भोटेकोशी नदीको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका ५० जना बालबालिकाको शिक्षाको जिम्मा बेनीघाट रोराङ गाउँपालिकाले लिने भएको छ।
बाढीका कारण अभिभावक तथा परिवार गुमाएका असहाय बालबालिकामध्ये ५० जनालाई गाउँपालिकाले आवासीय विद्यालयमा राखेर कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेको हो।
गाउँपालिकाका अनुसार सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा ५० जना बालबालिकाको छनोट गरिनेछ। छनोट भएका बालबालिकालाई आवासीय विद्यालयमा राखी पढाइसँगै खान, बस्नलगायत आवश्यक व्यवस्थासमेत मिलाइनेछ।
विपद्का कारण अभिभावक गुमाएका तथा शिक्षा प्रभावित हुने अवस्थामा पुगेका बालबालिकाको भविष्य सुरक्षित गर्न गाउँपालिकाले यस्तो निर्णय गरेको जनाएको छ।
यस पहलबाट बाढीपीडित बालबालिकाले विपद्का कारण आफ्नो पढाइ रोक्नुपर्ने अवस्था नआउने र सुरक्षित वातावरणमा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
“विपद्मा परेका बालबालिकाको शिक्षा रोकिन्न, उनीहरूको भविष्य निर्माणमा गाउँपालिका साथमा छ” भन्ने सन्देशसहित बेनीघाट रोराङ गाउँपालिकाले ५० जना बालबालिकाको जिम्मेवारी लिन लागेको हो।
बाढीले परिवार र अभिभावक गुमाएका बालबालिकाको भविष्य अन्योलमा परिरहेका बेला स्थानीय तहले उनीहरूको शिक्षाको जिम्मेवारी लिन थालेको यो पहल अनुकरणीय कदमका रूपमा हेरिएको छ।





