-1749311942.jpg)
धादिङको रुबीभ्याली गाउँपालिकाले आयोजना गरेको दुई दिने शैक्षिक सम्मेलन ५८ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ ।
शुक्रवार पालिकाको वडा नम्बर ३ स्थित श्री च्याम्रादेवी माविको प्राङ्गणमा सुरु भएको सम्मेलन आज २४ गते शनिवार सम्पन्न भएको हो ।
‘सक्षम शिक्षक, स्तरीय शिक्षा, परिष्कृत सरकार,सार्वजनिक शिक्षा, सबलीकरण सहितको शैक्षिक पूर्वाधार, रुबीभ्याली गाउँपालिकाको आधार’ भन्ने मूल नारा सहित रुबीभ्यालीको शैक्षिक सुधार वर्ष–२०८२ वृहत् शैक्षिक सम्मेलनको आयोजना गरिएको हो ।
-1749311705.jpg)
सम्मेलनबाट सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार ल्याउन प्रतिबद्धतासहित घोषणापत्र जारी गरिएको हो ।
शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल, जनप्रतिनिधिबिच विचार आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्मेलनमा सहभागी सबै पक्षको समूहगत छलफल गरेर प्रतिबद्धतासहित घोषणापत्र निर्माण गरिएको हो ।
शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने गाउँपालिकाका अध्यक्ष राम सिं तामाङले बताए ।
-1749311738.jpg)
अध्यक्ष तामाङले भने, “शैक्षिक गुणस्तर अभिवृद्धि गर्न हामी सबैको साझा पहल आवश्यक छ । हामीसँग थुप्रै चुनौतीहरू छन् । यद्यपि, सबैको साझा प्रयासबाट हामी अगाडि बढ्न सक्छौँ ।”
रुबीभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले रुबीभ्यालीको जनप्रतिनिधिमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै सबै चुनौतीहरूलाई चिरेर अगाडी बढ्ने कोसिस गरिरहेको बताए ।
-1749311736.jpg)
“हाम्रो यो गाउँपालिका एकदमै पिछडिएको गाउँपालिका हो । समग्र विकासका सूचकाङ्कहरूलाई हेर्ने हो भने हामी धेरै पछाडि छौँ”, उपाध्यक्ष तामाङले भने, “हामीमाथि चौतर्फी आक्रमण भइरहेको छ । यद्यपि हामी अगाडि बढिरहेका छौँ ।”
सम्मेलनमा नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक डा. नविनबन्धु पहाडीले विद्यालयको शैक्षिक विकासमा शिक्षक पहिलो जिम्मेवार रहेको बताए । प्राध्यापक पहाडीले शिक्षक योग्य र सक्षम पनि बन्नुपर्ने बताए ।
-1749311742.jpg)
“शैक्षिक गुणस्तरको लागि शिक्षक पहिलो जिम्मेवार बन्नुपर्छ । शिक्षकहरू इमानदार र सक्षम पनि हुनुपर्छ”, प्राध्यापक पहाडीले भने, “आजको युग विज्ञान र प्रविधिको युग हो । शिक्षकहरूले सूचना प्रविधिमा आफूलाई दक्ष बनाउनुपर्छ ।”
गाउँपालिकाले सबैको सहभागितामा जारी गरेको शैक्षिक सुधारको प्रतिविद्धतासहितको घोषणापत्रको कार्यान्वयनका लागि विद्यालय र शिक्षक सक्रियता आवश्यक रहेको बताए ।
त्यस्तै शिक्षाविद् आर के ढुङ्गानाले शिक्षक, विद्यार्थी, अभिभावक, विव्यस सबै मिलेर विद्यालयको उद्देश्य निर्धारण गरेर अघि बढ्नुपर्ने बताए ।

“विद्यालयको युएसपि अर्थात् युनिक सेलिङ पोइन्ट के हो थाहा पाउनुहोस् अनि अगाडि बढ्नुहोस् ।”, ढुङ्गानाले भने ।
शिक्षाविद् ढुङ्गानाले स्थानीय सरकारले अब तत्काल कार्ययाेजना बनाएर नयाँ प्रतिबद्धताकाे कार्यान्वयनमा लाग्नुपर्ने बताए । उनले नीति बनेर मात्रै नहुने र तिनकाे कार्यान्वयनकाे लागि कार्य याेजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिए ।
सम्मेलनमा प्रधानाध्यापक तथा शिक्षकहरूले विद्यालयहरूको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी गराएका थिए भने गाउँपालिकाको समग्र शैक्षिक तथा भौतिक अवस्थाको बारेमा गाउँपालिकाका श्रोतव्यक्ति उत्तमलाल तामाङले जानकारी प्रस्तुत गरेका थिए ।
प्रतिबद्धता पत्रमा शिक्षक, अभिभावक, व्यवस्थापन समिति, राजनीतिक दल र गाउँपालिकाले गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि गर्नुपर्ने असल कार्यहरू समावेश गरिएको छ ।
अन्य तस्बिरहरूः
तस्बिरः चन्द्र तामाङ/नबराज तामाङ