नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
काठमाडौँ प्रवेश गर्ने मुख्य नाकाको जाम कम गर्ने अपेक्षा गरिएको यो सुरुङमार्ग परीक्षण अवधिमा भने अत्यावश्यक सेवाका सवारीसाधनका लागि मात्र खुला गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन् ।
सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला नगरिने भएको छ। आयोजनाका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ।
करिब तीन महिनासम्म परीक्षण सञ्चालन गरी सुरक्षा तथा ट्राफिक व्यवस्थापनको मूल्याङ्कनपछि अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने जनाइएको छ।
परीक्षण अवधिभर कुनै शुल्क नलाग्ने भए पनि नियमित सञ्चालनपछि सवारीको प्रकारअनुसार ६० देखि ६ सय रुपैयाँसम्म शुल्क लाग्नेछ। कार तथा भ्यानका लागि ६० देखि ६५ रुपैयाँ, मिनीबस तथा ट्रकका लागि ८० देखि ११५ रुपैयाँ र ठूला बस तथा ट्रकका लागि २ सयदेखि २ सय ६० रुपैयाँसम्म शुल्क तोकिएको छ।
यस्तै, मोटरसाइकल, स्कुटर, तीन पाङ्ग्रे सवारीसाधन, पैदलयात्री तथा पेट्रोलियम पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।
करिब ८० महिनापछि सम्पन्न भएको यो आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा करिब २५ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको हो।
चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भएर धादिङको धुनिबेँसीस्थित सिस्नेखोलासम्म फैलिएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको लामो जाम, उकालो र घुमाउरो बाटोबाट मुक्ति मिल्ने तथा यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।
कोभिड–१९ महामारी र विभिन्न प्राविधिक चुनौतीका कारण लक्ष्यभन्दा ढिलो सम्पन्न भएको यो सुरुङमार्ग नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। परीक्षण अवधि सफल भएपछि सर्वसाधारणका सवारीसाधनका लागि पनि सुरुङमार्ग खुला गरिनेछ।





