-1751373892.jpg)
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले शिक्षकहरूलाई हौसला प्रदान गर्न शिक्षक भेटघाट कार्यक्रम सञ्चालन गरेको छ ।
हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेख्य प्रगतिसहितको नतिजा आएपछि उत्साहित भएको गाउँपालिकाले शिक्षकहरूलाई बधाई तथा शुभकामना दिन र थप हौसला प्रदान गर्न अचानक शिक्षक भेटघाट कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, शिक्षा शाखा प्रमुख बोधराज पाठक, गाउँ शिक्षा समितिका सदस्य एवम् समाजसेवी हेमनाथ थपलिया, न्यायिक सहजकर्ता सरिस्मा विसुराल लगायतको टोली विद्यालयमै पुगेर शिक्षक, विव्यस, वडा शिक्षा समिति संयोजक, वडाका जनप्रतिनिधि एवम् विद्यार्थीहरूसँग उत्साह साटासाट गरिरहेका छन् । शिक्षकहरूलाई टिका र दोसल्ला ओढाएर बधाई तथा शुभकामना बाँडिरहेका छन् ।
-1751371115.jpg)
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको टोलीले हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई टिका र पुष्पगुच्छा दिएर आगामी परीक्षाको लागि शुभकामना व्यक्त गरेका छन् । विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा ल्याउने शपथ खुवाएका छन् ।
-1751371096.jpg)
२०८१ सालमा सञ्चालित एसईई परीक्षामा बेनीघाट रोराङका ७२.९९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष अर्थात् २०८० सालमा सञ्चालित परीक्षामा जम्मा ४१.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गाउँपालिकाले एसईई उत्तीर्ण प्रतिशत एकै वर्षमा ३१ प्रतिशत भन्दा बढी बढाउन सफल भएको हो ।
अघिल्लो वर्ष निकै कमजोर नतिजा भोगेको बेनीघाट रोराङ जिल्लाको १३ स्थानीय तहहरूमध्ये चौथो स्थान हासिल गर्न सफल भएको छ ।

गाउँपालिकाले सोमबार सामुदायिक विद्यालयहरूमध्येबाट सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल पञ्चकन्या माविबाट शिक्षक भेटघाट कार्यक्रम सुरु गरेको हो । पालिकाको वडा नम्बर ६ मा अवस्थित पञ्चकन्याले १४ जनामध्ये १३ जना अर्थात् ९२.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै पालिकाको सर्वोत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको छ ।
गत वर्ष एक जना पनि उत्तीर्ण गराउन नसकेको पञ्चकन्याले यस वर्ष आश्चर्यजनक प्रगति हासिल गरेको हो ।

त्यसैगरी सोमबार नै वडा नम्बर–८, विदाङमा अवस्थित श्री कालिका मावि, वडा नम्बर–९ मा अवस्थित शंखादेवी मावि, वडा नम्बर–५ मा अवस्थित चन्द्रोदय मावि, विशालटार र चन्द्रोदय मावि, बेनीघाटमा कार्यक्रम सम्पन्न गरेको हो ।
आज मङ्गलवार वडा नम्बर–२ स्थित श्री पिपलभञ्ज्याङ मावि, वडा नम्बर–४ मा अवस्थित श्री हर्कपुर मावि, वडा नम्बर–३ मा अवस्थित वागेश्वरी मावि, मलेखु, सोही वडामा अवस्थित ब्राइट फ्युचर मावि र वडा नम्बर–७ मा अवस्थित राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल गरी पाँच वडा माध्यमिक विद्यालयहरूमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
-1751371140.jpg)
गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयहरूमध्ये १० वटामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय मावि, खोरभञ्ज्याङ र श्री बाँसखर्क माविमा भने कार्यक्रम सञ्चालन गर्न बाँकी रहेको छ ।
विभिन्न विद्यालयहरू पुगेर शिक्षक तथा विद्यार्थीहरूसँग भलाकुसारी गर्दै गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले गाउँपालिकाले शिक्षामा राम्रो उपलब्धि हासिल गरेको र आगामी दिनमा अझै राम्रो गर्नको लागि हौसला प्रदान गर्न शिक्षक भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
-1751372088.jpg)
“यसपालिको एसईईको नतिजाले हामी उत्साहित भएका छौँ । यो उत्साह र सफलता तपाईँ शिक्षक, विद्यार्थी, विव्यस, हामी पालिका सरकार सबैको साझा प्रयासबाट सम्भव भएको । त्यसैले हामी तपाईँसँग उत्साह साट्न आएका छौँ”, अध्यक्ष थपलियाले भने, “हामी शिखरमा चुम्ने लक्ष्य बोकेर हिँडिरहेका छौँ । तर, शिखर चुम्नु मात्रै ठुलो कुरा होइन, त्यहाँ अडिरहन सक्नुपर्छ । यो हाम्रो लागि चुनौती पनि हो ।”

अध्यक्ष थपलियाले यस वर्षको नतिजा कल्पना गरेको भन्दा पनि राम्रो आएकोले आगामी वर्षहरूमा अझै उत्कृष्ट नतिजा हासिल गर्नेमा आफू ढुक्क रहेको बताए । गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर ठुलो बजेट लगानी गरेको/गरिरहेको र थुप्रै कार्यक्रम तथा अभियानहरू सञ्चालन गरिरहेको हुनाले बेनीघाट रोराङ शिक्षामा देशकै नमुना पालिका बन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
-1751371135.jpg)
त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले शैक्षिक सुधारको लागि गाउँपालिकाले तय गरेको मिसन र भिजनलाई सबैले कार्यान्वयन गर्न सके सफलता टाढा नरहेको बताए । शैक्षिक अवस्थाको सुधार र रूपान्तरण गर्न शिक्षक, विव्यस, अभिभावक, विद्यार्थी एवम् जनप्रतिनिधिहरूको इच्छाशक्ति, समन्वय र सहकार्य जरुरी रहेको उपाध्यक्ष श्रेष्ठले बताए ।

“शैक्षिक सुधार कुनै एक पक्षको एकल प्रयासले मात्रै सम्भव हुँदैन । यसको लागि सबैको साझा प्रयास आवश्यक पर्दछ”, उपाध्यक्ष श्रेष्ठले भने, “पञ्चकन्या माविबाट हामी सिक्न सक्छौँ कि इच्छाशक्ति भयो भने असम्भव भन्ने केही छैन । गत वर्ष शून्य नतिजा ल्याएको पञ्चकन्या अहिले उत्कृष्ट बन्न सफल भएको छ ।”
उपाध्यक्ष श्रेष्ठले शैक्षिक गुणस्तरको लागि सबैभन्दा बढी शिक्षकहरूको भूमिका रहने बताउँदै शिक्षकहरूको अहोरात्र खटाइबाट नै अहिले नतिजा आएको बताए । शिक्षकहरूलाई बधाई तथा शुभकामना दिँदै उपाध्यक्ष श्रेष्ठले आगामी दिनहरूमा पनि अझै डटेर लागि पर्न आग्रह गरे ।
त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले हर्कपुर माविको कार्यक्रममा सम्बोधन गर्दै शैक्षिक सुधारको लागि गाउँपालिकाले गरेको प्रयास सार्थक हुँदै गएको बताउँदै खुसी व्यक्त गरिन् ।
-1751371109.jpg)
“हर्कपुर मावि यसै पनि नमुना विद्यालयको पहिचान बनाइसकेको विद्यालय । यसपालि पनि राम्रो नै गर्नुभएको छ । हामी खुसी छौँ”, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भनिन्, “यहाँको वडाध्यक्षज्यू, अन्य जनप्रतिनिधि, शिक्षक, विव्यस, अभिभावक, विद्यार्थी सबैको सहकार्य र समन्वयले यति राम्रो बनेको छ ।”
गाउँपालिकाको विकास र समृद्धिको लागि मुख्य भूमिका जनप्रतिनिधिहरूकै रहने र जनप्रतिनिधिहरूले बनाएका योजना, भिजन तथा कार्यक्रमहरूलाई आफू (कर्मचारी)हरूले कार्यान्वयन गर्ने÷गराउने उनले बताइन् ।
-1751371101.jpg)
“जनप्रतिनिधिज्यूहरूले नीति निर्माण, योजना तथा कार्यक्रम बनाउनुहुन्छ, हामी उहाँहरूको निर्देशन अनुसार कार्यान्वयन गराउँछौँ । कार्यक्रमहरू सफल कार्यान्वयन हुँदा नतिजा पनि राम्रै आउँछ । एसईईको नतिजाले पुष्टि गरेको पनि छ ।”
गाउँपालिका शिक्षा शाखा प्रमुख बोधराज पाठकले गाउँपालिकाको शिक्षक भेटघाट कार्यक्रमले शिक्षक र विद्यार्थी, विव्यस, अभिभावक सबैलाई थप उत्साहित बनाउने र भावी दिनहरूमा अझै राम्रो नतिजा ल्याउन सघाउने विश्वास व्यक्त गरे ।
-1751371137.jpg)
शिक्षक भेटघाट कार्यक्रम नौलो कार्यक्रम भएको उनले बताए । गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को नौलो भिजनको रूपमा यस कार्यक्रमको प्रादुर्भाव भएको उनले बताए ।
“अध्यक्षज्यूको भिजन अनुरूप अघि बढेको यो कार्यक्रम झट्ट हेर्दा सामान्य जस्तो देखिए पनि यसले शैक्षिक विकासमा निकै राम्रो प्रभाव पार्ने हामीले विश्वास लिएका छौ ।”, प्रमुख पाठकले भने ।
-1751371106.jpg)
शिक्षा शाखा प्रमुख पाठकले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई आउने परीक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्न लगाएका थिए ।
त्यसैगरी गाउँ शिक्षा समितिका सदस्य एवम् समाजसेवी हेमनाथ थपलियाले गाउँपालिकाको यस कार्यक्रमले शिक्षक, विव्यस, विद्यार्थी र अभिभावकलाई शैक्षिक उन्नयनको लागि थप जिम्मेवार बनाउन सघाउने बताए ।
-1751373094.jpg)
“यो शिक्षक भेटघाट कार्यक्रमले शिक्षक, विव्यस, विद्यार्थीलाई हौसला मात्रै प्रदान गरेको छैन । उनीहरूलाई थप जिम्मेवारीको बोध पनि गराएको छ ।”, थपलियाले भने ।