
धादिङको बेनीघाट रोराङ गाउँपालिका देशकै उत्कृष्ट गाउँपालिका बनेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार गाउँपालिकाहरूमध्ये बेनीघाट रोराङ गाउँपालिका देशकै उत्कृष्ट स्थानीय तह बनेको हो ।
सामान्य प्रशासन मन्त्रालयले आज शुक्रवार मन्त्रालयमा आयोजित एक समारोहबीच बेनीघाट रोराङसहित देशैभरिबाट उत्कृष्ट ६ स्थानीय तहहरूलाई सम्मानित गरेको छ ।

राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मानित गरेको हो ।
गाउँपालिकाहरूमध्येबाट धादिङको बेनीघाट रोराङ गाउँपालिका ९१.७५ प्रतिशतसहित पहिलो, गुल्मीको रुरुक्षेत्र गाउँपालिका ९०.०० प्रतिशतसहित दोस्रो र स्याङ्जाका अर्जुनचौतारी गाउँपालिका ८८.७५ प्रतिशतसहित तेस्रो उत्कृष्ट गाउँपालिका बनेको छ ।
त्यसैगरी धादिङको नीलकण्ठ नगरपालिका ९३.७५ प्रतिशतसहित समग्र देशकै उत्कृष्ट पालिका बनेको छ । नगरपालिकाहरुमध्ये चितवनको खैरहनी नगरपालिका ९२.७५ प्रतिशतसहित दोस्रो र रुपन्देहीको तिलोत्तमा नगरपालिका ९१.२५ प्रतिशतसहित तेस्रो बनेको छ ।
-1755871146.jpg)
गाउँपालिका र नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले संस्थागत स्वमूल्याङ्कनको विधि अपनाइएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आव २०८०/८१ को नतिजाअनुसार उत्कृष्ट बनेका पालिकाहरूलाई सम्मानित गरेको हो ।
-1755871181.jpg)
गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरी राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सम्मानित गरेको हो ।
बेनीघाट रोराङ यस अघि आव २०७९/८० मा (लिजा) मा देशकै उत्कृष्ट पालिका बनेको थियो । यस वर्ष गाउँपालिकाहरूमध्ये उत्कृष्ट बने पनि समग्र पालिकाहरूमध्ये तेस्रो बनेको छ ।
कार्यक्रममा बोल्दै बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले थुप्रै चुनौतिहरुबीच गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्न सम्भव भएको बताए ।
-1755871171.jpg)
“यहाँ मन्त्रालयबाट सबै स्थानीय तहहरूलाई एउटै मापदण्डअनुसार मूल्याङ्कन गर्नु उचित चाहिँ होइन । स्रोत तथा साधनको उपलब्धता, भूगोल, समुदायको चेतनाको स्तर लगायत धेरै कुराहरूले फरक पार्छ”, अध्यक्ष थपलियाले भने, “हाम्रो जस्तो अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको अनि भौगोलिक हिसाबले कठिन गाउँपालिका र अन्य नगरपालिकालाई एउटै मापदण्डमा जोख्नु हुँदैन ।”
कठिन परिस्थितिका बाबजुद पनि जनप्रतिनिधि र कर्मचारीहरूको सामूहिक प्रयासमा पालिकामा सुशासन कायम गर्न र उत्कृष्ट कार्यसम्पादन गर्न सम्भव भएको अध्यक्ष थपलियाले बताए ।
“खासमा यी उपलब्धिको पछाडि राष्ट्रसेवक कर्मचारीहरूको ठुलो भूमिका छ । उहाँहरूको लगनशीलता, इमानदारिता र कार्य सम्पादनमा तदारुकताले यो सम्भव भएको हो ।”, अध्यक्ष थपलियाले भने ।
-1755871165.jpg)
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्याैपानेले स्थानीय सरकारका मागहरूलाई सम्बोधन गर्न सङ्घीय सरकार तयार रहेको बताइन् ।
मन्त्री न्याैपानेले संविधानले तीन तहको सरकारको परिकल्पना गरेको हुनाले सबै तहको सरकार स्वायत्त हुने तर एकअर्काबीच समन्वय र सहकार्य भने जरुरी रहेको बताइन् ।
उत्कृष्ट बनेका पालिकाहरूलाई बधाई दिँदै मन्त्री न्याैपानेले अझै उत्कृष्ट कार्य सम्पादन गर्न सुझाव दिइन् ।
अन्य तस्बिरहरूः
तस्बिरः चन्द्र तामाङ/एभरेष्ट फेस