Everest Face
ठमेल पर्यटन विकास परिषद्को सचिवमा धादिङका पर्यटन व्यवसायी प्रकाश थपलियाको उम्मेदवारी

ठमेल पर्यटन विकास परिषद्को आगामी असार २७ गते हुने निर्वाचनमा सचिव पदका लागि धादिङका पर्यटन व्यवसायी प्रकाश थपलियाले उम्मेदवारी दिएका छन्।

परिषद्को नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा राजुमान डङ्गोल र प्रश्रयराज भण्डारी नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि परिषद्को कोषाध्यक्ष पदमा बसेर काम गरिसकेका थपलियाले प्रश्रयराज भण्डारीको प्यानलबाट सचिव पदमा उम्मेदवार दिएका हुन्। 

लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय थपलियाले ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन, व्यवसायीबीच समन्वय र संस्थागत सुदृढीकरणका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। परिषद्लाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

थपलिया ठमेल क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा व्यवसाय विस्तारमा सक्रिय व्यवसायीका रूपमा परिचित छन्। उनले पर्यटन क्षेत्रका साझा मुद्दालाई संस्थागत रूपमा उठाउने, सदस्य व्यवसायीका हकहित संरक्षण गर्ने तथा ठमेललाई थप सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रियकरण पर्यटन गन्तव्यका रूपमा विकास गर्न योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ठमेल पर्यटन विकास परिषद् नेपालको प्रमुख पर्यटन गन्तव्य ठमेल क्षेत्रमा कार्यरत होटल, रेस्टुरेन्ट, ट्राभल तथा ट्रेकिङ, हस्तकला लगायतका पर्यटन व्यवसायीहरूको साझा संस्था हो। परिषद्को निर्वाचनलाई पर्यटन क्षेत्रले चासोका साथ हेरेको छ।

यसपटकको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजुमान डङ्गोल र प्रश्रयराज भण्डारी नेतृत्वका दुई समूहबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। निर्वाचन आगामी असार २७ गते काठमाडौँमा सम्पन्न हुनेछ।

ठमेल पर्यटन विकास परिषद् (Thamel Tourism Development Council–TTDC) नेपालकै सबैभन्दा सक्रिय पर्यटन क्षेत्रीय संस्थामध्ये एक हो। यसको स्थापना सन् १९८९ मा ठमेल क्षेत्रका पर्यटन व्यवसायी र स्थानीय बासिन्दाहरूले संयुक्त रूपमा गरेका थिए। यसको मुख्य उद्देश्य ठमेललाई व्यवस्थित, सुरक्षित र विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुका साथै नेपालको समग्र पर्यटन उद्योगलाई सहयोग गर्नु हो।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update