Everest Face
बागमती प्रदेशको बजेटमा बेनीघाट रोराङ–१ फेरि उपेक्षित, तीन योजनाका लागि मात्रै ६२ लाख विनियोजन

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ का लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा तीन वटा योजना मात्र समेटेको छ।

गाउँपालिकाको सबैभन्दा विकट र दुर्गम क्षेत्रका रूपमा चिनिने वडा नम्बर १ का लागि प्रदेश सरकारले कुल ६२ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको हो।

प्रदेश सरकारको बजेटमा वडा नम्बर १ अन्तर्गत ब्रोम्दिङ बुद्ध पार्क निर्माणका लागि १२ लाख रुपैयाँन्याम्चिराङ–लवाङ–साउनटार–जरुङ सडक निर्माणका लागि २० लाख रुपैयाँ र लवाङ सडकका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ।

भौगोलिक विकटता, पूर्वाधार अभाव र यातायात पहुँचको कठिनाइ झेलिरहेको वडा नम्बर १ का लागि यस वर्ष पनि पर्याप्त बजेट नआएको स्थानीयवासीको गुनासो छ। सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत आधारभूत पूर्वाधारको आवश्यकता रहेको क्षेत्रमा प्रदेश सरकारको बजेट सीमित हुँदा स्थानीयको अपेक्षा पूरा हुन नसकेको बताइएको छ।

बेनीघाट रोराङ गाउँपालिकाको दुर्गम भू–भागमा पर्ने वडा नम्बर १ मा वर्षायाममा सडक अवरुद्ध हुने, यातायात सेवा प्रभावित हुने र स्थानीयले दैनिक उपभोग्य सामग्रीदेखि स्वास्थ्य सेवासम्म पहुँचका लागि कठिनाइ भोग्दै आएका छन्।

स्थानीयका अनुसार न्याम्चिराङ, लवाङ, साउनटार र जरुङ क्षेत्र जोड्ने सडक तथा लवाङ सडकको स्तरोन्नति स्थानीय आवतजावतका लागि महत्त्वपूर्ण भए पनि विनियोजित बजेट पर्याप्त नभएको बताइएको छ। दुर्गम क्षेत्रको विकासका लागि दीर्घकालीन योजना र ठूलो लगानी आवश्यक रहेको उनीहरूको भनाइ छ।

वडा नम्बर १ का लागि विगतका वर्षहरूमा पनि अपेक्षाअनुसार बजेट नआएको भन्दै स्थानीयले प्रदेश सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। विकासको दृष्टिले पछाडि परेको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा सीमित योजना मात्रै राखिनुले राज्यको ध्यान अझै पुग्न नसकेको स्थानीयको गुनासो छ।

वडा नम्बर १ का जनप्रतिनिधि र स्थानीयले सडक सञ्जाल विस्तार, स्वास्थ्य संस्था सुधार, विद्यालय पूर्वाधार विकास, खानेपानी तथा पर्यटन पूर्वाधारमा प्रदेश सरकारको थप लगानी आवश्यक रहेको बताएका छन्।

ब्रोम्दिङ क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित बुद्ध पार्क निर्माणको योजना अघि बढाइएको भए पनि त्यसका लागि छुट्याइएको बजेट न्यून रहेको स्थानीयको भनाइ छ। प्राकृतिक तथा सांस्कृतिक सम्भावना बोकेको क्षेत्रको विकासका लागि पर्याप्त लगानी हुनुपर्ने माग उठेको छ।

प्रदेश सरकारले दुर्गम क्षेत्रको समानुपातिक विकासको नीति लिएको दाबी गर्दै आए पनि बेनीघाट रोराङ–१ जस्ता विकट वडाहरूमा विनियोजित बजेट हेर्दा अझै प्राथमिकताको अभाव देखिएको स्थानीयको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update