Everest Face
गजुरी गाउँपालिकाको बजेट ८३ करोड ६३ लाखभन्दा बढी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

धादिङको गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड ६३ लाख ३ हजार ८ सय ६१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको १८औँ गाउँसभाबाट पारित उक्त बजेट गाउँपालिका अध्यक्ष एवं सभाध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमार्फत प्रस्तुत गरिएको हो। गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा सुशासन प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ।

गाउँसभाको अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरी बजेट अनुमोदन गरिएको थियो। सभामा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

यसै अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ। शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सन्तोष पौडेललाई ‘सर्वोत्कृष्ट कर्मचारी’ घोषणा गर्दै सम्मान गरिएको छ भने योजना शाखाकी सहायक कम्प्युटर अपरेटर रविना श्रेष्ठलाई ‘उत्कृष्ट कर्मचारी’ पुरस्कार प्रदान गरिएको छ।

कर्मचारीहरूको जिम्मेवार कार्यसम्पादन, सेवा प्रवाहमा योगदान र संस्थागत विकासमा पुर्‍याएको भूमिकाको कदरस्वरूप सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। सम्मानित कर्मचारीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहको अपेक्षा गरिएको छ।

गाउँपालिकाका अनुसार नयाँ बजेटले विकास निर्माणका गतिविधिलाई थप गति दिने, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने र स्थानीय नागरिकको जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update