Everest Face
ब्रोम्दिङ बुद्ध पार्कको लागि १३ लाख रुपैयाँ, पर्यटनको लागि अरु कार्यक्रम के–के छन् ? 

बेनीघाट रोराङ गाउँपालिकाले वडा नम्बर–१ स्थित ब्रोम्दिङ डाँडामा निर्माणाधिण बुद्ध पार्कको लागि १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममार्फत निर्माणाधिन बुद्ध पार्कको लागि बजेट विनियोजन गरेको हो । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटबाट बुद्ध पार्क पुग्ने सिँढी बाटो निर्माण भइरहेको छ ।

नयाँ आर्थिक वर्षको लागि विनियोजित बजेटबाट बुद्ध पार्कमा बुद्धको मुर्ति स्थापना गर्ने योजना रहेको छ ।

ब्रोम्दिङ डाँडा 

Tham_Bhanjyang-(2)-1750738698.jpg
ब्रोम्दिङ डाँडा 

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–१ स्थित महाभारत पर्वत श्रृङ्खलाको एक टुक्रा ब्रोम्दिङ डाँडा पर्यटकीय सम्भावनाले भरिएको छ । समुन्द्री सतहबाट एक हजार आठसय देखि दुई हजार एकसय मिटरको उचाइसम्म चुलिएको ब्रोम्दिङ डाँडा प्रकृतिको एक अनुपम उपहार हो । प्रचारप्रसारको अभावमा गुमनाम बसिरहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण यो डाँडा पछिल्लो समय बेनीघाट रोराङ गाउँपालिकाले प्रवद्र्धनात्मक कार्यक्रम गरेर प्रचार गरेपछि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । 

बेनीघाट रोराङ गाउँपालिकाले वि.सं. २०८० कार्तिक १५–१६ ब्रोम्दिङ पर्यटन महोत्सव आयोजना गरेको  थियो । उक्त महोत्सव पश्चात ब्रोम्दिङ आन्तरिक एमव् बाह्य पर्यटकहरूको रोजाइमा परेको हो ।  

ब्रोम्दिङ डाँडा सुन्दर र शान्त छ । प्रकृतिका सबै रङ्गहरुले सजिएको ब्रोम्दिङ छ ब्रोम्दिङ  डाँडा । यस डाँडाबाट उत्तरतर्फ दन्ते लहर जस्तै दर्जनौ हिमालका चुचुराहरु चाँदीझैँ टलक्क टल्किहरेको देख्न सकिन्छ । अनगिन्ती पहाडका चुचुराहरू, गाउँबस्तीहरू, नागबेलीझैँ बगिरहेका खोलाहरू यस डाँडाबाट देख्न पाइन्छ । दक्षिणतर्फ तराईको लमतन्न समथर  भूभाग, बागमती प्रदेशको राजधानी हेटौँडा, औद्योगिक नगरी विरगन्जदेखि भारतको रक्सौल बजारसम्म देख्न सकिन्छ ।

एकै ठाउँमा उभिएर हिमालयको चुचुरादेखि तराईको फाँटसम्म  मनोरम दृष्यहरुको अवलोकन गर्न उत्तम गन्तव्य हो ब्रोम्दिङ डाँडा । न्यानो समशितोष्ण हावापानी पाइने भएकाले जाडो याममा धेरै चिसो नहुने र गर्मी याममा सित्तल हुने भएकाले बाह्रै महिना पर्यटकरुले रमाउन सक्छन् ।

Jarung_Village-(1)-1750739643.jpg
ब्राेम्दिङ डाँडा श्रृङ्खला । तल जरुङ, सिमटार र लवाङ लगायत गाउँहरू ।

ब्रोम्दिङ डाँडा पुग्नेपर्यटकहरू प्राकृतिक सुन्दरतामा मोहित हुन्छन् । पर्यटकहरु ध्यानमा डुब्छन् । आनन्दको सास फर्छन् । प्रकृतिका सबै रङ्गहरूले सुसोभित ब्रोम्दिङका लागि बुद्ध पार्क नयाँ गहना बन्ने छ ।  जसले ब्रोम्दिङको सुन्दरतामा श्रृङ्गारको काम गर्ने छ ।  

ब्रोम्दिङ डाँडा धादिङको बेनीघाट रोराङ गाउँपालिका, मकवानपुरको कैलाश र राक्सिराङ  गाउँपालिकाको सङ्गम स्थल हो । यो क्षेत्रमा बुद्धर्मावलम्बी तामाङ समुदायको बाहुल्य रहेको छ । बुद्धपार्कले स्थानीय समुदायको धार्मिक विश्वास, मूल्य–मान्यता, संस्कृति, परम्परा तथा संस्कारलाई पनि प्रतिविम्बित गर्ने छ । जसले स्थानीय समुदायको संस्कृतिलाई पर्यटनसँग  जोड्ने काम गर्ने छ । आफ्ना समुदायको धार्मिक मूल्यमान्यता र संस्कृतिलाई प्रतिविम्बित गर्ने खालको संरचना निर्माण हुँदा स्थानीय समुदायले गौरवका साथ स्वामित्व पनि लिने छन् ।  

बुद्ध पार्क ध्यानकेन्द्रको रुपमा विकास हुनेछ । प्राकृतिक सुन्दरतामा हराउँदै शान्त वातावरणमा  ध्यान गर्न चाहने पर्यटकहरूको आगमन बढ्ने छ । पर्यटकहरूका लागि मात्रै नभई स्थानीय  समुदायको लागि पनि ध्यानकेन्द्र बन्ने छ, बुद्धपार्क । 

स्थानीय समुदायको धार्मिक एवम् सांस्कृतिक उन्नयन तथा पहिचानको संरक्षणका साथै पर्यटनको प्रवद्र्धनमा टेवा पुर्याउन ब्रोम्दिङ डाँडामा बुद्ध पार्कको निर्माण भइरहेको छ ।  

बुद्ध पार्क पुग्ने पदमार्गको लागि चार लाख रुपैयाँ 

बेनीघाट रोराङ–१ को सबैभन्दा ठुलो गाउँ जरुङदेखि ब्रोम्दिङसम्म पुग्ने पदमार्ग (हाइकिङ रुट) को लागि बेनीघाट रोराङ गाउँपालिकाले तीन लाख रुपैयाँ र वडा नम्बर–१ ले एक लाख रुपैयाँ गरी जम्मा चार लाख रुपैयाँ विनियोजन गरेको छ । 

जरुङ गाउँबाट सिधा ठाडो उकालो चढेर ब्रोम्दिङ डाँडामा निर्माणाधिन बुद्ध पार्क पुग्न सकिन्छ । करिब तीन किलोमिटर ठाडो उकालो चढेपछि ब्रोम्दिङ पुग्न सकिन्छ । जरुङ–ब्रोम्दिङ पदमार्ग शर्ट हाइकिङको लागि उत्तम रुट हो । करिब ४० मिनेटको हिँडाइपछि जरुङबाट ब्रोम्दिङ पुग्न सकिन्छ । 

ब्रोम्दिङ घुम्न आउने पर्यटकहरू प्रायः जरुङमा बस्ने र हाइकिङ गर्दै ब्रोम्दिङ पुग्ने गरेका छन् । हाइकिङ रुटलाई व्यवस्थित र सहज बनाउन बजेट विनियोजन गरिएको हो । 

होमस्टे (घरबास) को लागि दुई लाख रुपैयाँ 

जरुङमा गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्नको लागि वडाले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Jarung_Village-1750738696.jpg
जरुङ गाउँ, बेनीघाट राेराङ-१ ।

वडामा घुम्न आउने पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर गाउँमा होमस्टे सञ्चालन गर्नको लागि बजेट विनियोजन गरिएको हो । 

सामुदायिक घरबास सञ्चालकहरूलाई तालिम र स्थलगत अवलोकन भ्रमण लगायत कार्यक्रम सञ्चालन गरिने भएको छ । 
थामभञ्ज्याङमा पर्यटकीय पूर्वाधार बनाउन पाँच लाख रुपैयाँ 

थामभञ्ज्याङ बेनीघाट रोराङ–१ को एक सुन्दर पर्यटकीय क्षेत्र हो । दोलखाको शैलुङ जस्तै थुम्काहरु मिलेर बनेको थामभञ्ज्याङ मनमोहक छ ।

Tham_Bhanjyang-1750738699.jpg
थामभञ्ज्याङ, बेनीघाट राेराङ-१ ।

जहाँबाट दर्जनौँ हिमश्रृङ्खलाहरूको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । समुन्द्री सतहबाट एक हजार नौ सय मिटरको उचाइमा अवस्थित छ, थामभञ्ज्याङ ।

Tham_Bhanjyang-(1)-1750738697.jpg
थामभञ्ज्याङबाट देखिएकाे हिमश्रृङ्खलासहितकाे सुन्दर दृश्य ।

यस सुन्दर डाँडामा पर्यटकीय संरचनाहरु निर्माण गर्न गाउँपालिकाले बजेट विनियोजन गरिएको हो । 

धादिङको दक्षिणी भेगमा महाभारत पर्वत श्रृङ्खलाको काखमा लुकेर बसेको बेनीघाट रोराङ–१ पर्यटनको सम्भावनाले भरिएको छ । यस वडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पछिल्लो समय बहस सिर्जना भएको छ । पर्यकीय पूर्वाधारहरूको निर्माण कार्यलाई पनि अगाडि बढाईएको छ । पर्यटनको थप प्रवद्र्धन, विकास र विस्तार गर्न सके यस वडाको मुहार फेर्न कोशेढुङ्गा सावित हुने देखिएको छ । 

तस्बिरः चन्द्र तामाङ

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update