Everest Face
त्रिशूली नदीको निरन्तर कटानले बेलिनीटार भुतियाका दुई सय घर जोखिममा

त्रिशूली नदीको निरन्तर कटानका कारण धादिङको गल्छी गाउँपालिका–२ स्थित बेलिनीटार भुतियाका करिब दुई सय घर जोखिममा परेका छन्।

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीको १२ दिन बितिसक्दा पनि नदीले निरन्तर कटान गरिरहेको स्थानीयले बताएका छन्।

नदी कटान भइरहेको क्षेत्रका करिब आधा दर्जन घर भने अत्यन्तै जोखिममा पुगेका छन्। नदीले बस्ती नजिकैको जमिन निरन्तर कटान गर्दै गएपछि स्थानीयमा थप त्रास बढेको छ।

स्थानीयका अनुसार हालसम्म करिब २५ देखि ३० रोपनी खेतीयोग्य जमिन पूर्ण रूपमा नदीले कटान गरिसकेको छ। कटान अझै नरोकिएकाले थप जमिन तथा बस्ती जोखिममा पर्ने अवस्था देखिएको छ।

नदी कटानबाट स्थानीय लीलादेवी पण्डित, रामहरि खतिवडा, कृष्णप्रसाद खतिवडा, डोलप्रसाद खतिवडा, राजकुमार खतिवडा, प्रकाश खतिवडा लगायत थुप्रै स्थानीयको खेतीयोग्य जमिनमा क्षति पुगेको छ। स्थानीय बासिन्दा लक्ष्मण खतिवडाका अनुसार तीमध्ये लीला देवी पण्डितको जमिनमा सबैभन्दा बढी कटान भएको छ।

सामुदायिक भवन र झोलुङ्गे पुलसमेत जोखिममा

नदी कटान बस्ती र खेतीयोग्य जमिनमा मात्र सीमित छैन। कटानको जोखिममा सामुदायिक भवन र त्यसैको नजिक रहेको झोलुङ्गे पुलसमेत परेका छन्।

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका क्रममा आसपासका क्षेत्रमा रहेका विभिन्न झोलुङ्गे तथा पक्की पुलमा क्षति पुगेको अवस्थामा बेलिनीटारको यो झोलुङ्गे पुल पनि जोखिममा परेको हो। उक्त पुल बगाएमा नदी वारि र पारिका स्थानीयबीचको आवतजावत तथा सम्पर्क नै विच्छेद हुने जोखिम रहेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार पुल आसपासको भूभागमा समेत नदीले तीव्र रूपमा कटान गरिरहेको छ। कटान नियन्त्रणका लागि तत्काल पहल नगरेमा पुलसँगै बस्तीमा समेत ठूलो क्षति हुनसक्ने उनीहरूको चिन्ता छ।

बस्ती संरक्षणका लागि सरकारसँग माग

नदीले निरन्तर रूपमा जमिन काट्दै गएपछि स्थानीयले बस्ती संरक्षणका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन्। कटान रोक्न नदी किनारमा तत्काल तटबन्ध तथा अन्य आवश्यक संरचना निर्माण गर्नुपर्ने उनीहरूको माग छ।

स्थानीयहरूका अनुसार अहिले नै प्रभावकारी रूपमा कटान नियन्त्रणको काम अघि नबढाए नदीले थप खेतीयोग्य जमिन कटान गर्नुका साथै बस्तीमै प्रवेश गर्न सक्ने अवस्था छ।

बाढी आएको १२ दिन बितिसक्दा पनि नदीको बहाव र कटानको प्रभाव कायमै रहेकाले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित राख्न तथा सम्भावित ठूलो क्षति रोक्न सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग छ।

त्रिशूली नदीको कटानका कारण एकातर्फ स्थानीयले वर्षौंदेखि गर्दै आएको खेतीयोग्य जमिन गुमाइरहेका छन् भने अर्कोतर्फ घर, सामुदायिक संरचना र आवागमनको महत्वपूर्ण माध्यमका रूपमा रहेको झोलुङ्गे पुलसमेत जोखिममा परेको छ। यसले बेलिनीटारका बासिन्दाको बस्ती, जीविकोपार्जन र यातायात सम्पर्क तीनै पक्षमा जोखिम बढाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update