Everest Face
चालिसे–मनहरी सडकः सूर्य बहादुर डिमडुङ मार्ग नामकरण, २ करोड ७० लाख रुपैयाँ बजेट विनियाेजन

बागमती प्रदेश सरकारले धादिङको चालिसेबाट महाभारत लेक पार गर्दै मकवानपुरको मनहरी निस्किने सडकलाई सूर्य बहादुर डिमडुङ मार्ग नामकरण गर्दै दुई करोड सत्तरी लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

करिब ७० किलोमिटर लामो उक्त सडक धादिङको गजुरी–१ स्थित चालिसेबाट हटिया, वाल्सिङ, थामभञ्ज्याङ, बाँसखर्क, सिमटार, जरुङ, ब्रोम्दिङ हुँदै मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिका भएर मनहरी जोडिएको छ । धादिङतर्फ चालिसेबाट ब्रोम्दिङसम्म करिब ३० किलोमिटर र ब्रोम्दिङदेखि मनहरीसम्म करिब ४० किलोमिटर रहेको छ । स्तरोन्नति हुन नसक्दा दुवै तर्फको सडक खण्ड बर्सातको समयमा अवरुद्ध रहने गरेको छ । जसका कारण महाभारत पर्वत क्षेत्रका बासिन्दाहरू बर्खा लागेसँगै बजार आवतजावत गर्नबाट वञ्चित हुँदै आएका छन् । 

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममार्फत यस सडक खण्डको नामकरण गर्दै बजेट विनियोजन गरेपछि सडक खण्डका बासिन्दाहरू उत्साहित भएका छन् । 

सडकको नामकरणसहित बजेटको व्यवस्था गर्नको लागि नेपाली काँग्रेस बागमती प्रदेश सदस्य श्याम लामाले लामो समयदेखि पहल गर्दै आएका थिए । बेनीघाट रोराङ–१ जरुङ गाउँका बासिन्दा लामाले सोही गाउँमा जन्मिएका डिमडुङले राजनीतिक एवम् सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनको नामबाट सडकको नामकरण गर्नुपर्ने आवाज उठाउँदै आएका  थिए । 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले २०८१ सालमा बेनीघाट रोराङ–१ स्थित थामभञ्ज्याङमा आयोजित सोनाम ल्होछार मेलामा सम्बोधन गर्ने क्रममा सडकखण्डको नामकरण गर्दै बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । यस सडक खण्डलाई बहुवर्षीय आयोजनाको रूपमा अगाडि बढाउने मुख्यमन्त्री लामाले बताएका छन् । 

को हुन् सूर्य बहादुर डिमडुङ ? 

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–१ स्थित जरुङ गाउँमा जन्मिएका डिमडुङ प्रजातान्त्रिक आन्दोलनका एक अगुवा हुन् । तत्कालीन समयमा अत्यन्तै विकट भूगोलमा जन्मिएर पनि राष्ट्रिय राजनीति र प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए । डिमडुङकै नेतृत्वमा मकवानपुरमा नेपाली कांग्रेसको स्थापना भएको थियो । नेपाली काँग्रेस सभापतिको हैसियतले २०१७ साल पौष १ गते राजा महेन्द्रले कु गरेर तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई अपदस्त गरेर सुन्दरीजल जेल पठाएपछि पञ्चायत विरुद्ध विद्रोह गर्ने एकजना नेतृत्व डिमडुङ पनि थिए । निर्दलीय पञ्चायत व्यवस्थाको विरुद्धमा उनले निरन्तर विद्रोह गरेका थिए । राज्यको दमन बढ्दै गएपछि उनी भारतको बनारस निर्वासित भए । करिब ७ वर्ष निर्वासित जीवन बिताएपछि बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति अघि सारेपछि मात्रै उनी देश फर्केका थिए । 

राजनीतिक आन्दोलनसँगै सामाजिक व्यवस्थाको सुधारमा पनि उनी सक्रिय थिए । सामन्तवादको विरुद्ध आवाज बुलन्द पार्दै सामाजिक न्यायको पक्षमा उनले महत्त्वपूर्ण योगदान दिएका थिए । तत्कालीन समयमा समाजमा एक रुपैयाँमा ऋण तिर्न नसक्दा जीवनभरि साहुको घरमा काम गरेर बस्नुपर्ने, ऋणको पासोमा पारेर घरबार नै कब्जा गरेर विस्थापित गरिदिने जस्ता सामाजिक कुरीतिहरू थिए । ती कुरीतिहरूको विरुद्ध उनले साहुको घरमा गएर तमसुक च्यात्ने र गरिबलाई ऋणमुक्त गरिदिने अभियान सञ्चालन गरेका थिए । जसबाट थुप्रै निमुखा जनताले न्याय पाएका थिए । 

डिमडुङ धादिङमा जन्मिएर पछि मकवानपुर बसाइँ सरे र उतै स्वर्गारोहण भए । धादिङको दक्षिणी भेग र मकवानपुरको उत्तरी भेगको राजनीतिक एवम् सामाजिक आन्दोलनमा पुर्‍याएको योगदानको मुल्याङकन गर्दै दुवै जिल्ला पार गरेर दुवैतर्फ राष्ट्रिय राजमार्ग जोड्ने सडकलाई सूर्य बहादुर डिमडुङ मार्ग नामकरण गरिएको हो । 

सडकको स्तरोन्नति हुनेमा कति विश्वस्त जनता ? 

यो सडक खण्ड सरकारको प्राथमिकतामा नपर्दा अलपत्र अवस्थामा थियो । अहिले सडक खण्डको नामकरणसँगै बजेट विनियोजन भएपछि स्थानीय समुदाय उत्साहित भएका छन् । यस सडक खण्डको लागि सङ्घीय सरकारले पनि तीन करोड रुपैयाँ विनियोजन गरेको छ । सङ्घ र प्रदेश सरकारबाट जम्मा पाँच करोड सत्तरी लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यति लामो सडक खण्डको लागि यति सानो आकारको बजेटले खासै देखिने खालको काम नबन्ने र बजेट अत्यन्तै न्यून विनियोजन गरेको स्थानीय बताउँछन् । सरकारले बहुवर्षीय आयोजनाको रूपमा अगाडि बढाएर वार्षिक रूपमा क्रमागत बजेट विनियोजन गर्नुपर्ने स्थानीयको माग छ । 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update