयी कवि कवयित्रीहरूले पुरस्कार स्वरूप पुस्तकहरू, प्रमाण पत्र र एक थान हाते उपहार (गिफ्ट ह्याम्पर) प्राप्त गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुन सफल कवि महान त्यागीले साहित्यमार्फत आफूलाई मात्र नभई आफ्नो ठाउँलाई  पनि चिनाउन पाउँदा खुशी लागेको बताए । 

"म कविता प्रतियोगितामा प्रथम हुँदा बेनीघाट रोराङ  र साथै धादिङको नाम राख्न केही हदसम्म सफल भएको छु भन्ने लागेको छ ।", कवि महान त्यागीले भने । 

यस्ताे छ प्रथम हुन सफल महान त्यागीकाे कविता 'छाउगोठकी कामाख्या': 

कविता :  छाउगोठकी कामाख्या

 

एउटा बिहान,

मेरो भित्रैबाट फूट्यो– एक नदी,

रातो, न्यानो र जीवनको भाषा बोल्ने नदी ।

तर गाउँको आँखामा त्यो नदी

पापको पोखरी थियो ।

मष्टो रिसाउने भयले

मलाई थुनियो–

ईश्वर हराएको अँध्यारो गोठमा ।

 

मेरो शरीर त्यो मन्दिर थियो,

जहाँ सृष्टिको दीप बालिएको थियो,

तर उनीहरूले मलाई ईश्वरहीन मानें ।

 

घामले डाँडाको पर्खाल नाघेर

अन्धकार फैलाइरहँदा

चन्द्रमाले पनि मुहार लुकायो,

शीर निहुराएर धरती

मेरो अगाडि ठिङ्ग उभिइन् ।

मेरो आत्माले सोध्यो–

“म स्त्री भएर जन्मेँ, कि अपराध ?”

 

घरको भित्तामा टाँसिएको देवीको तस्वीरले

मलाई हेरेर चुप लाग्यो,

सायद उसलाई पनि लाज लागिरहेको थियो–

आफ्नै प्रतिविम्बलाई अपवित्र भनिएकोमा ।

 

तर म जान्दछु–

मभित्र बगेको नदी

श्राप होइन,

शक्तिको सुरुवात हो ।

सिर्जनाको बीज मन्त्र हो ।

मेरै कोखबाट जन्मिन्छन्

सम्भावनाका गीतहरू ।

 

म अब यो मौनताको पिँजडा तोड्छु ।

गोठसँगै भत्काउँछु कुप्रथाको कालकोठरी पनि ।

नयाँ बिहानको उज्यालो बोकेर

विद्रोहको राँको बाल्छु ।

स्वतन्त्रताको बिगुल फुक्छु ।

 

म सर्वपूज्य

कामाख्या देवी हुँ 

मेरो रगत–

अपराध होइन,

यो त पृथ्वीको श्वास हो,

जीवनको लय हो,

सृष्टिको पहिलो स्वर हो ।

                            -कवि महान त्यागी 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update