कैलाश गाउँपालिका वडा नं. २ वैकुण्ठमा आगामी वैशाख १९ र २० गते ऐतिहासिक घाटु नाच मेला आयोजना हुने भएको छ।
सदियौँदेखि प्रचलनमा रहेको यस सांस्कृतिक मेलामा मौलिक तथा लोपोन्मुख घाँसे गीत र तामाङ फापरे सेलो हाई प्रतियोगिता समेत सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ।
वडा नं. २ कार्यालय, छ्याङदुङद्वारा जारी सूचनाअनुसार, नेपालमै तामाङ समुदायले घाटु नाच्ने एक महत्त्वपूर्ण थलोका रूपमा परिचित वैकुण्ठमा यस वर्ष पनि परम्परागत शैलीमै कार्यक्रम सञ्चालन हुन लागेको हो। मेलाको मुख्य कार्यक्रम वैशाख १९ गते बिहान ९ बजेदेखि वैकुण्ठ खेलमैदानमा सुरु हुनेछ।
कार्यक्रम व्यवस्थापनका लागि रासु स्याङतानको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। उक्त अवसरमा गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानले विभिन्न विधामा उत्कृष्ट हुने सहभागीहरूलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ। साथै घाटु नाचमा सहभागी कलाकारहरूलाई प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरिने जनाइएको छ।
वडा अध्यक्ष राजेन्द्र तामाङ घिसिङका अनुसार, मेलाले स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्ति वा समूहले मेला व्यवस्थापन समितिसँग सम्पर्क गरी नाम दर्ता गराउन सक्नेछन्।
प्रतियोगितामा सहभागिताका लागि ९७६५९५८८४१ वा ९८५५०३१२५० नम्बरमा सम्पर्क गर्न सकिने वडा कार्यालयले जनाएको छ।





