Everest Face
सोक्लाभ्यालीमा महाशिवरात्रिको अवसरमा बोन्बो सम्मेलन सम्पन्न

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ स्थित सोक्लाभ्यालीमा बोन्बो सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।

महाशिवरात्रिको अवसर पारेर आयोजना गरिएको सम्मेलनले सोक्ला क्षेत्रको सांस्कृतिक पर्यटन प्रवर्द्धनसँगै बोन्बो संस्कृतिको संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सोक्लाभ्याली पछिल्लो समय प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र मौलिक तामाङ संस्कृतिका कारण चर्चामा रहेको क्षेत्र हो । यही क्षेत्रलाई सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सोक्लाश्वरी पर्यटन विकास समाजले महाशिवरात्रिको पावन अवसरमा बोन्बो सम्मेलन आयोजना गरेको हो ।

Bombo-(1)-1771259269.jpg
बाेन्बाे सम्मेलन ।

सम्मेलनमा मारम्हेन्दो पाख्रिन ह्यूल, नेपाल तामाङ बोन्बो संरक्षण समाज, तथा स्थानीय बोन्बो गुरुहरू सहित करिब एक दर्जन जिल्लाका बाेन्बाेहरूकाे सहभागिता रहेको थियो । सम्मेलनले बोन्बो परम्परालाई केवल धार्मिक अभ्यासको रूपमा मात्र नभई समुदायको ऐतिहासिक पहिचान र सभ्यताको आधारका रूपमा स्थापित गर्ने सन्देश दिएको छ ।

सोक्लाभ्याली दोलखाको भीमेश्वर नगरपालिका–२ मा अवस्थित एक सुन्दर र पर्यटकीय सम्भावनाले युक्त क्षेत्र हो । चारैतिर हरियाली डाँडाकाँडा, शान्त वातावरण, धार्मिक स्थलहरू र मौलिक तामाङ बस्तीहरूले सोक्लालाई विशेष बनाएको छ ।

Bombo-1771259270.jpg
बाेन्बाे सम्मेलनमा सहभागी महिला बाेन्बाे । 

स्थानीय बासिन्दाहरूका अनुसार सोक्ला केवल घुमफिर गर्ने गन्तव्य मात्र होइन, यहाँको सांस्कृतिक र धार्मिक सम्पदाले पनि पर्यटकलाई आकर्षित गर्ने ठूलो क्षमता राख्छ ।

यही सम्भावनालाई उजागर गर्दै सोक्लामा आयोजना गरिएको बोन्बो सम्मेलनले स्थानीय समुदायमा नयाँ उत्साह थपेको छ ।

बोन्बो गुरु यादव पाख्रिन तामाङले बोन्बो संस्कृतिको महत्वबारे जोड दिँदै भने, “बोन्बो संस्कृति हाम्रो पुर्खाको सभ्यता हो। यो केवल पूजा विधि होइन, तामाङ समुदायको इतिहास, संस्कार र पहिचानसँग जोडिएको अमूल्य सम्पदा हो ।”

उनका अनुसार यस्ता धार्मिक अनुष्ठानहरूले समुदायलाई आफ्नो मौलिक संस्कृतिसँग जोडिराख्ने काम गर्छ ।

पूजापछि सम्मेलनस्थलमा स्थानीय युवायुवती तथा सांस्कृतिक समूहहरूले परम्परागत तामाङ सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक झाँकी, मौलिक पहिरन र बोन्बो संस्कृतिसँग सम्बन्धित गीतहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

Bombo-(4)-1771259260.jpg
सम्मेलनमा सहभागी बाेम्बाेहरू ।

कार्यक्रममा सहभागी एक स्थानीय युवाले भने, “हामीले आफ्नो संस्कृतिलाई किताबमा मात्र होइन, जीवन्त रूपमा देखाउन पाउनु गर्वको कुरा हो । यस्ता कार्यक्रमले नयाँ पुस्तालाई पहिचानप्रति जिम्मेवार बनाउँछ ।”

सांस्कृतिक प्रस्तुति हेर्न आएका स्थानीय बासिन्दा मात्र होइन, बाहिरबाट आएका पाहुनाहरू पनि मन्त्रमुग्ध भएका थिए । सम्मेलन केवल धार्मिक अनुष्ठान र नृत्यमा सीमित रहेन । कार्यक्रममा बोन्बो संस्कृतिको संरक्षण, यसको दस्तावेजीकरण, नयाँ पुस्तामा हस्तान्तरण र पर्यटनसँग जोड्ने उपायहरूबारे छलफल गरिएको थियो ।

नेपाल तामाङ बोन्बो संरक्षण समाजका अध्यक्ष महाराजा बम्जनले बोन्बो परम्पराको राष्ट्रिय महत्वबारे जोड दिँदै भने, “बोन्बो परम्परा नेपालको सांस्कृतिक विविधताको एउटा महत्त्वपूर्ण हिस्सा हो । यसको संरक्षण र संवर्द्धनका लागि स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म सहकार्य आवश्यक छ ।”

उनले बोन्बो संस्कृतिलाई जोगाउन समुदाय, सरकार र पर्यटन क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे ।

Bombo-(2)-1771259264.jpg
सम्मेलनमा प्रस्तृति दिँदै बाेन्बाेहरू ।

कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले सम्मेलनलाई गाउँको पहिचान निर्माण गर्ने महत्त्वपूर्ण पहलको रूपमा व्याख्या गरे ।

“स्थानीय संस्कृतिको संरक्षण र पर्यटन विकासलाई जोड्ने यस्ता कार्यक्रमले गाउँको पहिचान बढाउँछ । वडा सरकार पनि यस्ता गतिविधिमा निरन्तर साथ रहनेछ,” उनले भने ।

उनले स्थानीय स्तरमा सांस्कृतिक कार्यक्रमहरूको प्रवर्द्धन गर्न वडा सरकार तयार रहेको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित कार्यक्रम गर्न सकिने बताए ।

Bombo-(5)-1771259261.jpg
बाेन्बाेहरू ।

सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिन तामाङले सम्मेलनको उद्देश्य स्पष्ट पार्दै भने, “सोक्ला क्षेत्र प्राकृतिक सौन्दर्यसँगै मौलिक बोन्बो संस्कृतिले पनि समृद्ध छ। सांस्कृतिक पर्यटन प्रवर्द्धन र बोन्बो संस्कृतिको संरक्षणका लागि यो सम्मेलन आयोजना गरिएको हो ।”

“यो सम्मेलन सुरुवात मात्र हो । हामी सोक्लालाई सांस्कृतिक पर्यटनको केन्द्र बनाउने गरी थप कार्यक्रमहरू गर्दै जानेछौँ,” उनले थप्दै भने ।

फाेटाेः चन्द्र तामाङ/एभरेष्ट फेस 

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update