भाद्र १० गते चीनतर्फबाट आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रुवी भ्याली गाउँपालिकाका परिवारलाई गाउँपालिकाले राहत तथा सहयोग उपलब्ध गराउने भएको छ।
गाउँ कार्यपालिकाको अनलाइनमार्फत बसेको भर्चुअल बैठकले बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।
त्यस्तै, बाढीका कारण अभिभावक गुमाएका तथा अभिभावक बेपत्ता भएका बालबालिकाको पठनपाठनका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णयसमेत बैठकले गरेको गाउँपालिकाले जनाएको छ।
बैठकले बाढीमा बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक पहल र समन्वय गर्ने निर्णय पनि गरेको छ।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङले विपद्बाट प्रभावित परिवारलाई स्थानीय सरकारको तर्फबाट तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभएको छ। उहाँले बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिने बताउनुभयो।





