Everest Face
पत्रकार हिरोज लोप्चन TFR पत्रकारिता-२०८२ बाट सम्मानित

तामाङ चलचित्र उद्योगलाई सुदृढ बनाउन, कलाकारको योगदानलाई कदर गर्न र सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउन स्थापना गरिएको तामाङ चलचित्र प्रदर्शन दिवस ३० औँ संस्करण भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा २२ विधामा TFR सम्मान प्रदान गरिएको छ, जसअन्तर्गत पत्रकारितातर्फको योगदानको आधारमा खुल्लापत्रका पत्रकार एवम् कुशल कार्यक्रम प्रस्तोता हिरोज लोप्चन सम्मानित भएका छन् ।

लोप्चनले २०७८ साल माघ १२ गते धर्म टेलिभिजनमा कार्यक्रम प्रस्तोता भएर उनले सञ्चार जगतमा औपचारिक पाइला टेकेका थिए । समुदायका मुद्दादेखि कलाकारिता बहस, राजनीतिक बहस र सामाजिक सरोकारका विषयलाई सरल तर सशक्त शैलीमा उठाए — जसले उनलाई छोटो समयमै चर्चामा ल्यायो ।

heeroj_lopchan-(2)-1756614839.jpg
सम्मान कार्यक्रम ।

टुरिजम मिडिया नेटवर्कमा कन्टेन्ट क्रिएटर र भिडियो सम्पादक हुँदै आफ्नो कर्ममा निरन्तर लागे । त्यस्तै, युनिभर्सल टेलिभिजनमा को–अर्डिनेटर रहँदा संस्थागत सञ्चार र कार्यक्रम व्यवस्थापनमा सक्रिय भई आफ्नो दक्षता थप्दै गए ।

हाल लोप्चन खुल्ला पत्र डटकम  सञ्चार संस्थाका अध्यक्ष छन्, जहाँबाट उनले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषणलाई प्राथमिकता दिँदै समुदायको आवाजलाई सबल बनाइरहेका छन् । विशेषगरी तामाङ समुदायको मुद्दा, सामाजिक न्याय, सूचना–साक्षरता र कलाकार माङ चलचित्र उद्योग,चलचित्रकर्मिको अधिकारबारे उनले आफ्नो कार्यक्रम बहस चलाउँदै आएका छन् ।

त्यस्तै, तामाङ चलचित्र सङ्घको सञ्चार विभाग सम्हाली सकेका हिरोज लोप्चन हाल तामाङ पत्रकार सङ्घ काठमाडौँ जिल्ला शाखाको नेतृत्व पनि सम्हाली रहेका छन्, जहाँ तामाङ समुदायका पत्रकारहरूको आवाज एकसाथ गुञ्जिन्छ ।

वि.सं. २०५२ सालमा पहिलो पटक तामाङ चलचित्र प्रदर्शन दिवस मनाइएको थियो । सुरुवाती वर्षहरूमा यस दिवसले स्थानीय स्तरमा मात्रै चर्चा पाएको भए पनि क्रमशः राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा फैलिँदै गएको छ ।

३० वर्षको यात्रामा यस दिवसले तामाङ चलचित्र उद्योगलाई सांस्कृतिक अभिव्यक्ति, भाषिक संरक्षण र सामुदायिक पहिचानको माध्यमका रूपमा स्थापित गरेको छ ।

यसवर्ष सम्मानित विधा र व्यक्तित्व

पत्रकारिता  हिरोज लोप्चन, निर्माता कोपिला लामा,निर्देशक हुत्त संन्जय लामा,नायक  जय स्याङ्तान,नायिका  सङ्गीता लामा,अभिनेता  राजकुमार स्याङ्तान,अभिनेत्री  माया देवी मोक्तान,गायक  सौगत मोक्तान,गायिका  लक्ष्मी स्याङ्तान,गीतकार कुमार स्याङ्जा,सङ्गीतकार  उत्तर लामा,हास्य कलाकार गोर्खा घिसिङ,खलनायक  विकाश स्याङ्तान, छायाङ्कन  प्रकाश तामाङ,सम्पादन रोशन फ्युबा तामाङ,नृत्य निर्देशक  बुद्ध लामा,द्वन्द्व निर्देशक  शङ्कर महर्जन,सामाजिक अभियन्ता  फुर्वा दोर्जे मोक्तान,सक्रिय कार्यसमिति सदस्य  मनिका सिंङ्तान, प्रोडक्सन हाउस/ब्यानर  जिम्बा फिल्म्स प्रोडक्सन सम्मानित भएका थिए ।

कार्यक्रमका सभापतित्व विनायक लोप्चनले  तामाङ चलचित्र सङ्घको यात्राबारे स्मरण गरेका थिए । प्रमुख अतिथि कुन्साङ लामाले भने –“तामाङ चलचित्र केवल मनोरञ्जन मात्र होइन, हाम्रो संस्कृति, भाषा र पहिचानलाई बचाउने आन्दोलन हो । ३० वर्षको यात्राले त्यो स्पष्ट प्रमाणित गरेको छ।”

heeroj_lopchan-(1)-1756614839.jpg
सम्मान काार्यक्रम ।

त्यस्तै,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले तामाङ चलचित्रलाई राष्ट्रिय चलचित्र उद्योगको अविभाज्य हिस्सा ठहर गर्दै भने –“तामाङ चलचित्रले नेपाली चलचित्रलाई विविधता दिएको छ । यसलाई अझ प्राविधिक र बजारमैत्री बनाउन आवश्यक सहयोग सरकारले पनि गर्नेछ ।”  संरक्षक डीबी मोक्तानले यस दिवसलाई समुदायको एकता र सहकार्यको प्रतिविम्ब बताए ।

त्यस्तै, नेपाल तामाङ कलाकार सङ्घका अध्यक्ष विशाल काल्तानले नयाँ पुस्ताका कलाकारलाई अवसर दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विभिन्न सङ्घ संस्थाको व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा झाँकी ताम्बाले अतिथिलाई स्वागत गरेका थिए भने , विश्व दोङ,  लक्ष्मी स्याङ्तान, काजल तामाङ, सङ्गीता दोङ लगायत कलाकारहरूले साङ्गीतिक र नाट्यमञ्च प्रस्तुतिहरू दिए । सांस्कृतिक पोशाक, नृत्य र गीतहरूले हलमा उपस्थित दर्शकलाई मोहित बनाएको थियो ।

३० औँ तामाङ चलचित्र प्रदर्शन दिवस केवल सम्मानको दिन मात्र नभई इतिहास स्मरण, योगदानको मूल्याङ्कन र भविष्यको योजना प्रस्तुत गर्ने अवसर पनि भएको आयोजकले बताएका छन् ।

यसले समुदायलाई “पहिचान, सिर्जना र सम्मान” को साझा सन्देश दिँदै तामाङ चलचित्र उद्योगलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update