
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा व्यापक सुधार हासिल गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको नतिजा अनुसार बेनीघाट रोराङको ७२.९९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत भन्दा बढी हो । २०८० को एसईई परीक्षामा बेनीघाट रोराङका जम्मा ४१.४५ प्रतिशत विद्यार्थी पास भएको थियो ।
शैक्षिक सुधारको लागि विविध प्रयासहरू गरेको यस गाउँपालिकाले एकै वर्षमा नतिजामा व्यापक सुधार ल्याएको हो ।
२०८१ को चैत्रमा सञ्चालित एसईई परीक्षामा बेनीघाट रोराङका ३८५ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । जसमध्ये २८१ जना अर्थात् ७२.९९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको हो । बाँकी १०४ जना अर्थात् २७.०१ प्रतिशत विद्यार्थी फेल भएका छन् ।
नतिजा अनुसार ब्राइटफ्युचर मावि र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । ब्राइटफ्युचर माविबाट २७ जना र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलबाट १३ जनाले परीक्षा दिएका थिए । दुवै विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
त्यसैगरी पञ्चकन्या माविका १४ जनामध्ये १३ जना अर्थात् ९२.८६ प्रतिशत, चन्द्रोदय मावि, बेनीघाटका १७ जनामध्ये १५ जना अर्थात् ८८. २४ प्रतिशत, हर्कपुर माविका २० जनामध्ये १६ जना अर्थात् ८० प्रतिशत, बागेश्वरी माविका ९३ जनामध्ये ७४ जना अर्थात् ७९.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै, चन्द्रोदय मावि, विशालटारका ६० जनामध्ये ४५ जना अर्थात् ७५ प्रतिशत, पिपलभञ्ज्याङ माविका ४९ जनामध्ये ३६ जना अर्थात् ७३.४७ प्रतिशत, शंखादेवी माविका २९ जनामध्ये २१ जना अर्थात् ७२.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी कालिका मावि, विदाङका २४ जनामध्ये १० जना अर्थात् ४१.६७ प्रतिशत, राष्ट्रिय मावि, खोरभञ्ज्याङका २४ जनामध्ये १० जना अर्थात् ४१.६७ प्रतिशत, बाँसखर्क माविका १५ जनामध्ये १ जना अर्थात् ६.६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
बेनीघाट रोराङमा १२ वटा माध्यमिक विद्यालयहरू सञ्चालनमा छन् । ब्राइटफ्युचर मावि र राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल संस्थागत विद्यालय हुन् । बाँकी १० वटा सामुदायिक विद्यालय रहेका छन् ।
अघिल्लो वर्ष शून्य, अहिले उत्कृष्ट पञ्चकन्या
बेनीघाट रोराङ गाउँपालिका–६ मा अवस्थित पञ्चकन्या माविको अघिल्लो वर्षको नतिजा शून्य थियो । तर, पछिल्लो वर्षको वर्षको हालै सार्वजनिक नतिजा अनुसार १४ जनामध्ये १३ जना अर्थात् ९२.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै सामुदायिक विद्यालयतर्फ प्रथम स्थान हासिल गरेको छ ।
बाँसखर्क माविको अवस्था उस्तै
बेनीघाट रोराङ–१ मा अवस्थित श्री बाँसखर्क माविले भने नतिजामा सुधार ल्याउन सकेको छैन । अघिल्ला वर्षहरूको नतिजा शून्य रहेको बाँसखर्क माविले हालैको नतिजा अनुसार १५ जनामध्ये १ जना मात्रै पास गराउन सफल भएको छ ।
हर्कपुर मावि थोरै खस्कियो
अघिल्लो वर्ष १७ जनामध्ये १६ जना अर्थात ९४.११ प्रतिशत उत्तीर्ण गराउँदै सामुदायिक विद्यालयबाट प्रथम स्थान हासिल गरेको हर्कपुर मावि यस वर्ष थोरै खस्केको छ । हालै सार्वजनिक नतिजा अनुसार २० जनामध्ये १६ जना अर्थात् ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
समग्र राष्ट्रिय नतिजामा पनि सुधार
समग्र देशभरिकै हालै सार्वजनिक एसईई २०८१ को नतिजा गत वर्षको भन्दा सुधार भएको छ । गत साल जम्मा ४७.८६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले बढेर ६१.८१ प्रतिशत पुगेको छ ।
नतिजा अनुसार गत वर्षभन्दा अहिले १३.९५ प्रतिशतले सुधार भएको हो ।
परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।