Everest Face
कैलाशमा ७ लाख रुपैयाँ बराबरको बुद्धचित्तमालाको दाना चोरी

मकवानपुरको कैलाश गाउँपालिका–१ चापाखर्कमा घरबारीमा रहेको बुद्धचित्तमालाको रुखबाट करिब सात लाख रुपैयाँ बराबरको दाना चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ।

कैलाश गाउँपालिका–१ चापाखर्क निवासी सुनील मुक्तानले इलाका प्रहरी कार्यालयमा निवेदन दिँदै अज्ञात व्यक्तिले रातको समयमा बुद्धचित्तमालाको दाना चोरी गरेको भन्दै खोजतलास गरी कानुनी कारबाहीको माग गरेका छन्।

निवेदन अनुसार २०८३ साल असार १४ गते राति करिब १:३० बजेदेखि २:३० बजेको बीचमा परिवारका सदस्यहरू सुतिरहेको मौका छोपी अज्ञात व्यक्तिले घरबारीमा रहेको बुद्धचित्तमालाको रुखबाट दाना चोरी गरी लगेको हो।

बिहान करिब ५ देखि ६ बजेको समयमा बारीमा हेर्न जाँदा रुखमा रहेका बुद्धचित्तमालाका दाना हराएको थाहा भएको निवेदक मुक्तानले बताएका छन्। चोरी भएको दानाको अनुमानित मूल्य करिब ७ लाख रुपैयाँ रहेको निवेदनमा उल्लेख छ।

पीडित मुक्तानले चोरीमा संलग्न व्यक्तिको खोजी गरी पक्राउ गर्न तथा प्रचलित कानुन बमोजिम कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन्।

बुद्धचित्तमाला पछिल्लो समय धार्मिक तथा व्यापारिक महत्वका कारण उच्च मूल्यमा बिक्री हुने गरेको छ। गाउँ क्षेत्रमा यसको चोरीका घटना बढ्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update