Everest Face
गोसाइँकुण्डमा डुबेर मोरङका दुई युवकको मृत्यु

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवकको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार मृत्यु हुनेमा बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र  विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन् ।

आइतबार पवित्र कुण्डमा स्नानका क्रममा बेपत्ता भएका दुवै जनाको शव आज निकालिएको छ ।

नेपाली सेनाको श्रीनाथगण, जिल्लास्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्म र नेपाल प्रहरीसहित स्थानीय होटल व्यवसायी समेतको सहयोगमा शव निकालिएको प्रहरी प्रमुख शाहीले जानकारी दिए । 

प्रतिकूल मौसमका कारण आज काठमाडौँबाट हेलिकोप्टर उड्न नसक्दा शव परीक्षणका लागि राजधानी लैजान समस्या परेको प्रहरीले जनाएको छ । मौसम सफा रहेमा मङ्गलवार बिहान काठमाडौँतर्फ शव लैजान आवश्यक व्यवस्था गरिएको सिम्रिक एयरले जनाएको छ ।

समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तालमा स्नान गर्ने क्रममा डुबुल्की मार्दा कडा चिसो पानीको असरले रन्थनिएर लड्न गई डुबेर मृत्यु भएको हुनसक्ने स्थानीयको भनाइ छ । एक जना लडेपछि अर्का साथीले समात्न खोज्दा दुवैको ज्यान गएको समेत आकलन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update