धादिङ, लापा । रुवी भ्याली गाउँपालिका वडा नं. ५ अन्तर्गत पर्ने लापा–खादिङ सडक खण्डको औपचारिक रूपमा उद्घाटन गरिएको छ । दुर्गम क्षेत्रका बासिन्दालाई यातायात सेवामा सहज पहुँच प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको उक्त सडक उद्घाटन कार्यक्रममा राजनीतिक, प्रशासनिक तथा सुरक्षा निकायका उच्च पदस्थ व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहका प्रमुख अतिथि माननीय पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य डम्बर तामाङले ग्रामीण क्षेत्रमा सडक पूर्वाधार विकास हुनु समग्र सामाजिक–आर्थिक रूपान्तरणको आधार भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “लापा–खादिङ सडक सञ्चालनमा आएसँगै यहाँका जनताको जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ । शिक्षा, स्वास्थ्य, कृषि र व्यापारलगायत सबै क्षेत्रमा प्रत्यक्ष लाभ पुग्नेछ ।”
कार्यक्रममा रुवी भ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले सडकलाई गाउँपालिकाको भविष्यसँग जोडिएको ‘जीवनरेखा’ का रूपमा व्याख्या गर्दै, दशकौँदेखिको प्रतीक्षापछि ऐतिहासिक उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले जनताको धैर्य, सहयोग र एकताका लागि आभार व्यक्त गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीले विकाससँगै सुरक्षा र सुशासन अपरिहार्य रहेको उल्लेख गर्दै सडक सञ्चालनसँगै यातायात व्यवस्थापन, निर्वाचन सुरक्षा तथा समग्र शान्ति सुरक्षामा सुरक्षा निकाय पूर्ण रूपमा सतर्क र प्रतिबद्ध रहने बताउनुभयो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।
यसैगरी गाउँपालिका उपाध्यक्ष फेलामा तामाङले सडक सञ्चालनले महिला, किसान तथा युवालाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्दै स्थानीय उत्पादन बजारसम्म सहज रूपमा पुग्ने वातावरण बनेको बताउनुभयो । उहाँले यसले आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष रम्बा तामाङ, वडा अध्यक्ष समिर गुरुङसहित अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
सडक उद्घाटनसँगै स्थानीय सेवा प्रवाहलाई सहज बनाउन काउन्टर समेत स्थापना गरिएको छ । यसबाट सर्वसाधारणले विकास योजना, सेवा तथा आवश्यक जानकारी एकै स्थानबाट प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
लापा–खादिङ सडक खण्ड सञ्चालनमा आएसँगै रुवी भ्याली क्षेत्रको समग्र विकासले थप गति लिने र स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ ।





