Everest Face
खनियाबास गाउँपालिकाले ल्यायो ४४ करोड २६ लाखको बजेट, उत्कृष्ट विद्यार्थी र कर्मचारी सम्मानित

खनियाबास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको वार्षिक बजेट तथा कार्यक्रम असार ९ गते प्रस्तुत गरी असार १० गते सम्पन्न गाउँसभाबाट पारित गरिएको हो ।

गाउँपालिकाले संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने समपूरक, विशेष र सशर्त अनुदान, वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडबाट प्राप्त अनुमानित रकमलाई समेटेर आगामी आर्थिक वर्षका लागि विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेको जनाएको छ ।

बजेट प्रस्तुत कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, प्रशासन तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरेको छ ।

खुला सत्र कार्यक्रममा प्रमुख अतिथिको रुपमा रमेश धमलाको उपस्थिति रहेको थियो । सो अवसरमा ९६ वर्षीय ज्येष्ठ नागरिक म्लङदुङ तामाङलाई सम्मान गरिएको थियो ।

त्यस्तै कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक ल्याउने गणेशकुण्ड माध्यमिक विद्यालयका छात्र दोर्जे तामाङ र सिंगलादेवी माध्यमिक विद्यालय, झार्लाङ–१ की छात्रा अनु तामाङलाई सम्मान गरिएको छ ।

SEE परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बच्छलादेवी माध्यमिक विद्यालयका छात्र दावा छिरीङ तामाङ र बृचेत माध्यमिक विद्यालयकी छात्रा मोनिका तामाङलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी गाउँपालिकाभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा प्रशासन शाखा प्रमुख झलक लम्साल, खनियाबास ग्रामीण अस्पतालका एचए अनिश पाठक, पशु शाखा प्रमुख अमृत लामा तामाङ, गाउँपालिका कार्यालय सहयोगी सरिता तामाङ र दिलमाया तामाङ तथा वडा नं. १ का कार्यालय सहयोगी एल.बी. तामाङ रहेका छन् ।

SEE परीक्षामा गाउँपालिकाभर उत्कृष्ट नतिजा ल्याउन सफल गणेशकुण्ड माध्यमिक विद्यालयलाई ९२ प्रतिशत नतिजाका लागि कदरपत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाका विषयगत भवन तथा स्टिल फ्रेम बिल्डिङ निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई पनि सम्मान गरिएको थियो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update