Everest Face
मन्त्री घिसिङलाई वडाध्यक्ष घिसिङकाे खुल्लापत्रः "तपाईँप्रतिको आशा र विश्वासलाई मर्न नदिनुहोला"

मकवानपुरकाे कैलाश गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष राजेन्द्र घिसिङले नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङलाई खुल्लापत्र लेखेका छन्ः 

आदरणीय कुलमान घिसिङ ज्यु,

सर्वप्रथम उज्यालो नेपालको नायक तपाईँ अन्तरिम सरकारको उर्जा मन्त्रीमा नियुक्त हुनुभएकोमा सफल कार्यकालको शुभकामना । बधाई ६ महिनापछि व्यक्त गरौला । साइनोले हामी दाजुभाइ होला । तपाईँले नेपाल उज्यालो बनाउनुभयो । मैले २०७६ मा देशको एउटा सानो इकाई आफ्नो वडा उज्यालो पारेँ । जात र थर मिल्थ्यो नै तर समाज रूपान्तरण र परिवर्तनकारी भूमिका र उद्देश्य पनि मिल्यो ।

देशमा व्याप्त भ्रष्टाचार, बेथिति र अस्थिरताको विरुद्धमा कोही न कोहीले त आवाज बुलन्द बनाएर क्रान्तिमा होमिनै पर्थ्यो ।आज genz पुस्ताको क्रान्ति आँधिहुरि झैँ बढ्दै आगोको लप्काको रूप लिएर देश नै जल्यो । जसले अनपेक्षित राजनीतिक उथलपुथल समेत भयो । क्रान्तिमा दर्जनौँ अनाहक युवाहरूको तातो गोलीबाट ज्यान गयो । उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । त्यही क्रान्तिको जगबाट आज तपाईँजस्तो कर्मशील गैरराजनीतिक क्षेत्रबाट मन्त्री चुनिएको छ । राजनीतिमा मन्त्री बन्नलाई कयौँ वर्ष त्याग र नेतृत्वको खुट्टामा दाम राखेर ढोग्नुपर्छ तर, तपाईँलाई तपाईँले गर्नुभएको कर्म र नेपाली जनताको विश्वासबाट जादुमय तरिकाले मन्त्री बनाइएको/बन्नुभएको छ । सहज सुरुवात भयो तर कहिल्यै दुखद अन्त्य नहोस् । अवसर र चुनौती बराबर छन् । चुनौतीलाई पनि अवसरमा बदल्ने प्रयास गर्नुहोला । 

देशमा व्यवस्था परिवर्तनको लागि कयौँ क्रान्ति, आन्दोलनहरू भए  । राणा, पञ्चायत र राजा ।  हिजो क्रान्ति १० वर्ष चल्यो । १७ हजारले बलिदानी दिए । व्यवस्था फेरिए । आज २४ घण्टामा ५१/५२ जना ले बलिदानी दिए । सत्ता ढल्यो । त्यही ढलेको सत्ता सडकबाटै उठाएर जनताको आशा र भरोसाको दियो बाल्न तपाईँलाई नेपाली जनताले मन सुम्पेको छ र । त्यो विश्वास र आशालाई जीवित राख्नु होला । मान्छे मरेको छ । रगत बगेको छ । सहिदको रगतलाई न्याय दिलाउने एउटा हिस्सा तपाईँ बन्नु भएको छ । त्यसतर्फ निर्मम भएर लाग्नुहोला ।

निजामती सेवाबाट राजनीतिको पेरिफेरिभित्र प्रवेश गर्नुभएको छ । सम्हालेर अगि बढ्नुहोला । केही समय कुहिरोभित्र हराएको बाच झैँ अन्यौलमा पर्नुहोला तर बिस्तारै लयमा आउँछ । हरियो घाँस देखाएर मार हान्ने अभ्यासहरू हुन्छन् राजनीतिमा तर तपाईँले गर्दन नथाप्नुहोला । हामी मूलवासी जनजाति अलि छिट्टै विश्वास गर्छौ, भावनामा बग्छौ जस्तै निष्ठावान् र ईमान्दारीहरुलाई पनि झुठ बोल्न बाध्य गराउँछन् राजनीतिमा । तर, स्वाभिमान नगुमाउनुहोला । सकिन्छ ती जन्जीरलाई खरानी बनाउनुस् । सकिन्न सशक्त हुन फर्किनुस् । तर, तपाईँ हाम्रो शिर नझुकोस् ।

विद्युत् डेटिकेटेड ट्रंक लाइन र विद्युत् महसुल बक्यौताको टाउकोमा हान्ने ठाउँमा पुग्नुभएको छ । यसमा तपाईँ आफैँ विज्ञ हुनुहुन्छ । तर विद्युत् प्राधिकरणभित्र हुने सेटिङ र जालोलाई भत्काउनुहोला । छोटो समयको लागि जिम्मेवारी सम्हाल्नुभएछ । यतिका समयसम्म नभएका परिवर्तन ६ महिनामा असम्भव सिद्ध छ । नेपालमा मौजुदा संविधानमा ३ तहको सरकार, संवैधानिक राष्ट्रपति , राष्ट्रियसभा लगायतको संरचनाहरू छन् । जुन हाल कार्यान्वयनमा छन् । प्रदेश तह खारेजी र प्रत्यक्ष राष्ट्रपति प्रणालीको माग दिनानुदिन बढ्दो छ । अस्तिको आन्दोलनमा पनि यही मुद्दा चर्को आवाजमा उठ्यो । यसको लागि संविधान संशोधन आवश्यक छ र संविधान संशोधन को लागि प्रतिनिधिसभा, संसद् विगठन भइसक्यो । कानुनी अड्चनहरू आओलान  । तर आँट चाहिँ गर्नुस् । तर, तपाईँको असल अभ्यास होस । अरूसँग भन्दा तपाईँसँग बढी आशा छ । मन्त्रीपरिषद्बाट भटाभट अध्यादेश जारी गर्दै तपाईँ हुनुको र नयाँको आभास दिलाउनमा हरदम लाग्नुहोला । तर, गलत को साक्षी किनारा नबन्नुहोला । हामीले त्यही आशा गरेका छौँ । नेपालको ग्रामीण भेगका कयौँ गाउँहरू अझै अँधेरोमा छन् । ती गाउँहरूमा सहज बिद्युतिकरणमा जोड दिनुहोला । 

अन्त्यमा, सङ्घीयताप्रति नेपाली जनताको बढ्दै गएको वितृष्णा र निराशालाई विश्वास जगाउने एउटा प्रयास तपाईँबाट होस । सिंहदरबारमा मन्त्री भेट्न मन्त्रीकै नजिकको र आसेपासेले मात्रै भेट्न पाउने प्रथाको अन्त्य गर्नुहोला । गाउँको झुत्रे कपडामा आउनेहरूले पनि तपाईँको कार्यकक्ष हेर्न र तपाईँलाई भेटेर आफ्नो कुरा राख्न पाओस् । फेरि पनि तपाईँको कार्यकाल उपलब्धिमूलक र जन आपेक्षिक होस शुभकामना ।

उही तपाईँको शुभचिन्तक

राजेन्द्र घिसिङ

कैलाश-२, वैकुण्ठ, मकवानपुर

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update