Everest Face
नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदका बलियो दाबेदार कुल बहादुर गुरुङ को हुन् ? 

नेपालको पर्वतारोहण पर्यटनको क्षेत्रमा काम गर्दै आएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी भाद्र ७ गते निर्वाचन हुँदैछ ।

निर्वाचन नजिकिँदै गर्दा नेतृत्वको आकाङ्क्षीहरूले उम्मेदवारी घोषणा पनि गरिरहेका छन् । यस पटकको निर्वाचनमा दुई वटा प्यानलबीच निर्वाचन हुने देखिएको छ । पर्वतीय पर्यटन क्षेत्रका दुई हस्ती कुल बहादुर गुरुङ र पूर्वा ग्याल्जेन शेर्पा नेतृत्वको समूहबीच नेतृत्वको लागि भिडन्त हुने तय भएको छ । 

हालसम्मको अवस्था हेर्दा कुल बहादुर गुरुङ नेतृत्वको समूहले बलियो दाबेदारी प्रस्तुत गरेको अवस्था छ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्ने महत्त्वपूर्ण संस्था नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदमा बलियो दाबी प्रस्तुत गरिरहेका कुल बहादुर गुरुङको पर्यटन क्षेत्रमा अनुभव, योग्यता, विचार र एजेन्डाहरूलाई नियालौँ: 

को हुन् कुल बहादुर गुरुङ ?

Kul_Bahadur_Gurung-(2)-1755073907.jpg
कुल बहादुर गुरुङ । अध्यक्ष पदका उम्मेदवार, एनएमए निर्वाचन-२०२५ ।

नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा स्थापित नाम हो, कुल बहादुर गुरुङ । उनी वि.सं. २०३२ साल पौष १३ गते उत्तरी धादिङको (रुबीभ्याली गाउँपालिका) तत्कालीन सेर्तुङ गाविस वडा नम्बर ४ स्थित चालिस गाउँमा जन्मिएका हुन् । उमेरले पाँच दशक पार गर्दैगर्दा गुरुङले साढे तीन दशकभन्दा लामो समय पर्यटन क्षेत्रमा बिताइसकेका छन् । गुरुङ सन् १९९२ देखि पर्वतीय पर्यटनको क्षेत्रमा संलग्न रहँदै आएका छन् । 

एलायन्स् ट्रेक्स एण्ड एक्स्पेडिशन प्राइभेट लिमिटेको प्रबन्ध निर्देशक गुरुङ अन्य पर्यटन व्यवसायहरूमा संलग्न छन् । उनले नेपाल पर्वतारोहण सङ्घको महासचिव (२०१७¬—२०२२) भएर कुशलतापूर्वक काम गरिसकेका छन् । 

पर्वतीय पर्यटनको क्षेत्रमा ‘सबैको प्रिय व्यक्तित्व’ को परिचय बनाएका गुरुङले पर्वतीय पर्यटन व्यवसायमा मात्र नभएर पर्वतीय पर्यटनको विकास, विस्तार, पर्वतीय पर्यटन व्यवसायीहरूको हक, हित र अधिकारको लागि काम गर्ने पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन (टान) को विभिन्न पदमा बसेर काम गरिसकेका छन् । उनले २००९ देखि २०११ सम्म टानको केन्द्रीय कार्यसमिति सदस्य, २०१३ देखि २०१५ सम्म टानको द्वितीय उपाध्यक्ष र भएर काम गरिसकेका छन् ।

विश्व पर्वतारोहण सङ्घमा काम गरेको अनुभव  

गुरुङले पर्वतीय पर्यटनको राष्ट्रियस्तरका मात्र नभई अन्तर्राष्ट्रिय स्तरको संस्थामा रहेर पनि काम गरिसकेका छन् र गरिरहेका छन् । गुरुङले इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनियरिङ फेडेरेशन (विश्व पर्वतारोहण महासङ्घ)को सचिवालय सदस्यमा २०२० मा निर्वाचित भएर २०२४ सम्म काम गरिसकेका छन् । सोही अवधिमा गुरुङले विश्व पर्वतारोहण सङ्घको माउन्टेनियरिङ कमिशन विभागको फुल मेम्बरको रूपमा पनि काम गरेका थिए । सोही पदमा २०२४ मा पुनः निर्वाचित भएर २०२८ सम्मको लागि काम गरिरहेका छन् । 

गुरुङ नेपालको पर्वतीय पर्यटनको इतिहासमा विश्व पर्वतारोहण सङ्घको सचिवालय सदस्य पदमा पुग्ने दोस्रो व्यक्ति हुन् । यसका अलावा अन्य थुप्रै पर्यटन सम्बद्ध सङ्घसंस्थाहरूमा पनि उनी संलग्न छन् । 

त्यसैगरी गुरुङले सन् २००४ देखि नै क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटिज् (सिएएचसि) को संस्थापक सचिव भएर काम गरिरहेका छन् । सिएएचसि पूर्वमा मेचिदेखि पश्चिमसम्म हिमाली क्षेत्रको वातावरणीय समस्या तथा प्रभावहरुबारे वकालत गर्ने संस्था हो । 

त्यसैगरी गुरुङ पर्यटन व्यवसायी सङ्घ नेपाल (जिटिन) को संस्थापक अध्यक्ष, उत्तरी धादिङको पर्यटनको क्षेत्रका काम गर्दै आएको संस्था गणेश हिमाल टुरिजम डेभलपमेन्ट कमिटी (जिएचटडिसि) को पनि संस्थापक अध्यक्ष हुन् कुल बहादुर ।

Kul_Bahadur_Gurung-1755073909.jpg
कुल बहादुर गुरुङ । अध्यक्ष पदका उम्मेदवार, एनएमए निर्वाचन-२०२५ ।

बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व 

पर्वतीय पर्यटनको क्षेत्रमा कुल बहादुर गुरुङको परिचय एक व्यवसायीको रूपमा सीमित छैन । उनी एक बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्वको रूपमा पनि परिचित छन् । गुरुङले व्यवस्थापन सङ्काय र पर्यटनमा स्नातकोत्तर गर्नुका साथै कानुनमा पनि स्नातक गरेका छन् । हाल नेपालको पर्वतीय पर्यटनको विषयमा मलेशियाको लिङ्कन विश्वविद्यालयबाट विद्यावारिधिको लागि अनुसन्धानरत छन् गुरुङ । 

बौद्धिक व्यक्तित्व गुरुङ शिक्षण, प्रशिक्षण तथा तालिम प्रदान गर्ने कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनी क्युवानियन र रोटरियन पनि हुन् । क्युवानेश इन्टरनेशनल नेपालको नेपालभरिकै एक मात्र मास्टर ट्रेनर गुरुङले पब्लिक स्पिकिङ, मोटिभेशनल स्पिकर, इन्स्पिरेशनल स्पिकर तथा लाइफ कोचको रूपमा पनि काम गर्दै आएका छन् । 

विगत १४ वर्षदेखि पोर्टर गाइड, ट्रेकिङ गाइड र टुरिस्ट गाइडलाई नाथमबाट ट्रेनिङ गराउँदै आएका छन् । गुरुङले हालसम्म १५ हजारभन्दा बढीलाई तालिम दिइसकेका छन् । कर्पोरेट हाउस र विभिन्न कलेजहरूमा पनि माउन्टेन टुरिजम, यसको महत्त्व, चुनौतीहरू र अवसरहरूबारेमा ओकेजनली गेस्ट लेक्चररको रूपमा पनि बोल्दै आएका छन् ।

के छन् एजेन्डा ?  

नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्ने महत्त्वपूर्ण संस्था नेपाल पर्वतारोहण सङ्घको अध्यक्ष पदमा आफ्नो दाबी पेश गर्दै गर्दा गुरुङले पर्वतीय पर्यटन क्षेत्रको विकासको लागि सूत्रबद्ध रूपमा आफ्ना एजेन्डाहरूलाई अगाडी सारेका छन् । 

सृजनशील व्यक्तित्व गुरुङले आफ्ना एजेन्डाहरूलाई पनि सिर्जनात्मक ढङ्गले प्रस्तुत गरेका छन् । गुरुङले क्रिएशन, क्युरेशन र कम्युनिकेसनलाई नेतृत्वको मूल मन्त्र बनाएका छन् । त्यस्तै पर्वतीय पर्यटनको लागि ८ वटा अङ्ग्रेजी अक्षर एम लाई मूल मन्त्र बनाएका छन् । आठ वटा याममार्फत माउन्टेन, माउन्टेन इन्भाइरुमेन्ट, माउन्टेन पिपुल, माउन्टेन कल्चर, माउन्टेन हेरिटेज, माउन्टेनियरिङ अपरेटर्स, माउन्टेनर्स, माउन्टेन वर्कर्सलाई समेटिएको छ ।

Kul_Bahadur_Gurung-(3)-1755074169.jpg
कुल बहादुर गुरुङ ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) लाई विश्वकै उत्कृष्ट माउन्टेन रिसर्च सेन्टरको रूपमा विकास गर्ने गुरुङको लक्ष्य छ । त्यस्तै माउन्टेन टुरिजममा देखिएका समस्याहरूलाई सिंहदरबारसम्म पुर्‍याउन ‘बेसक्याम्प टु सिंहदरबार’ को अवधारणालाई अगाडि सारेका छन् । माउन्टेन टुरिजमको नीति निर्माणको लागि तत्काल वकालत गर्ने उनको योजना छ । 

गणेश हिमालको फेदमा विकट गाउँमा जन्मिएका गुरुङले भरियाको रूपमा पर्यटन क्षेत्रमा पाइला राखेका थिए । गुरुङले भरिया, भरियाहरूको नाइके, किचन ब्वाई, गाइड हुँदै सेल्स म्यानेजर, जेनेरल म्यानेजरको रूपमा डेढ दशकभन्दा बढी काम गरेपछि आफ्नो व्यवसाय सुरु गरेका हुन् । उनले नेपालका चर्चित ३० वटा भन्दा बढी ट्रेकिङ रुटहरूमा ट्रेकिङ गरेका छन् । गुरुङले ५० वटा भन्दा बढी देशहरूको भ्रमण गरिसकेका छन् । पर्वतीय पर्यटनको विषयमा २५ वटा भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका गोष्ठीहरूमा सहभागिता जनाइसकेका छन् ।

पर्वतीय पर्यटनका एक हस्ती, सफल व्यवसायी, बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व, पर्वतीय पर्यटनकै अनुसन्धाता एवम् आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरिसकेका कुल बहादुर गुरुङले एनएमएको नेतृत्वमा पुगेर नेपालको पर्वतीय पर्यटनको उचाइ बढाउने लक्ष्य लिएका छन् । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update