Everest Face
शिक्षाको ज्योति फैलाउन गोधुली साँझहरूमा टोल–टोलमा अभिभावक शिक्षा

अपराह्नको समय । सुरुमा गाउँपालिकाका अध्यक्ष र उनका दुई तीन जना साथीहरू आइपुग्छन् । केही समयपछि गाउँपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीहरू पनि आइपुगे । वडाभरिका विद्यालयका शिक्षक/शिक्षिकाहरू पनि जम्मा भए । साँझ पर्नै लाग्दा बिस्तारै गाउँ–गाउँबाट अभिभावकहरू, युवाहरू, विद्यार्थीहरू, समाजका अगुवाहरू पनि भेला भए ।

मिति २०८२ साल जेठ महिनाको २७ गते मङ्गलवार । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर–१ स्थित श्री बाँसखर्क माध्यमिक विद्यालयको निकै फराकिलो प्राङ्गण । सबै जना भेला भएपछि गोलो घेरा लगाएर बसे । बीचमा उभिएर एक जना गहुँगोरो वर्णका अग्ला कदमा मान्छे बोल्न थाल्छन् । केहीबेरमा नै कार्यक्रम साङ्गीतिक माहौलले तातिन्छ । गोलो घेराको एक कुनाबाट आवाज आउँछ–

{मिलाका छन् {{हरेक दिन व्यवस्था}}२ 

बुझ्न आको निरा शिक्षाको अवस्था

जुन तारा झलल...

आयो शिक्षा निर उर्लेर गाउँघरमा

गाउँघरै झलल...

कार्यक्रम अघि बढ्छ । साङ्गीतिक माहौलपछि नाटक मञ्चन हुन्छ । नृत्य प्रस्तुत हुन्छ । बीचबीचमा फुर्तिलो जोस जाँगरका साथ उही अग्ला कदमा मान्छे वरिपरि घुम्दै बोल्छन्, “तपाईँ अभिभावकज्यूहरू कृपया छोराछोरीलाई विद्यालयमा चाहिँ पठाउनु होला । खाना लाउनै पुगेन, कपी कलम किन्न सकिएन, ड्रेस किन्न सकिएन अथवा कुनै पनि समस्या जसको कारणले आफ्नो छोराछोरीलाई विद्यालय पठाउन सक्नुभएको छैन भने हामी गाउँपालिकालाई भन्नुहोला । हामी छौँ”, उनी अघि बोल्छन्, “तपाईँहरू चिन्ता नलिनुस्, हामी तपाईँका बाबुनानीहरूलाई निःशुल्क गाँस, बास र कपास समेत दिएर शिक्षा पनि दिन्छौँ । त्यो व्यवस्था गाउँपालिकाले गर्छ ।” 

उल्लेखित पङ्क्तिहरू बोल्ने व्यक्तिको नाम हो कृष्ण बहादुर थपलिया (विवेक) । बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष । गाउँपालिका सरकार प्रमुखको हैसियतले उनले अभिभावकत्व ग्रहण गरे ।

Banskharka_school-(18)-1749751172.jpg
कृष्ण बहादुर थपलिया (विवेक), अध्यक्ष बेनीघाट राेराङ गाउँपालिका ।

यसरी साँझको समयमा जम्मा भएर यसरी नै नाच्ने, गाउने, बोल्ने मात्र नभएर नाटक मञ्चन, रचना वाचन लगायत क्रियाकलापहरू समेटिएर कार्यक्रम सञ्चालन गरेको यो पहिलो भने होइन । गायनमा होस् या नाटकमा, साहित्यिक सिर्जनामा होस् या अन्य कलाहरूमा । सबै क्रियाकलापहरूको विषय वस्तु चाहिँ एउटै हुन्छ, –शिक्षा । 

गाउँपालिकाको टोली यसरी गोधुली साँझमा विभिन्न वडा, गाउँ र टोलहरूमा जम्मा भएर शिक्षाको ज्योति छर्न खटिएको निकै भयो । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले पालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गराउने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । 

Banskharka_school-(19)-1749751159.jpg
बेनीघाट राेराङ-१ स्थित श्री बाँसखर्क माविमा सञ्चालित अभिभावक शिक्षा कार्यक्रम ।

शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बेनीघाट रोराङ गाउँपालिकाले शैक्षिक गुणस्तरको अभिवृद्धिको लागि अभिभावकहरूमा शैक्षिक चेतना जगाउन “अध्यक्षसँग अभिभावक” नामक कार्यक्रम सञ्चालन गरिरहेको छ । “टोल टोलमा अभिभावक शिक्षा, घरघरमा समीक्षा” भन्ने नारा बोकेर शैक्षिक सत्र २०८२/०८३ को सुरुवातसँगै सुरु गरिएको अभिभावक शिक्षा कार्यक्रम विभिन्न वडाहरूमा सम्पन्न भइसकेको छ । 

Banskharka_school-(26)-1749754245.jpg
अभिभावक शिक्षा कार्यक्रममा उपस्थित अभिभावकहरू ।

धादिङको दक्षिणी भेगमा त्रिशूली गङ्गादेखि महाभारत पर्वत शृङ्खलासम्म फैलिएर बसेको बेनीघाट रोराङ गाउँपालिका भौगोलिक हिसाबले विकट छ । भौगोलिक विकटता, चेतनाको अभाव, गरिबी र कुपोषणले व्याप्त अति सीमान्तकृत चेपाङ समुदाय तथा आफ्ना बालबालिकालाई नियमित पढ्न पठाउनुपर्छ भन्ने सामान्य ज्ञान समेत नभएका अभिभावकहरूलाई लक्षित गर्दै गाउँपालिकाले अभिभावक केन्द्रित शिक्षा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक बताउँछन् । 

Banskharka_school-(21)-1749751156.jpg
कृष्ण बहादुर थपलिया (विवेक), अध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका ।

“अभिभावकहरूलाई शिक्षाको महत्त्व बुझाउने, शैक्षिक चेतनाको दियो बाल्ने र बालबालिकाहरूको सुनौलो भविष्य निर्माणमा अभिभावकको भूमिका बुझाउने उद्देश्यले हामीले यस कार्यक्रमको सञ्चालन गरिरहेका छौँ ।”, अध्यक्ष थपलियाले भने ।

त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नमा अभिभावकहरूको भूमिका बढाउन र उनीहरूमा शैक्षिक चेतनाको प्रसार गर्न यो कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

Banskharka_school-(12)-1749729429.jpg
टाप बहादुर श्रेष्ठ, उपाध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका ।

“शैक्षिक गुणस्तरको लागि शिक्षक, विद्यालय र विद्यार्थीको मात्रै भूमिका रहन्छ भन्ने हिसाबले हेर्ने र बुझ्ने हाम्रो परिपाटी छ । खासमा बालबालिकाको पहिलो विद्यालय घर र बाआमा पहिलो शिक्षक हुन् । यही कुरा अभिभावकहरूलाई बुझाउन हामी हिँडिरहेका छौँ”, उपाध्यक्ष श्रेष्ठले भने, “ विद्यालय भर्ना दर बढाउन, पढ्ने उमेरका बालबालिकाहरूलाई अनिवार्य विद्यालय पठाउन प्रोत्साहित गर्न तथा आफ्ना बालबालिकाहरूप्रति अभिभावकको कर्तव्य बोध गराउने उद्देश्यले यो अभियान सञ्चालनमा ल्याएको हो ।”

गाउँपालिकाले विभिन्न वडा, गाउँ र टोलहरूमा कार्यक्रम सञ्चालन गरिसकेको छ । कार्यक्रमबाट अभिभावकहरू उत्साहित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले बताइन् ।

Banskharka_school-(10)-1749729431.jpg
नर्बदा घिमिरे, प्रमुख प्रशासकीय अधिकृत, बेनीघाट राेराङ गाउँपालिका ।

“हामीले थुप्रै वडा, गाउँ र टोलहरूमा कार्यक्रम सम्पन्न गरिसक्यौँ । कार्यक्रम अभिभावहरूको उत्साहजनक उपस्थिति पाएका छौँ । अभिभावकहरूले हाम्रा कुराहरू कार्यक्रममा आएर सुनिदिनुभएको छ, बसिदिनुभएको र बुझिदिनुभएको पनि हामीले पाएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भनिन्, “कार्यक्रम पनि अभिभावकहरूको चासो र सहभागिताले हामी पनि उत्साहित छौँ ।”

Banskharka_school-(1)-1749729539.jpg
नर्बदा घिमिरे, प्रमुख प्रशासकीय अधिकृत (दायाँ),  परशुराम घिमिरे (बायाँ), याेजना शाखा प्रमुख बेनीघाट राेराङ गाउँपालिका ।

कार्यक्रमको लक्ष्य र उद्देश्य अनुरूप नै अभियान सफलतापूर्वक सञ्चालन भइरहेको घिमिरेले बताइन् । उनले भनिन्, “हामीले जे परिकल्पना गरेका थियौँ, जे जस्तो लक्ष्य र उद्देश्यहरू राखेका थियौँ, सोही अनुरूप नै कार्यक्रम उपलब्धिमूलक बनेको छ र बनिरहेको छ । साँझको फुर्सदको समयलाई विभिन्न तरिकाले शैक्षिक विषयमा छलफल गर्ने हाम्रो जुन परिकल्पना थियो, त्यो पुरा भइरहेको छ ।”

Banskharka_school-(7)-1749729449.jpg
कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरू ।

बेनीघाट रोराङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख बोधराज पाठकले खेतीपातीको याममा दैनिक कार्य व्यस्तताका कारण दिउँसोको समयमा अभिभावकहरू कार्यक्रममा आउन नसकिने हुनाले साँझको समयमा कार्यक्रम सञ्चालन गरिरहेको बताए । त्यसैगरी गाउँपालिकाको दैनिक सेवा प्रवाहलाई समेत असर नपर्ने गरी गाउँपालिकाका कर्मचारीहरूको उपस्थितिमा साँझको समयमा अभियान सञ्चालन गरिरहेको प्रमुख पाठकले बताए ।

Banskharka_school-(11)-1749729430.jpg
बाेधराज पाठक, शिक्षा शाखा प्रमुख, बेनीघाट राेराङ गाउँपालिका ।

“खेतीपाती गर्ने अभिभावकहरू र हामी कर्मचारीहरूको दैनिक कार्यलाई असर नपर्ने गरी साँझको समय रोजेर कार्यक्रम सञ्चालन गरिहरेका छौँ ।”, प्रमुख पाठकले भने ।

त्यसैगरी शैक्षिक गुणस्तरको लागि अभिभावकहरूमा शैक्षिक चेतना अपरिहार्य रहेको प्रमुख पाठकले बताए । उनले भने, “बालबालिकाहरू दिनको २४ घण्टामध्ये १८ घण्टा आफ्नो घरमा बा आमासँगै हुन्छन् । विद्यालयमा जम्मा ६ घण्टा रहन्छ । अनि शैक्षिक गुणस्तरको कुरा गर्दा विद्यालय र शिक्षक मात्रै कहाँ जिम्मेवार हुन्छन् र ?”, प्रश्न गर्दै अधिकृत पाठकले भने, “कुनै पनि बालबालिकाहरूको पहिलो शिक्षालय भनेको उनीहरूको घर नै हो । पहिलो गुरु उनीहरूको बाआमा नै हुन् । हो, यही कुरा बुझाउन हामीले अभियान सञ्चालन गरेका हौँ ।”

Banskharka_school-(5)-1749729488.jpg
माैलिक पाेषाकमा उपस्थित विद्यार्थीहरू ।

त्यसैगरी भाषणको माध्यमबाट मात्रै अभियान सञ्चालन गर्दा अभिभावकहरूले सुन्न र बुझ्न नरुचाउने हुँदा अभियानलाई थप सरल र सार्थक तरिकाबाट अभिभावकसम्म पुर्‍याउन साङ्गीतिक तथा मनोरञ्जनको माध्यमबाट चेतनाको आवाज छर्ने नीति लिइएको उनले बताए । 

बेनीघाट रोराङ–१ का वडाध्यक्ष जीवन सिं तामाङले गाउँपालिकाको शैक्षिक सुधारको लागि गरिरहेका प्रयासहरूबारे सबै अभिभावकहरू जानकार हुन जरुरी रहेको बताए ।

Banskharka_school-(13)-1749729617.jpg
जीवन सिं तामाङ, वडाध्यक्ष, बेनीघाट राेराङ-१ ।

“हाम्रो गाउँपालिकाले शैक्षिक सुधार गर्न, शिक्षामा गुणस्तर बढाउन, सबै बालबालिकाहरूलाई राम्रो शिक्षा दिनुपर्छ भनेर जुन खालका कार्यक्रम तथा अभियानहरू सञ्चालन गरिरहेको छ । यस्ता कार्यक्रमहरूबारे सबैले थाहा पाउनु र जान्नु जरुरी छ”, वडाध्यक्ष तामाङले भने, “अब आफ्नो बालबालिकाको शिक्षाको लागि तपाईँ अभिभावकहरूको भूमिका के–के हुन्छन्, कति हुन्छन् भन्नेकुरा आजको कार्यक्रमबाट थाहा पाउनु भयो । आजको कार्यक्रमबाट जे–जे सिक्नुभयो, जे बुझ्नुभयो, तिनलाई व्यवहारमा उतार्नुहोला ।”

Banskharka_school-(20)-1749751158.jpg
कार्यक्रममा साङ्गितिक प्रस्तुति दिँदै कलाकार एवम् शिक्षकहरू ।

शैक्षिक सुधारको लागि गाउँपालिकाले गरेका महत्त्वपूर्ण कार्यहरूः 

१. अनिवार्य तथा निःशुल्क शिक्षा लागु

बेनीघाट रोराङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा लागु भइसकेको छ । गाउँपालिकाभित्र विद्यालय पढ्ने उमेरका कुनै पनि बालबालिकाहरू विद्यालय बाहिर नहुन् भन्ने उद्देश्यले अनिवार्य तथा निःशुल्क शिक्षा लागु गरेको । सङ्घीय सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ जारी गरिसकेको छ । उक्त ऐनको कार्यान्वयन गर्ने पालिकाहरूमा बेनीघाट रोराङ पनि अग्रपङ्त्तीमा परेको छ । उक्त ऐनमा हरेक बालबालिकाले कक्षा ८ सम्म अनिवार्य पढ्नै पर्ने र कक्षा १२ सम्म निःशुल्क शिक्षा लिन पाउने व्यवस्था गरेको छ । बेनीघाट रोराङ गाउँपालिकाकाले शैक्षिक सत्र २०८१/०८२ बाट नै अनिवार्य तथा निःशुल्क शिक्षा लागु गरेको छ । यस गाउँपालिकाका करिब दश हजार जना बालबालिकाहरूले निःशुल्क शिक्षा लिइरहेका छन् ।

Banskharka_school-(6)-1749729452.jpg
अभिभावक शिक्षा कार्यक्रममा उपस्थित विद्यार्थीहरू । 

एकीकृत आवासीय विद्यालय

बेनीघाट रोराङ गाउँपालिकाले एकीकृत आवासीय विद्यालयको अवधारणा अघि बढाइसकेको छ । गाउँपालिकाको वडा नम्बर–८, विदाङस्थित कालिका माध्यमिक विद्यालयलाई एकीकृत आवासीय विद्यालयको रूपमा अगाडि बढाइएको छ । वडा भरिका ७ वटा विद्यालयहरूलाई मर्ज गरेर एकीकृत आवासीय विद्यालय बनाइएको हो । 

भौगोलिक विकटताका कारण विद्यार्थीहरू घण्टौँ हिँडेर अप्ठ्यारो बाटो पार गर्दै विद्यालय जानुपर्ने, अभाव र गरिबीका कारण अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय पठाउन नसक्ने, अभिभावहरूमा शैक्षिक चेतनाको अभावका कारण घरमा बालबालिकाहरूलाई पढ्ने वातावरण नबनाइदिने, विविध कारणहरूले गर्दा बालबालिकाहरूले विद्यालय छोड्ने दर बढ्दै गएको लगायत समस्याहरूको सम्बोधन गर्दै पालिकाका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा दिन एकीकृत आवासीय विद्यालयको अवधारणा अघि बढाएको हो । 

Banskharka_school-(2)-1749729517.jpg
माैलिक भेषभुषामा सजिएका विद्यार्थीहरूसँग बेनीघाट राेराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे ।

विद्यार्थीहरूले विद्यालयमै निःशुल्क रूपमा खाना, बस्न र पढ्न पाउँछन् । सम्पूर्ण खर्च गाउँपालिका सरकारले व्यवस्थापन गर्दछ । गाउँपालिकाले अन्य वडाहरूमा पनि एकीकृत आवासीय विद्यालयको स्थापनाको लागि छलफल अगाडि बढाइसकेको छ । 

बेनीघाट रोराङ गाउँपालिकाले शिक्षामा पालिकाको ३३ प्रतिशतभन्दा बढी बजेट खर्च गरिरहेको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले जानकारी दिएका छन् । 

Banskharka_school-(14)-1749729564.jpg
कृष्ण बहादुर थपलिया (विवेक), अध्यक्ष, बेनीघाट राेराङ गाउँपालिका ।

विकासको पहिलो पूर्वाधार शिक्षा नै हो भन्ने मूल मन्त्र बोकेर बेनीघाट रोराङ गाउँपालिकाले थुप्रै कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । ती कार्यक्रमहरूमध्ये एक महत्त्वपूर्ण, अर्थपूर्ण र शैक्षिक गुणस्तरको लागि अपरिहार्य कार्यक्रम हो “अध्यक्षसँग अभिभावक” कार्यक्रम । भौगोलिक विकटता, अशिक्षा, अभाव र गरिबीले थिचिएका अन्धकार गाउँबस्तीहरूमा शिक्षाको ज्योति छर्न गाउँपालिकाले गोधुली साँझहरूमा गरेको प्रयास अर्थपूर्ण हुने छ । 

अन्य तस्बिरहरूः

Banskharka_school-1749729541.jpg

Banskharka_school-(3)-1749729539.jpg

Banskharka_school-(8)-1749729439.jpg

Banskharka_school-(9)-1749729437.jpg

Banskharka_school-(25)-1749754247.jpg

Banskharka_school-(24)-1749754247.jpg

Banskharka_school-(23)-1749754256.jpg

Banskharka_school-(27)-1749754245.jpg

तस्बिरः चन्द्र तामाङ/नबराज तामाङ

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ००:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update