यो वर्ष पनि धादिङका गुरुङ समुदायले हर्षोल्लास पूर्वक तमू ल्होसार मनाउने भएका छन् ।
तमू ल्होसारको अवसरमा तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङ, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङ र धादिङबेसी तमू समाज धादिङको संयुक्त आयोजनामा गुरुङ संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रमका साथमा शुभकामना आदान प्रदान कार्यक्रम गरेर मनाइने भएको हो ।
यही पौष १५ गते धादिङबेसी स्थित कबर्डहलको प्राङ्गणमा मनाइने उक्त कार्यक्रममा गुरुङहरूको प्रसिद्ध परम्परागत नृत्य घाटु नाच, तमूस्यो ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यक्रम समिति धादिङको गुरुङ संस्कृति झल्किने विशेष सांस्कृतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहने तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति, धादिङकी अध्यक्ष जमुना तमूस्योले बताए ।
यतिबेला ल्होसारको भव्य तयारी भइरहेको आयोजकले जनाएको छ । यस्तै कार्यक्रममा राष्ट्रिय स्तरका गुरुङ कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक संयोजक नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका सचिव प्रशान्त गुरुङले बताए ।
यो वर्ष तमू गुरुङहरूले मुप्रि ल्हो सर्प वर्गलाई बिदाइ र त ल्हो घोडा वर्गलाई स्वागत गर्दै विशेष उत्साहका साथ ल्होसार पर्व मनाइँदै छ । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।
विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष ’हिल्हो’ (बिरालो वर्ग) को वर्ष थियो भने यस वर्ष मि–ल्हो (गिद्ध) को रहनेछ । यस अर्थमा तमु समुदायले सम्पूर्ण समय अर्थात् ल्होलाई १२ वटा भाग गरी जनावर या चराको आधारमा बाँडेका छन् ।





