Everest Face
बाढीका कारण २० जना बेपत्ता, ६४ वटा गाडी बगायो

मङ्गलवार रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षतिको थप विवरण सार्वजनिक भएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, ६ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् ।

यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने ६ जना, डिब्बा चालक पाँच र चिनियाँ नागरिक ६ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

यसैगरी, २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा बाढीको लेदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साथै माथिल्लो त्रिशूली ‘ए’को ६० मेगावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अन्य क्षतिको विवरण प्राप्त भएको छैन ।

यसैबीच नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित ठाउँमा उद्धार गरेको पनि सहप्रजिअ अधिकारीले बताए ।

‘ल्हेन्दे खोलाको मितेरी पुल बताउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ । १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन् । रसुवागढीबाट करिब ८० कोषमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति बनाएको अनुमान छ,’ उनले भने ।

हेर्नुहाेस् विज्ञप्तिः

513919915_715928971178382_8318406399768230406_n-1751992502.jpg

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update