Everest Face
रवि लामिछाने र बालेन शाहबीच बृहत् राजनीतिक एकता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच बृहत् राजनीतिक एकताको सहमति भएको छ।

सघन छलफलपछि भएको सहमतिअनुसार पार्टीको नाम, झण्डा र चुनाव चिन्ह घण्टी यथावत् रहनेछ।

रवि लामिछाने पार्टी सभापति रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह रहने सहमति भएको छ। भ्रष्टाचारविरुद्ध, सुशासन र सामाजिक न्यायका लागि संयुक्त रूपमा अघि बढ्ने दुवै पक्षले बताएका छन्।

नेपाली जनताको समृद्ध, उन्नतिशील, स्वतन्त्र र न्यायपूर्ण राज्य निर्माणका लागि साझा सङ्घर्ष गर्ने उद्देश्यसहित दुवै पक्षबीच एकताको निर्णय गरिएको हो।

सम्झौतामा भ्रष्टाचार, कुशासन र विभेदविरुद्ध सङ्घर्ष गर्दै जनताको प्राथमिकताअनुसार राज्य र राजनीतिक परिवर्तनको अभियान अघि बढाइने उल्लेख गरिएको छ। सुशासन र सामाजिक न्यायलाई राष्ट्रिय उद्देश्यका रूपमा लिँदै नीति, विधि, संरचना र कार्यशैली सुधारमार्फत आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको दिशामा साझा एजेण्डा तय गरी प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध रहने सहमति गरिएको छ।

बृहत् एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। पार्टीको झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो रङ्गको गोलाकार भित्र निलो रङ्गको घण्टीको आकृति रहनेछ भने चुनाव चिन्ह घण्टी नै कायम रहनेछ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँमै रहने उल्लेख छ।

एकतापछि पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र प्रभावकारी बनाइने, युवा अभियन्ता तथा अनुशासित कार्यकर्तालाई योग्यता, समावेशिता र सार्वजनिक हितका आधारमा जिम्मेवारी प्रदान गरिने जनाइएको छ। साथै, यस सम्झौताबमोजिम पार्टीसम्बन्धी सम्पूर्ण दस्ताबेज निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता गरिनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टीमा गोलबद्ध हुँदै लोकतान्त्रिक सुशासन, समृद्धि र सामाजिक न्यायका मुद्दामा अन्य सुधारक तथा परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्तिहरू र व्यक्तित्वहरूसँग समेत सहकार्य गर्ने सहमति भएको छ।

सम्झौतामा रास्वपा सभापति रवि लामिछाने र स्वतन्त्र राजनीतिक अभियन्ता बालेन शाहले हस्ताक्षर गरेका छन्। सम्झौतामा हस्ताक्षर पुष १३, २०८२ मा काठमाडौँमा भएको हो।

 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update